site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निषेधाज्ञामा निःशुल्क खाना वितरण
तस्बिर : सुनील प्रधान/बाह्रखरी ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गएको सोमबार देशवासीका नाममा सम्बोधन गर्दै निषेधाज्ञाका कारण कसैलाई पनि भोकै मर्न नदिन सरकार सचेत रहेको बताए । तर, विपन्न वर्ग भोकै हुन थालेको भेटिएको छ ।

गत वर्षको लकडाउनमा निःशुल्क खाना बाँड्दै हिँडेका हन्ड्रेड ग्रुपका अगुवा बब्लु गुप्ताको टोलीले पुनः मजदुरलाई खाना वितरण गर्न थालेको छ । निषेधाज्ञाको दोस्रो दिनदेखि नै खाना वितरणका लागि आफूलाई फोन आउन थालेको उनको भनाइ छ ।

पशुपति, स्वयम्भू, थापाथली, टेकुलगायत स्थानबाट दैनिक ज्याला मजदुरी गर्नेहरुले ‘खाना लिएर कहिले आउनुहुन्छ ?’ भन्दै फोन गर्न थालेपछि पुनः निःशुल्क खाना वितरण गर्न थालेको उनी बताउँछन् । “आज टेकुमा खाना खान आउने मजदुरहरुको धेरै लामो लाइन छ,” बब्लुले भने, “बिहानदेखि निरन्तर खाना वितरण गरिरहेका छौँ । खाना खानेमा महिला, बालबालिका, वृद्धवृद्धा पनि रहेका छन् ।”

गत वर्षको लकडाउनमा हन्ड्रेड ग्रुप, हाम्रो टिम नेपाल, हाम्रो सानो प्रयासलगायत संस्थाहरुले काठमाडौं उपत्यकामा मजदुर र निम्न वर्गलाई खाना वितरण गरेका थिए ।

हाम्रो सानो प्रयासमार्फत निःशुल्क खाना वितरण गर्दै आएका पुकार बम पहिले सरकारीस्तरबाट सहयोग मिले पनि अहिले अवस्था फरक रहेको बताउँछन् । “दैनिक ज्याला मजदुरी गर्नेहरु बढ्दै जाँदा अरु संस्थाहरुको सहयोग मागिरहेका छौँ,” उनले भने ।

हाम्रो टिम नेपालका विमल पन्त दिन–प्रतिदिन सडकमा खाना खाने मजदुरको संख्या बढ्दै गएको बताउँछन् । “अबको दुई–चार दिनमै यो संख्या बढेर तेब्बर–चौबर पुग्नेछ,” विमलले भने । हाम्रो टिम नेपालका सदस्यले स्कुटर र मोटरसाइकलमा खानाका प्याकेज बोकेर बाँड्ने गर्छन् ।

थापाथलीको प्रसूतिगृह पछाडि, पशुपतिनाथ, स्वयम्भू, टेकुलगायत स्थानमा निःशुल्क खाना वितरण गरिँदै छ । “भारी बोक्ने, घरको काम गर्ने, रिक्सा चलाउने, मजदुरलाई समस्या पर्न थालिसकेको छ,” विमलले बाह्रखरीसँग भने, “सडकमा गीत गाएर बस्ने शारीरिक रुपमा अशक्त मानिसलाई समस्या नपर्ने त झन् कुरै भएन ।”

दैनिक ज्याला मजदुरीको भरमा बिहान–बेलुकाको छाक टार्ने वर्गलाई निषेधाज्ञामा सरकारले खानाको व्यवस्था गर्नुपर्ने हन्ड्रेड ग्रुपका बब्लु बताउँछन् । “हामीले दैनिक खानामा मात्रा बढाउँदै लैजाँदा पनि कतिपयलाई नपुगेर फेरि मिलाउनुपर्ने हुन्छ,” बब्लुले सुनाए ।

राष्ट्रिय योजना आयोगको नेपाल बहुआयामिक गरिबी सूचकांक २०१८ अनुसार सहरी जनसंख्याको ७ र ग्रामीण जनसंख्याको ३३ प्रतिशत मानिस गरिब छन् ।

नवजीवन परोपकार समाजले पनि मजदुरलाई खाना उपलब्ध गराउन थालेको छ । समाजका संस्थापक अध्यक्ष दुर्गानाथ दाहाल मजदुरलाई खाना वितरण मात्रै नभइ सहाराविहीनलाई सहारा दिँदै आएको बताउँछन् ।

“हामीले खाना वितरणसँगै लकडाउनमा अलपत्र परेका मानिसलाई घरसम्म पठाइ पुनर्मिलन गराउने काम पनि गर्दै आएका छौँ,” दाहालले बाह्रखरीसँग भने, “बेसहारा अवस्थामा भेटिएका जनावर, पशुपक्षी, मानिस जो कोहीलाई उपचार गर्ने, खाना खुवाउने, पुनर्मिलन गराउने काम गर्दै आएका छौँ ।”

भोका मजदुरलाई सरकारले खानाको व्यवस्था गर्नतिर नलागी बाहिर निस्किनेलाई कारबाही गर्दै ती मजदुरको भोको पेटमा लात हान्ने काम गरिरहेको उनको भनाइ छ ।

सामाजिक दाताहरुले कोरोना संक्रमितको उपचारका लागि निःशुल्क अक्सिजन पनि उपलब्ध गराउन थालेका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  १४:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro