site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नेपालमा कोरोनाको तेस्रो लहर आउनसक्ने आधार के ?
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा कोभिड संक्रमणको तथ्यांक बढ्दो छ । विशेषगरी सहरी क्षेत्रमा दैनिक थपिने संक्रमितको संख्या बढदै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल अहिले कोभिड–१९ संक्रमणको तेस्रो लहरको संघारमा सचेत हुन पटकपटक अपिल गर्दै आएको छ । छिमेकी मुलुक भारतको संक्रमणको अवस्थालाई हेरेर यही अगस्टको अन्तिमतिर नेपालमा तेस्रो लहर आउनसक्ने आकलन कतिपय विज्ञहरूले गरेका छन् । कतिपय विज्ञले भने अहिलेको संक्रमण नै घातक भएकाले सतर्क रहन सुझाव दिँदै आएका छन् ।

२० दिनमा थपिए ४३ हजार संक्रमित 
साउन १ गतेदेखि २० गतेसम्म नेपालमा ४३ हजार ६ सय ३४ जना कोभिड–१९ का संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार नेपालमा २० दिनमा कोभिड संक्रमणका कारण ४९४ जनाको मृत्यु भएको छ ।

यही अवधिमा ३५ हजार १ सय ८३ जना संक्रमणमुक्त भएका छन् । संक्रमित हुनेभन्दा निको हुनेको संख्या कम हुँदा नेपालमा साउन १९ गतेसम्म सक्रिय संक्रमितको संख्या ३३ हजार ४६४ पुगेको मन्त्रायलको तथ्यांकले देखाएको छ । त्यस्तै जम्मा संक्रमित हुनेको संख्या ७ लाख ६ हजार २०४ र मृत्यु हुनेको संख्या ९ हजार ९ सय ५७ पुगेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपालमा पछिल्लो साता टेस्ट पोजेटिभिटी संक्रमण दर २६.२ प्रतिशत रहेको मन्त्रालयको तथ्यांक छ ।    

सामाजिक जमघट जनस्वास्थ्यका मापदण्डमा लापरबाही 
काठमाडौं, झापा, कास्की, रूपन्देही लगायत देशका मुख्य सहरहरू अहिले कोभिड संक्रमणको ‘हटस्पट’ बनिरहेका छन् । काठमाडौंमा पछिल्लो २४ घण्टामा मात्रै १२ सय सकं्रमित थपिएका छन् । काठमाडौंका अधिकांश अस्पतालहरूमा भर्ना भएर उपचार गर्नेको संख्या बढ्दै गएको छ । 

Global Ime bank

निषेधाज्ञा खुकुलो भएसँगै संक्रमणको जोखिम नै कम भएझैँ गरी जनस्वास्थ्यका मापदण्डमा लापरबाही गरिँदा अस्पताल भर्ना हुनेको संख्या बढेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोला बताउँछन् । त्यस्तै खोप अभियान सञ्चालन गरिरहँदा खोप केन्द्रहरूमा भएको भिडभाड फितलो व्यवस्थापनले संक्रमण झनै बढाएको छ । 

चाडपर्वले तेस्रो लहर निम्त्याउँदै
नेपालमा आउँदै गरेको तिज र विभिन्न जात्रा पर्वहरूले कोभिड संक्रमण बढाउनसक्ने पनि कतिपय विज्ञहरूले आकलन गरेका छन् । नेपालमा तिज आसपासमा संक्रमणको दर उच्च हुनसक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनी बताउँछन् । “यही दरले संक्रमण बढ्दै जाने हो भने त्योभन्दा अगाडि नै संक्रमणले उच्च रूप लिनसक्छ,” डा. मरासिनी भन्छन् ।

‘दोस्रो लहरको संक्रमणको चक्र अपेक्षा अनुरूप तोडिएन’
नेपालमा दोस्रो लहरको संक्रमणको चक्र तोड्न झन्डै ५२ दिन कडा निषेधाज्ञा जारी गरिएको थियो । यो अवधिमा दैनिक थपिने संक्रमितको संख्या दुई हजारभन्दा तल रहेपनि टेस्ट पोजेटिभिटी दर १९ प्रतिशतभन्दा तल झर्न सकेन । जबकि यो दर ५ प्रतिशतभन्दा कम भएपछि मात्रै संक्रमण नियन्त्रणमा आएको भन्न सकिने विश्व स्वास्थ्य संगठनको मापदण्ड रहेको छ । 

