काठमाडौं । नेकपा (माओवादी केन्द्र)को भातृसंगठन अखिल (क्रान्तिकारी)मा गत १६ जना अध्यक्षका आकांक्षी थिए । नेतृत्व चयनका लागि अखिलको राष्ट्रिय सम्मेलन त्रिभुवन विश्वविद्यालयमा असोज १० मै सुरु भएको थियो ।
सम्मेलनबाट अध्यक्ष बन्दै संगठनकाे नेतृत्व गर्ने आकांक्षीहरू आफूलाई बलियो बनाउने मुद्दाको खोजी गर्दै थिए । त्यही मुद्दा खोजी गर्ने क्रममा नयाँ पुस्ताका आकांक्षीहरूले उमेरलाई एजेन्डा बनाइदिए । विद्यार्थी जीवनबाट अलग भएको २०औँ वर्ष बित्दासमेत विद्यार्थी संगठनको नेतृत्वमा पुगेर पार्टी राजनीतिको केन्द्रमा पुग्ने आकांक्षा राखेकाहरू एकैपटक तब निरास भए जब ३२ वर्षे उमेरहद कायम राख्नुपर्ने मुद्दा सम्मेलनको झन्डै ५० प्रतिशतले बोकिदियो ।
सम्मेलनमा उमेर हदका विपक्षमा उभिएको पक्षले हतियार उठाएर आएको पहिचान नै दोहोर्यायो । विवादका क्रममा सम्मेलनस्थलमै तरबार निकालिएपछि सम्मेलनस्थल रणमैदानमा परिणत भयो । सम्मेलनस्थलमा बेच्न राखिएका सामानदेखि सोफासम्म तोडफोड भए । तर, त्यसलाई न अखिल क्रान्तिकारीले छानबिनको मुद्दा बनायो, न त माओवादी केन्द्रले नै । त्रिभुवन विश्वविद्यालयको क्षति भएको सम्पत्तिको जिम्मा कसले लिने भन्नेसम्म पनि बहस भएन ।
सम्मेलनको परिस्थिति नियन्त्रणबाहिर गएपछि माओवादीले सम्मेलन नै स्थगित गरिदियो । विद्यार्थीभन्दा बाहिरबाट संगठनको नेतृत्व हुँदा संगठन विद्यार्थी वर्गमा विस्तार हुन नसक्ने निष्कर्षमा पुगेको माओवादी पार्टी नेतृत्वले सम्मेलन रोकेर उमेर हद लगाउने वा नलगाउने भनेर जनमतसंग्रहमा जाने निर्णय गर्यो । केन्द्रका कानुनी पृष्ठभूमिका नेता मुक्ति प्रधानको संयोजकत्वमा निर्वाचन समिति बनाएर क्रान्तिकारीमा उमेर हद लगाउने वा नलगाउने भनेर देशभर चुनाव भयो ।
देशभरका क्रान्तिकारीका सदस्यले जिल्ला–जिल्लामा मतदानमा भाग लिँदा उमेर हद नचाहनेहरूले सक्दो बल लगाएर उमेरहदका विपक्षमा मतदान गराए । तर, विद्यार्थी जीवनमै रहेका क्रान्तिकारीका नेता र सदस्यलाई पार्टी नेताहरूले ‘होस्टेमा हैँसे’ गरिदिएपछि झिनो मतले उमेर हद लगाउने पक्षमा मत जुट्यो ।
देशभर रहेका दुई हजार ३९८ प्रतिनिधिमध्ये जिल्ला, विश्वविद्यालय र क्याम्पस तहमा मतदानमा एक हजार ७८९ जनाले भाग लिएका थिए । एकहजार ७८९ जनाले भाग लिँदा १० मत बदर भयो भने उमेरहदका पक्षमा नौ सय मत परेका थियो । उमेर हद लाउनुहुँदैन भन्ने पक्षमा ८७९ मत परेपछि उमेर हद लगाउने पक्षको प्रस्ताव २१ मतको बहुमतबाट अनुमोदित भयो ।
अखिल (क्रान्तिकारी)का विद्यार्थी नेता र पार्टी नेता लाग्दासमेत जम्मा २१ मतान्तरले उमेर हद हटाउन सफल भएपछि विद्यार्थी नेताको प्रभावका विषयमा नेतृत्व झस्किएको छ । आगामी माघ १२ गते नेतृत्वका लागि निर्वाचन हुने मिति तय भएकोमा विद्यार्थी नेताहरूको असन्तुष्टि बढेपछि माघ १२ को चुनाव र त्यसपछि विश्वविद्यालयमा घोषणा भएको स्ववियु चुनावमा क्रान्तिकारीको उपस्थितिलाई लिएर पार्टी नेताहरूमा चिन्ता देखिएको छ ।
