site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रहरी कार्यालयभित्रै सलाम खान्थे ‘इन्स्पेक्टर’ थापा, उजुरी परेपछि खुल्यो ठगीको अनौठो धन्दा

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय टेकुमा तीन दिनअघि ओखलढुंगाका दलबहादुर खत्री एउटा उजुरी बोकेर पुगे । कार्यालयको उजुरी शाखामा पुगेका दलबहादुरले उजुरीमा लेखेका थिए,‘‘प्रहरीकै इन्स्पेक्टर सुदीप थापाले मलाई अस्ट्रेलिया पठाउने भन्दै १४ लाख रुपैयाँ लिएर ठगी गरे । उनीमाथि आवश्यक कारबाही गरी मेरो रकम फिर्ता गरी पाऊँ ।’’

दलबहादुरले प्रहरी निरीक्षिक नै संलग्न रहेको उजुरी ल्याएपछि उजुरी शाखाका प्रहरी कर्मचारी नै चकित परे । शाखाका प्रहरी अधिकारी पीडितसहति उजुरी दर्ता गर्नुअघि उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईको कार्यकक्षमा छिरे ।

एसएसपी भट्टराई उजुरी शाखाका प्रहरी कर्मचारीको रिर्पोटिङ सुन्दै थिए । पीडित खत्रीले भट्टराईलाई भनिहाले,‘यो मलाई ठग्ने इन्स्पेक्टर नै हो सर । इन्स्पेक्टर हुँ भनेको मात्रै होइन । प्रहरीकै ड्रेसमा मैले भेटेको छु । प्रहरी कार्यालयमै पनि भेटेको छु ।’’

त्यतिमात्रै होइन, खत्रीले आफूसँग सुदीपको फोटोसमेत रहेको बताएका थिए । पीडित खत्रीको गुनासो सुनेपछि एसएसपी भट्टराईले सुदीपबारे अनुसन्धान गर्न कार्यालयको जघन्य अपराध अनुसन्धान गर्ने ‘पिलर’लाई निर्देशन दिए ।

सामान्यतः कार्यालयले कुन पिलरले कस्तो अपराधको अनुसन्धान गर्ने भन्ने आफ्नो छुट्टै निर्देशिका बनाएको छ । सोहीअनुसार विभिन्न प्रकृतिका अनुसन्धान छुट्टाछुट्टै पिलरले गर्छ ।

सामन्य ठगीको अनुसन्धान गर्न ठगी ‘पिलर’ नै स्थापना गरिएको छ । तर, सुदीपबारे अनुसन्धान गर्न जघन्य अपराधबारे अनुसन्धान गर्ने पिलरको टोली खटियो । जघन्य अपराधबारे अनुसन्धान गर्ने पिलर प्रमुखमा डीएसपी अनिल घिमिरे छन् । पीडित खत्रीले घिमिरेकै टोलीलाई प्रहरी निरीक्षक सुदीप थापाको फोटोसमेत उपलब्ध गराए ।

घिमिरेको टोलीलाई पीडित खत्रीले उपलब्ध गराएको फोटो हेरेपछि इन्स्पेक्टर भनेर परिचय दिने सुदीप नक्कली इन्स्पेक्टर भएको खुुट्ट्याउन समय लागेन ।

पीडित खत्रीलाई घिमिरेको टोलीले जवाफ दिए, ‘‘यो नक्कली इन्स्पेक्टर हो । तर, हामी यसलाई जसरी पनि कानुनी दायरमा ल्याउँछौँ ।’’

आफूलाई इन्स्पेक्टर बताउने थापाले दज्र्यानी चिह्न नै उल्टो लगाएका थिए । सोही दज्र्यानी चिह्नले उनी नक्कली इन्स्पेक्टर भएको पुष्टि डीएसपी घिमिरेको टोलीले गरेको थियो । पीडितले उजुरी दिएको एक हप्ताभित्र नै प्रहरीले सुदीप थापालाई पक्राउ गर्न सफल भएको छ ।

पक्राउ परेका थापालाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ । थापाले खत्रीलाई जसरी नै थप दुईजना वीरेन्द्र गिरी र सुवार गिरीलाई क्यानडा पठाउने भन्दै ठगी गरेको खुलेको छ ।

उनीहरू तीनजनाबाट थापाले ७१ लाख रुपैयाँ ठगी गरेको खुलेको कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए । कार्यालयको प्रहरी टोलीले काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–७ का ३८ वर्षीय सुदीप थापालाई आइतबार घरबाट नै पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले इन्स्पेक्टरको नक्कली कार्डसमेत फेला पारेको छ । थापासहित उनको नक्कली कार्ड बनाउने सप्तरीका ४४ वर्षीय किशोरकुमार चौधरी समेत थप दुईजनालाई समेत प्रहरीले पक्राउ गरेको छ । उनीहरूले कोटेश्वरमा मार्सल प्रिन्टिङ प्रेस चलाएका थिए ।

प्रहरीको अनुसन्धानका क्रममा नक्कली इन्स्पेक्टर थापा आफू सक्कली इन्स्पेक्टर बनेर विभिन्न प्रहरी कार्यालयमा समेत पुगेको खुलेको छ । उनी कोटेश्वर प्रहरी प्रभाग र नयाँ बानेश्वर प्रहरी वृत्तमा भित्र छिर्ने गरेको खुलेको हो । प्रहरी कार्यालयभित्र छिरेर प्रहरी जवानहरूसँगै बसेर फोटो खिचेर फर्किने गरेको खुलेको छ सोही फोटो समेत देखाएर उनले पीडितलाई प्रभावमा पार्ने गरेको अनुसन्धानका क्रममा खुलेको छ । 

नक्कली निरीक्षक थापा सक्कली प्रहरीको सलाम खाँदै हिँडेका कारण पीडितको संख्या बढ्न सक्ने प्रहरीको भनाइ छ । थापामाथि ठगी 
कीर्ते मुद्दामा अनुसन्धान गर्न उपत्यका प्रहरी कार्यालयको टोलीले जिल्ला प्रहरी परिसर काठमाडौंलाई बुझाएको छ ।

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  १८:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro