site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मृत्यु नहोस् त संसार कति कुरूप देखिन्छ होला ! 

(नेपाली कविता र निबन्धका क्षेत्रमा चिरपरिचित नाम हो, मोमिला । उनले पाठकलाई ‘ईश्वरको अदालतमा आउटसाइडरको बयान’ निबन्धकृतिका साथै ‘भीमसेन थापाको सुसाइट नोट’ जस्ता कविताकृति सुम्पिइसकेकी छन् । मोमिलाको नवीन निबन्धकृति केही समयअघि सार्वजनिक गरिएको छ, ‘प्रश्नहरू त बाँकी नै रहन्छन्’ । प्रस्तुत छ, साहित्यकार मोमिलासँग सोही किताबका विषयमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश)

के प्रश्न बाँकी रह्यो र ‘प्रश्नहरू त बाँकी नै रहन्छन्’ कृति ल्याउनुभयो ?
मलाई लाग्छ, प्रश्नबिनाको त जीवन नै हुँदैन । यसो भन्नुको अर्थ जीवनको रोमाञ्चकता कहाँनिर छ त भनेर खोजिनु पनि हो । प्रश्नविहीन हुनु भनेको सपाट हुनु हो । जब प्रश्नहरू महसुस गर्छौँ, तब मात्र हामी उत्तरको खोजी गर्छौँ । हुन त उत्तरहरू भएर नै प्रश्न हुन्छन् है । बस्, हामीले खोज्न जान्नुपर्छ । तर, प्रश्न नबुझी हामीले उत्तर खोज्नै सक्दैनौँ । प्रश्नहरू बाँकी हुनु भनेको नै जीवनको गतिशीलता हो । र, यो गतिशीलतालाई स्वीकार गर्नु पनि हो ।

मैले धेरैअघि एउटा कविता लेखेकी थिएँ— 
आफूलाई कतै छोडेर अधुरो म कविता पूरा गर्न सक्दिनँ
जीवन रहेसम्म नै अनुभूतिको विस्तारमा म अन्तिम सिमाना कोर्न सक्दिनँ ।

यसको अर्थ यही नै हो कि हामीले जीवन रहुन्ज्यालसम्म कुनै पनि अन्तिम सत्यलाई सत्य भनेर लालमोहर लगाउन मिल्दैन । समय परिवर्तनशील छ, त्यसैले त प्रश्नहरू बाँकी नै रहन्छन् ।

ती प्रश्नका जवाफ खोजिन्छ/खोजिन्न ?
हेर्नुस्, हरेक ठाउँमा प्रश्न हुन्छ र उत्तर खोज्दै हामी गतिशील भएर अगाडि बढिरहनुपर्छ । जहाँसम्म उत्तरको कुरो छ, खोज्न जाने हो भने उत्तर भेटिन्छ पनि । तर, उत्तर सम्पूर्णतामा जाँदैन । तेस्रो आयाम किन जन्मियो त भन्दा प्रश्नहरू बाँकी रहेर नै हो ।

सपाट उत्तरहरू त जति पनि भेटिन्छन् । तर, जब हामीले सम्पूर्णमा खोजी गर्छौँ, त्यहीँ पाउँछौँ केही पनि सम्पूर्ण छैन भन्ने तथ्य । सम्पूर्णमा उत्तरहरू भेट्नु भनेको चाहिँ जीवनको समाप्ति पनि हो कि ! अस्तित्वको समाप्ति पनि हो कि ! मलाई यस्तो लाग्छ ।

त्यसैले मृत्युबोधका निबन्ध लेखिएका हुन् ?
मृत्युबोध होइन, मृत्यु चिन्तन हो । यसलाई मृत्युबोध पनि भन्न मिल्छ । तर, जीवनलाई एकदम निराशामा बदलेर, मृत्युका बारेमा सोचेर, डिप्रेसनमा गएर मृत्यु नै वरण गर्ने खालको मृत्युबोध भनेको होइन । भन्न खोजेको मृत्यु चिन्तन हो, किनकि हामी सचेत प्राणी हौँ । हाम्रो जन्म हाम्रो बसमा थिएन र मृत्यु पनि हाम्रो बसमा छैन । हो, मृत्यु कस्तो बनाउने भन्नेचाहिँ आफ्नै हातमा छ ।

हामी यो संसारमा आउँदा केही थाहा हुँदैन । तर, आइसकेपछि यो संसारका सत्यहरूलाई अथवा यो संसारमा भएका विभिन्न विषयवस्तुहरूलाई हामीले मनन गर्दै, ग्रहण गर्दै, जीवनलाई सार्थकता दिँदै, जीवनको अर्थ बुझ्दै कम्तीमा सार्थकतातर्फ उन्मुख, सम्पूर्णतातर्फ उन्मुख हुनु हो । तेस्रो आयामले नै पनि यस्तै भनेको हो कि सम्पूर्णतातर्फ बाँचाैँ भने पनि सम्पूर्ण त बाँच्न सकिँदैन । त्यसैले त इन्द्रबहादुर राईको लीला लेखन आएको हो ।

वास्तवमा सम्पूर्ण बाँच्न सकिँदैन । अस्तित्ववादलाई पश्चिमा देन भन्छन्, कतिपय । तर, उहिल्यै गीतामा उल्लिखित निष्काम कर्मयोगजस्तो ठूलो अस्तित्ववाद अरू कुनै पनि छैन । त्यहाँ त हामीलाई कर्म गर भनेर भनिएको नै छ । फलको आशा नभए पनि कर्म गर । यदि, त्यसो गरेमा मानिसले निराशाको चरमोत्कर्षमा पुगेर जिन्दगी समाप्त गर्नु पर्दैन । यदि, फलको आशा गरेर कर्म गर्‍यौँ भने र प्राप्त भएन भने त निराश हुइन्छ । र, आस नगरेर कर्म गर्‍यौँ भने फल प्राप्ति हुँदा खुसी हुइन्छ । नभए जिन्दगी आफ्नो लयमा चलिरहन्छ । जब जीवन लयमा चलिरहन्छ, फेरि पनि प्रश्नहरू त बाँकी नै रहन्छ । प्रश्न बाँकी रहँदा उत्तरहरू पनि त बाँकी रहन्छन् नै ।

कृतिमा एउटा निबन्ध छ, ‘मृत्यु सौन्दर्य’ । मृत्युजस्तो विषयमा पनि तपाईंले कस्तो सौन्दर्य देख्नुभयो !  
मृत्यु आफैँमा कहिलेकाहीँ सुन्दर देखिन्छ । अनुमान गर्नुस्, यदि यो संसारमा मृत्यु नहुँदो हो त संसार कति कुरूप देखिन्थ्यो होला ! मैले भन्न खोजेको के हो भने, एउटा बिरुवामा एउटै फूल मात्र सधैँ फुलिरह्यो भने अर्को फूल कहाँ फुल्ने ? अर्को पिँढी कहाँ आउने ? वृद्धहरूको कुरूप भीड सधैँ सर्वत्र देखिने हो भने कस्तो कुरूप हुन्थ्यो होला संसार !

संसारलाई सुन्दर बनाइराख्ने दूरदर्शी सत्य मृत्युलाई स्वीकार गर्न हामीलाई धेरै गाह्रो छ । तर, स्वीकार गर्नुपर्छ नै । त्यसैले मैले मृत्यु छ है भन्ने चिन्तनमा यो निबन्ध लेखेकी हुँ । जति जीवन छ, त्यति सत्कर्म गरौँ भन्ने मेरो आशय हो ।

मृत्यु अवश्यम्भावी छ । मृत्यु छैन भन्ने भ्रममा कोही नबाँचौँ । मलामी जाउन्जेलसम्म ‘कठै’ भन्ने र घर फर्किनासाथ जग्गाजमिनको नापनक्सा थाल्ने ! जबकि, उसले भर्खरै हेरेर आएको छ – मलामी जाँदा, जाने बेला मानिसलाई केही पनि चाहिँदैन भन्ने कुरा । अचम्म लाग्छ !

मृत्युले हामीसँग खोसेर हाम्रो चेतनाबाहेक केही पनि लग्दैन । अनि, हामी किन डराउँछौँ मृत्युसँग ! शरीर पनि यहीँ नै छाडिदिन्छ ।

दर्शन, चिन्तनजस्ता जटिल विषयवस्तुलाई निबन्धमा उनेर रमाउन खोज्नु गाह्रो होइन ?
सामान्यतया हेर्दा निबन्ध बुद्धिविलासजस्तो लाग्छ । तर, निबन्धमा बुद्धिविलास छ भने हृदयविलास पनि हुन्छ । बुद्धिविलाससँगै हृदयविलास पनि सँगसँगै आउँछ । मैले विमोचनको समयमै पनि सफ्ट पावरको कुरो गरेकी थिएँ । त्यो पावर बाहिर देखिँदैन । त्यो सफ्ट पावर भनेको चिन्तन हो । कलासाहित्य भनेकै त्यही सफ्ट पावरलाई उजागर गर्ने सशक्त माध्यम हो ।

उद्देश्यबिना लेख्नुको कुनै औचित्य हुँदैन भन्ने लाग्छ मलाई । योजनाविहीन हिँड्ने मानिसलाई के भन्नुहुन्छ ? आज देश पनि त्यस्तै योजनाविहीन रूपमा अगाडि बढिरहेको छ र भड्खालोमा परिरहेको छ । चलाइहालौँ न देश भनेर चलाइँदै छ ! देश यसरी चल्छ र ? एउटा सोच त लिएर आउनुपर्‍यो नि देश चलाउनेहरूले !

सोच नै छैन भन्न पनि खोजेको होइन मैले । तर, त्यस्तो सोचको कुनै पनि रूपमा कार्यान्वयन भएको देखिँदैन ।

हामीले पनि कतिकति आशा गरेका थियौँ । केके होला भन्ने ठानेका थियौँ । खै त देशको कायापलट भएको ? जबकि, हामीले कति बीभत्स समयहरू भोग्यौँ । त्यसपछिको समयमा केही त होला भन्ने आस त सबैले लिएका हुन्, तर खै ?