नेपालमा दोस्रो लहरको संक्रमण अपेक्षा अनुसार नघटेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका पूर्व निर्देशक डा. सागर राजभण्डारी बताउँछन् । “संक्रमण लामो समय स्थिर रह्यो तर जुन दरमा घट्नुपर्ने थियो त्यति घटेन । यो नै नेपालमा फेरि संक्रमण फर्किनसक्ने एउटा आधार हो । अहिलेको तथ्यांकले अगस्टको अन्तिम साता नै नेपालमा तेस्रो लहरको संक्रमण आउनसक्ने सम्भावना देखाउँछ,” डा. राजभण्डारी भन्छन् ।

भाइरस ‘म्युटेन्ट’ भए तेस्रो लहर आउनसक्छ
नेपालमा अहिले कोभिड–१९ का आयातित भेरियन्टहरू देखा परेका छन् । दोस्रो लहरको संक्रमणमा धेरै फैलिएको ‘डेल्टा भेरियन्ट’ अहिले पनि फैलिरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । यसबाहेक नेपालमा हालसम्म ‘अल्फा’ र ‘कप्पा भेरियन्ट’ पुष्टि भएका छन् । यी भेरियन्टहरू कोभिड–१९ का आयातित भाइसरहरू हुन् ।

नेपालमा हालसम्म भाइरस ‘म्युटेन्ट’ भएको पुष्टि भएको छैन । तर, नेपालमै ‘म्युटेन्ट’ हुने अवस्था आए त्यसले तेस्रो लहरको संक्रमण निम्त्याउने वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । “अहिलेको संक्रमण दोस्रो लहरको जस्तो उच्च बिन्दुमा पुग्ने सम्भावना रहँदैन तर भाइरस ‘म्युटेन्ट’ भएको अवस्थामा तेस्रो लहर नआउला भन्न सकिँदैन,” डा. पुनले भने ।

‘अहिले देखिएको संक्रमण नै घातक’
सरुवा रोग विशेषज्ञ डा. अनुप सुवेदी नेपालमा अहिले देखिरहेको कोभिड–१९ संक्रमण नै तेस्रो लहरको सूचक रहेको बताउँछन् । “नेपालमा दोस्रो लहरको कोभिड संक्रमण  मत्थर नहुँदै केस बढेर गएको छ । यो अवस्था नै लामो समय रहिरहे संक्रमण उच्च हुनसक्छ । तेस्रो लहरका लागि कुनै नयाँ भेरियन्ट आउनैपर्छ वा अर्को प्रकृतिको संक्रमण फैलिनैपर्छ भन्ने यही लहर लामो समयसम्म रहिरहे नेपालका लागि घातक हुनसक्छ,” डा. सुवेदी भन्छन् । अहिले देखिएको दैनिक संक्रमितको तथ्यांकका आधारमा संक्रमणले उच्च रूप लिनसक्ने उनको बुझाइ छ ।

‘जनस्तरमा व्यवहार परिवर्तन भएन’ 
नेपालमा कोभिड–१९ को पहिलो र दोस्रो लहरको संक्रमण उच्च भएर झन्डै १० हजार जनाको ज्यान लिइसक्दा पनि मानिसहरूको कोभिडप्रतिको व्यवहार भने परिवर्तन नभएको जनस्वास्थ्यविद्हरूले गुनासो गर्दै आएका छन् । कोभिड संक्रमण केही मत्थर भएपनि जोखिम भने कम नभएको विज्ञहरू बताउँछन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारी फेरिपनि संक्रमण पहिलेझैँ बढेर गए स्वास्थ्य संरचनाले नधान्ने भएकाले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न सतर्क रहन सुझाउँछन् । नेपाल कोभिड–१९ संक्रमणको तेस्रो लहरको संघारमा रहेकाले जमघट र भिडभाड नगर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।  

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २०, २०७८  १९:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC