विराटनगर । प्रदेश १ का स्थानीय तहले कोरोना संक्रमित व्यवस्थपान गर्न आफ्नै आइसोलेसन केन्द्र निर्माण गरेका छन् । तराईका जिल्लाबाट सुरु भएको यो कार्य विस्तारै पहाडतर्फ पनि थालनी गरिएको छ ।
प्रदेशद्वारा निर्माण गरिएको कोभिड अस्पताल र आइसोलेसन सेन्टरमा आफ्ना नागरिकले ठाउँ पाउन छाडेपछि सुरुमा मोरङको विराटनगर महानगरपालिका र रंगेली नगरपालिकाले आफ्नै आइसोलेसन केन्द्र सञ्चालन गरेका थिए ।
दुई स्थानीय तहले आफ्नै स्रोत-साधनबाट संक्रमितलाई उपचार गर्ने र रेखदेख गर्न आफ्नै आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएसँगै प्रदेशका अन्य स्थानीय तहले पनि आफ्नै पहलमा आइसोलेसन केन्द्र बनाउन थालेका छन् । धनकुटामा धनकुटा औद्योगिक ग्राममा २० शय्याको आइसोलेसन सुरु भएको छ । सुनसरीको इटहरी नगरपालिकाले आइसोलेसन निर्माण गर्न तयारी थालेको छ ।
धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राईले आइसोलेसन केन्द्रको क्षमता ४० पुर्याउन आफूहरूले माग गर्दै आएको जानकारी दिएका छन् । भन्छन्, “हामीले त १०० बेड नै सञ्चालन गरौं भनेको हो तर ४० बेड बनाउन निजी क्षेत्र पनि सहयोग गर्न तयार छ ।” राईले आइसोलेसनको क्षमता विस्तार गर्न उद्योगी तथा व्यापारीहरूबाट समेत सहयोग हुने बताए ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली भन्छन्, “विराटनगरमै अधिक संक्रमण देखिएपछि हामीले आफ्नै आइसोलेसन सञ्चालन गर्नुको विकल्प थिएन । प्रदेशले बनाएका आइसोलेसन र अस्पतालमा हाम्रा नगरवासीलाई राख्न ठाउँ हुन छाड्यो । त्यही भएर हामीले तीन स्थानमा आफैं सुरु गरेका हौं ।” महानगरले नै अहिले त्यसको व्यवस्थापन गरिरहेको पराजुलीले बताए । महानगरले स्वास्थ्य चौकी बैजनाथपुर, काली सेवा सदन, होटल एसिया टिक र मारवाडी सेवा सदनमा संक्रमित राख्ने प्रबन्ध गर्दै आइसोलेसन सञ्चालन गरेको छ । यसअघि महानगरले विराटनगरको डीएभी विद्यालयमा भारतबाट आउने मानिसहरू राख्न होल्डिङ सेन्टरको व्यवस्थापन आफैं गरेको थियो ।
महानगरले अथिति सेवा सदन, राम-जानकी सेवा सदन, लक्ष्मीनारायण मन्दिर, होटल स्वागतम् र होटल प्यासिफिकमा क्वारेन्टिन सञ्चालन गरेको छ । अहिले क्वारेन्टिनमा बस्नेको संख्या न्यून छ । प्रदेश सरकारले बनाएका अस्पताल र आइसोलेन केन्द्रमा संक्रमित अट्नै छाडेपछि र स्थानीय रुपमै व्यवस्थापन गर्नुपर्ने अवस्थ आएपछि रंगेली नगरपालिकाले जनता क्याम्पसकको क्वारेन्टिनलाई नै आइसोलेसनमा रुपान्तरण गरेको छ । मेयर दिलीप बडडिया भन्छन्, “अक्जिसनको पनि व्यवस्थापन गरिसकेका छौं । खाना, व्यायाम, खाजाजस्ता कुरा नगरपालिकाले व्यवस्था गरेको छ ।”
प्रदेश १ का दुई स्थानीय तहले आफ्नै पहल र पूर्वाधारमा आइसोलेसन सञ्चालन गरेपछि अन्यत्र पनि बनाउने क्रम सुरु भएको छ । संक्रमित व्यवस्थापनमा समस्या भएपछि स्थानीय तह आफैंले आइसोलेसन बनाउन थालेपछि तहहरूका लागि हालै प्रदेश सरकारले एक करोड ६० लाख रुपैयाँ निकासा गरिदिएको थियो । मेयर पराजुली भन्छन्, “संक्रमितको व्यवस्थापन गर्न प्रदेशबाट आएको रकम पर्याप्त छैन तर संकटका बेला गरिएको सहयोगलाई सकारात्मक मान्नुपर्छ ।” यद्यपि संघीय सरकारले बनाएको कार्यविधिअनुसार आइसोलेसन सञ्चालनको जिम्मा प्रदेश सरकारमा निहीत छ ।
क्वारेन्टिन व्यवस्थापनको जिम्मा भने स्थानीय तहलाई दिइएको छ । आफ्ना वडा र बस्तीहरूमा बढेका संक्रमितलाई प्रदेश सरकारले व्यवस्थापन गरेको आइसोलेसन राख्न ढिलाइ हुने अनि समस्या हुन थालेपछि आइसोलेसन सञ्चालन गर्नुको विकल्प नरहेको स्थानीय तहका प्रमुखहरूको भनाइ छ । लक्ष्यण नदेखिने संक्रमितलाई राख्ने प्रयोजनका लागि बनाइएका आइसोलेसनमा खाना, खाजा र औषधिको व्यवस्थापन स्थानीय तहले नै गर्दै आएका छन् । सुनसरीको इटहरी उपमहानगरपालिकाले पनि आइसोलेसन सञ्चालन गर्ने तयारी थालिसकेको छ ।
विराटनगरमा संक्रमितको संख्या एक हजारभन्दा बढी भएको छ । धेरै संक्रमित होम आइसोलेसनमा छन् । प्रदेश १ मा संक्रमितको संख्या ३५९१ पुगेको छ । १६८७ जना डिस्चार्ज भई घर फर्किएका छन् । जिल्लागत रुपमा मोरङ, सुनसरी, झापा र उदयपुरमा बढी संक्रमण फैलिएको छ ।
क्याप्सन :
धनकुटाको औद्योगिक ग्राम जहाँ कोरोना संक्रमित राख्न आइसोलेसन बनाइएको छ । तस्बिर सौजन्य : विजयसन्तोषी राई