मेरो भन्नुको तात्पर्य हो, मानिसले आफ्नो सोचअनुसार चल्नुपर्छ । आवरण एउट, भित्र अर्को हुनु भएन । सुन्तलाको बोक्राभित्र सुन्तला नै हुनुपर्छ, आलु वा अरू केही हुनु हुँदैन । हामीकहाँ त देखिँदा सुन्तला छ, भित्र त के छ के छ !

मुलुक हाँक्नेसँग त्यस्तो खालको सफ्ट पावर हुनुपर्छ, जुन चेतना र चिन्तनले यो देशको कायापलट गरोस् । हाम्रोे देशजस्तो सुन्दर त अरू के होला र ! यति सानो भूभागमा यतिविघ्न सौन्दर्य फैलिएको छ । यति धेरै भाषाभाषी, रीतिरिवाज, संस्कार, कला, संस्कृति छ, जसको सौन्दर्य सर्वत्र फैलिनुपर्ने हो । तर, यो देशको अवस्था देखेर भक्कानिन मन लाग्छ ।

तसर्थ, लेखक भनेको सफ्ट पावर हो । यही सफ्ट पावर, चेतना र चिन्तनको प्रयोगबाट हामीले आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुपर्छ । देश चलाउनेले पनि सफ्ट पावरको सही प्रयोग गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

यस्तै भाव, चिन्तन, दर्शन तपाईंका निबन्धमा फैलिएका छन् !  
चिन्तन भन्ने कुरा सोझै त बुझिँदैन । कृतिको सुरुमै एउटा निबन्ध छ, ‘मेरै छायाको विद्रोह र अस्वीकृत ग्रहण’ । यो निबन्ध अहिलेको देशका लागि मार्गदर्शन हो । हामीले सिंगो देशलाई सुन्दर मुलुकका रूपमा बनाउने हो भने तिनमा चेतना त हुनुपर्‍यो नि !

पछिल्लो समय पठन संस्कृतिको ग्राफ घट्दो आकारमा गएको हो ? 
मलाई सम्झना छ, मैले एकपटक डायमनशमशेरको अन्तर्वार्ता लिएकी थिएँ । त्यसमा उहाँले भन्नुभएको थियो, ‘देशका हरेक युवाको हातहातमा पुस्तक हुने हो भने यो देश आफैँ परिवर्तन हुन्छ ।’ र, उहाँले हातहातमा पुस्तकसँगै अवसर पनि हुनुपर्छ भन्नुभएको थियो ।

उहाँको भनाइको अर्थ बुझौँ त, उहाँले लिँडेढिपीको होइन कि सचेत संस्कृतिको विकास गरौँ भन्न खोज्नुभएको थियो नि !

हामी लेखिरहन्छौँ, पढ्नेले पढिदिँदैनन् ! 
हामीले लेखेको त पढ्दैनन् नै, सायद हामीले पनि सुनाउन जानिरहेका छैनौँ कि ! मलाई एउटा प्रसंगको सम्झना हुन्छ, साहित्यकार मदनमणि दीक्षितको वैदिक उपन्यास ‘माधवी’को चर्चा चलेको नै हो । यस्तो किसिमको साहित्यिक कृति भारतमै पनि प्रकाशित भएको छैन । त्यसैले हामीले संस्थागत रूपमा नै साहित्यकार दीक्षितको पूर्वीय दर्शनलाई सर्वत्र चिनाउने प्रकृतिको उपन्यास ‘माधवी’लाई अंग्रेजीमा अनुवाद गरेर नोबेल पुरस्कारका लागि सिफारिस गर्ने कामको थालनी गर्‍यौँ । मैले यसै कामका लागि लोन लिएर भए पनि उहाँसँग कपिराइटको जिम्मा लिएँ ।

त्यसपछि हामी साथीहरू धेरै ठाउँमा धायौँ । यस कामका लागि कति व्यक्तिहरूलाई भनेँ, कति मन्त्रालय धाएँ । एनआरएनएका सरोकारवालाहरूलाई भेटेर भनेँ । तर, कसैले केही गरेनन् । तिनले ‘हाम्रो स्थान कहाँ हुन्छ ?’ भन्ने प्रश्न मात्रै गरे । काम गरिदिएनन् ।

कसैले केही गर्छु भन्छ भने उसलाई त काम गर्न दिनुपर्‍यो नि ! के हामीले सधैँ दयाको पात्र बन्नुपर्ने ? तिनले हामीलाई दया गर्नु पर्दैन । बस्, हामीले उठाएका विषयलाई सम्बोधन गरिदिएर गर्न खोजेको कामलाई कार्यान्वयन गरिदिए पनि पुग्छ । 

प्रस्तुति : राजेश खनाल
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  ०८:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro