काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट) ले कोरोना संक्रमणको स्थितिलाई मध्यनजर गर्दै रोबोट निर्माण गरेको छ ।
नास्टले सोमबार एक कार्यक्रम गरी रोबोट सार्वजनिक गरेको छ । ‘यान्त्रिका कोरोना कम्प्याक’ नाम दिइएको उक्त रोबोटले कार्यालयमा पस्दा वा निस्कँदा हात जोडेर अभिवादन गर्ने, माक्स लगाएको नलगाएको छुट्याउने र नलगाएकोलाई मास्क दिने, स्यानिटाइर दिनेलगायतको काम गर्नेछ । यो रोबोट कुनै पनि कार्यालयका लागि अन्त्यन्तै उपयुक्त हुने पनि नाष्टले जनाएको छ ।
नाष्टका इन्जिनियर रोशन पाण्डेका अनुसार रोबोटले मानिसको शरीरको तापक्रम नाप्ने, स्यानिटाइजर दिने, मास्क नलगाएको खण्डमा मास्क दिने काम गर्नेछ । यो रोबोटलाई नाष्टकै प्रवेशद्वारमा राखिने पनि पाण्डेले बताए ।
कोरोनाको प्रभावलाई कार्यालयमा पस्दा तथा निस्कँदा प्रभावकारी रुपले नियन्त्रण गर्न सक्ने उद्देश्यले रोबोट निर्माण गरिएको पनि पाण्डेले बताए । त्यस्तै रोबोटले समेत मास्क दिने, कोभिडबारे सूचना दिने गर्दा यसले जनचेतनामूलक सन्देश दिनेसमेत उनले बताए ।