कतिसम्म भने आइतबारदेखि सुरु भएको माओवादी केन्द्रको बैठकमा उमेदहद लागेर क्रान्तिकारीको राजनीतिबाट बहिष्करणमा परेकाहरूको व्यवस्थापनलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै केन्द्रीय समिति बैठकको एजेन्डा बनाएका हुन् ।
रञ्जीत तामाङसहित क्रान्तिकारीबाट बिदा हुँदा अखिलका ६ नेतालाई केन्द्रीय सदस्य बनाएका प्रचण्डले यसपटक झन्डै ६ सय नेताहरू अखिलबाट बिदा भएपछि कतिजनालाई व्यवस्थापन गर्न सक्छन् भन्ने चासो क्रान्तिकारीबाट बाहिरिएका नेताहरूको छ ।
पार्टीका तर्फबाट विद्यार्थी फ्र्याक्सन इन्चार्ज रहेका अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष हिमाल शर्मा अध्यक्षले नै र्बैठकमा एजेन्डाको रूपमा प्रस्तुत गरेकाले अखिलबाट बाहिरिएकाहरूलाई पार्टीले उचित जिम्मेवारी दिने विश्वास गर्छन् । नेताहरूले भनेजस्तो ६ सय जनाको आकडामा भने उनी सहमत छैनन् ।
“६ सयजना अखिलबाट बाहिरिएको भन्ने कुरा तथ्यसंगत छैन । यो आवधिक संगठन हो । हरेक दुई वर्षमा हुने सम्मेलनबाट धेरैजना जिम्मेवारीमा आउने र त्योभन्दा धेरै बाहिरिने प्रक्रिया निरन्तर चलिरहन्छ,” शर्माले भने, “जहाँसम्म लामो समय काम गरेर नेतृत्वको आकांक्षामा रहनुभएका साथीहरूलाई फिल हुने कुरा फरक हो ।” पार्टीले नै उनीहरूलाई जिम्मेवारी दिने विषय राखेकाले चिन्ता गर्नुपर्ने कारण नरहेको उनको भनाइ छ ।
“अध्यक्ष कमरेड प्रचण्डले नै आफ्नो लिखित प्रस्तावमा उमेर हदका कारण अखिलबाट बाहिरिएका नेताको व्यवस्थापनको एजेन्डा बैठकमा प्रस्तुत गर्नुभएको छ । त्यसैले बैठक सकिँदासम्म उहाँहरूलाई जिम्मेवारी दिनेगरी एउटा कार्यदल गठन हुनेछ,” शर्माले भने, “पार्टीमा पद मात्र ठूलो कुरा होइन । अखिलबाट बाहिरिएर भूमिका खोजिराहेकाहरूले पार्टीमा जिम्मेवारी पाउनुहुनेछ ।” उनले एकैपटक पार्टीमा धेरै युवालाई जिम्मेवारी दिने अवस्था आउनु पार्टी र नेतृत्वका लागि महत्त्वपूर्ण अवसर हुने बताए ।
विद्यार्थी नेताहरू भने पार्टीका आफूनिकट रहेका नेतालाई नै आफ्नो र क्रान्तिकारीका नेताहरूको व्यवस्थापनलाई लिएर चासो राखिरहेका छन् । पार्टीको विशेष महाधिवेशन हुने विषय पनि बैठकमा प्रवेश गरेकाले क्रान्तिकारीमा अध्यक्षका आकांक्षीहरू भने विशेष महाधिवेशनलाई प्रयोग गरेर पार्टी राजनीतिमा प्रवेश गर्ने योजनामा जुटेका छन् ।
“पार्टी अध्यक्षले विद्यार्थी नेताहरूको व्यवस्थापनको एजेन्डा बनाउनुभएको जानकारी आएको छ । तर, कतिजनालाई व्यवस्थापन गर्ने भन्ने विषय सामान्य विषय छैन,” क्रान्तिकारीबाट बाहिरएका एक नेताले बाह्रखरीसँग भने, “विशेष महाधिवेशनमा चुनावी प्रतिस्पर्धा खुला भयो भने त्यो नै व्यवस्थापनको एउटा सहज विकल्प बन्न सक्छ ।”
चुनावी प्रतिस्पर्धाबाट आउन नसके चित्त बुझाउने आधार हुने भन्दै उनले आउन सके पार्टीको फोरम नै उपयुक्त विकल्प हुने बताए । अखिलबाट उमेरहदले बाहिरिएका नेता व्यवस्थापनमा विश्वसनीय आधार नबने माघ १२को अखिल क्रान्तिकारीको चुनाव प्रभावित हुने र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा क्रान्तिकारीको उपस्थिति हदैसम्म कमजोर हुने उनको दाबी छ ।