रोङ (इलाम) । राजीव तामाङ आठ वर्ष मलेसिया बसे । केही पैसा पनि कमाए । घर फर्केपछि फेरि मलेसिया जान चाहन्थे । तर, परिवारले यतै केही गर्न दबाब दियो । अन्ततः उनी यतै रोकिए ।
“गाउँमा बसौं काम गर्ने मेलो छैन, विदेश नजाउँ दैनिक जीवन धान्नै कठिन,” उनले भने, “तर, म यतै रोकिएँ । यतै केही गर्ने योजना बनाउन थालेँ ।” खासमा तामाङको जीवनलाई नयाँ ढंगले अघि बढाउन गाउँमै आएको एउटा सानो अवसरले ठूलो काम गर्यो ।
तामाङ इलामको रोङ गाउँपालिका–२, दूधेस्थित गुम्बाडाँडामा बस्छन् । बाहुबाजेले जोडिदिएको ४० रोपनी घरखेत छ । गरिखान कृषिकर्ममै जोडिन भने द्विविध धेरै थियो । तर, दुई वर्षमै अहिले परिस्थिति भिन्न भइसकेको छ । यतिबेला तामाङको खेतमा सुपारीका बोटमा फल टिप्ने बेला भएको छ ।
डाँडा र गैरीखेतमा करेलाका लहरा झुलेर फल झुन्डिएका छन् । बारीमा क्याप्सिकम, खोर्सानी, खरबुजा फलेका छन् । खुर्सानीको दल उम्रिएको छ । खोरमा उन्नत जातका बाख्रा छन् । कुखुरा, हाँस र खरायोपालन पनि गरेका छन् । श्रीमती र आमालेसमेत सहयोग गरेपछि राजीवको जीवन धान्ने आधार नै कृषि पेसा भएको छ ।
“मैले आफूसँग भएको सबै जमिन कृषि र पशुपालनमा प्रयोग गरेको छु,” उनले भने, “अघिल्लो मौसममा मात्र टमाटर बिक्रीबाट अढाई लाख रुपैयाँ आम्दानी भयो । बाख्रापालनमा लगाएको ८३ हजार रुपैयाँ उठाएर अहिले भएका सबै बाख्राको मोल जोड्ने हो भने सबै नाफा मात्र हुन् । यो सिजनमा पाँच लाख कमाउने योजना बनाएको छु । उत्पादन गर्न सके बजारमा जति पनि तकारी बेच्न सकिने रहेछ ।”
राजीवको मिहिनेतले कमाल गरेपछि रोङ गाउँपालिका–२ ले उनलाई उदाहरणीय कृषकको सूचीमा राखी हालै ५० हजार रुपैयाँ अनुदान सहयोग गरेको छ । उन्नत प्रविधिमा आधारित कृषिमा लागेकाले पनि आफू सफल किसान बन्न सकेको उनले सुनाए । किसानले बजारमा दैनिक चल्ने गरेको तरकारीको भाउ मोबाइल एप्समै हेरेर जता महंगो छ उतै बिक्री गर्न थालेका छन् । एप्सले मूल्यसूची थाहा पाउन किसानलाई सहज भएको तामाङ बताउँछन् ।
गुम्बाडाँडामा संघीय, प्रदेश, स्थानीय र स्वीस सरकारको सहयोगमा सान सिँचाइ कार्यक्रम लागु भएको छ । निकै माथिको खोलाको पानी किसानका खेतमा ल्याउन सफल भएपछि राजीव जस्ता धेरै किसानलाई पानीको समस्या टार्न मद्दत पुगेको हो ।
“जनश्रमदानसमेत गरेर हामीले पक्की नाला बनाएर १९ परिवार किसानका खेतमा पानी लग्ने व्यवस्था गर्न सफल भयौं । त्यसपछि अहिले गुम्बाडाँडाका बारीमा हरियाली छाएको छ,” उनले सुनाए । २१ लाख रुपैयाँको लागतमा दुई वर्षअघि गुम्बाडाँडा सिँचाइ योजना आएपछि अहिले त्यो क्षेत्रका किसानको जीवनस्तर सुधार गर्न मद्दत पुगेको उनले बताए ।
समितिको अध्यक्षको जिम्मेवारीमा रहेका उनका अनुसार अहिले गाउँमा मौसमी र बेमौसमी तरकारी खेती गर्ने किसान उत्साहित छन् । त्यहाँ उत्पादित तरकारी बिर्तामोड, धुलाबारी, चारआलीदेखि कोसी प्रदेशका विभिन्न क्षेत्रसम्म पुग्न थालेको छ ।
“गाउँमा सानो कूलो निर्माण गरिँदा यसले ठूलै परिवर्तन ल्याउने रहेछ भन्ने मैले नै अनुभव गरें,” तामाङले भने, “स्थानीय सरकारले बनेका संरचना जोगाउने र किसानलाई प्रविधियुक्त कृषि प्रणालीमा लगाउन सके म जस्ता धेरै मलेसिया जान नपर्ने रहेछ ।” सोही सिँचाइ समूहकी कोषाध्यक्ष नैनकला गौतमले सिचाईं सुविधाका कारण गाउँमा निकै ठूलो परितर्वन आएको बताइन् ।
रोङ गाउँपालिका–२ का वडाध्यक्ष चन्द्रशेखर घिमिरेले परम्परागत कुलोबाट पानी ल्याउँदाभन्दा नयाँ गरिएको निर्माण निकै सहयोगी भएको सुनाए । उनले भने, “यो क्षेत्रमा तरकारी बालीको राम्रो सम्भावना देखेकै कारण साना सिँचाइ प्रणालीमा हामीले पनि ध्यान दिएका हौं ।
फेरि स्थानीय कृषक नै सहभागी भई संरचना निर्माण भएका कारण त्यसको रेखदेख र मर्मतसम्भारको पनि समस्या भएको छैन । मर्मतसम्भार कोष राखिएका कारण पनि हामीलाई सजिलो छ । पालिकाले पनि कृषक समूहलाई थप सहयोग गरिरहेको छ ।”