दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीको राप्ती उपत्यकाबाट ग्रामीण तथा सहरी विकास मन्त्रालयले काम सुरु गरेको छ । प्रदेशको स्थायी राजधानी स्थापना भएको झण्डै १० महिनापछि स्थायी मुकामबाट काम सुरु गरेको हो ।
प्रदेश सरकार स्थापनाको २ वर्ष ८ महिनापछि गत असोज २१ मा लुम्बिनी प्रदेशको स्थायी मुकाम दाङको देउखुरीलाई घोषणा गरिएको थियो । स्थायी मुकामबाट काम सुरु गर्ने यो पहिलो मन्त्रालय हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भर्चुवल माध्यमबाट मन्त्रालयको शुभाराम्भको घोषणा गरेका हुन् । मन्त्रालयको विधिवत शुभाराम्भ गर्दै मुख्यमन्त्री पोखरेलले राजधानी कार्यान्वनको लागि महत्वपूर्ण क्षण भएको बताए । “यो महत्वपूर्ण क्षण हो । यसले राजधानी कार्यान्वनमा अब विशेष भूमिका खेल्नेछ”, मुख्यमन्त्री पोखरेलले भने । उनले अब क्रमशः अन्य मन्त्रालयले पनि स्थायी राजधानीबाट काम थाल्ने बताए । “स्थायी राजधानीका लागि अब पूर्वाधारको काम हुन्छ”, मुख्यमन्त्री पोखरेलले भने, “आउँदो वर्षदेखि प्रदेशसभाको अधिवेशन पनि स्थायी मुकाममै हुन्छ ।”
आर्थिक मामिला तथा योजनामन्त्री वैजनाथ चौधरीले यो ऐतिहासिक क्षण भएको भन्दै अब अन्य मन्त्रालयले पनि स्थायी मुकामबाट काम थाल्ने बताए ।