site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसी प्रदेशका मुख्यमन्त्रीका तीनवटा घर, मन्त्रीसँग दुईवटा– कसको कति सम्पत्ति  ?

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सरकारले सार्वजनिक गरेको छ ।

मन्त्रिपरिषद् गठन भएको चार महिनापछि सरकारले आफ्नो आधिकारिक वेबसाइटमार्फत सम्पत्ति विवरण सार्वजनिक गरेको हो । 

जसअनुसार मुख्यमन्त्री हिक्मतकुमार कार्कीको तीनवटा नगरपालिकामा तीनवटा घर, जग्गाजमिन, सेयर, सुन तथा गरगहना भएको जनाइएको छ । विवरणअनुसार कार्कीको ललितपुर र झापामा तीनवटा घर छ । ललितपुरमा थप दुई घडेरी छ । 

झापाको गौरादह–१ मा दाजुसँग सगोलमा एक कट्ठा १० धुरमा बनेको दुई तल्ले पक्की घर छ । गौरादह–३ मा दाजु दीपक कार्कीसहित दुवै दाजुभाइको नाममा तीन कट्ठामा बनेको पक्की घर र टहरा छ । 

श्रीमती अन्जना पाण्डेको नाममा ललितपुरको महालक्ष्मी नगरपालिकामा घरजग्गा छ । 

Global Ime bank

यो खरिद गर्दा ९० लाख ऋण लिएको प्रकाशित विवरणमा उल्लेख गरेका छन् । ललितपुर महालक्ष्मी नगरपालिका–४ मै मुख्यमन्त्री कार्कीकी श्रीमतीको नाममा एक करोड ४० लाखमा किनेको २३२ र २८६ वर्ग मिटरका दुईवटा जग्गा छन् । 

श्रीमती अन्जना पाण्डे कार्कीको नाममा लिभरपुल एजुकेसन नेटवर्क प्रा.लि. मा २१ लाख ३८ हजार ७००, मुख्यमन्त्री कार्कीको नाममा ड्रिमल्याण्ड हाउजिङमा १० लाख र सहिद मेमोरियल अस्पतालमा एक लाख ५० हजार रुपैयाँको सेयर र विवाहको समयमा खरिद गरेको र प्राप्त गरेका ६ तोला सुन र १० तोला चाँदी पनि मुख्यमन्त्रीसँग भएको उल्लेख छ ।

मुख्यमन्त्री कार्कीसँग २३ लाखमा ऋण लिएर खरिद गरेको २०१२ मोडलको सेन्ट्रो कार छ । झापामा गौरादह कृषि तथा पशुपक्षी विकास फार्म तीन लाखमा २०७३ सालमा स्थापना गरेर सञ्चालित छ । 

पर्यटन, वन तथा वातावरणमन्त्री जीवन आचार्यसँग ललितपुर र विराटनगरमा दुई घर र जग्गाजमिन छ । 

मन्त्री आचार्यको नाममा ललितपुरको सुनाकोठी ९ (क) को ७०४ कित्ता नम्बरमा ९ आना र १२८१ कित्ता नम्बरमा १ आना २ पैसा जग्गा छ । 

त्यो जग्गामा साढे दुई तले पक्की घर छ । यता, विराटनगर महानगरपालिका वडा नम्बर १ (ख) ३१७८ कित्ता नम्बरमा १५ धुर जग्गामा साढे दुई तले पक्की घर छ । 

मोरङको साविक हात्तीमुढा गाउँपालिका वडा नम्बर ४ मा व्यावसायिक आम्दानीमार्फत २६३० वर्ग मिटर जग्गा खरिद गरेको, साविक हात्तीमुढा २ नम्बर वडामा १९४७ वर्ग मिटर जग्गा रहेको विवरणमा उल्लेख छ ।

व्यवसायिक आम्दानी स्रोत राखेर उनले हात्तीमुढाकै २ (क) मा २०३१.७१ वर्ग मिटर जग्गा तीन लाखमा खरिद गरेको उल्लेख गरेका छन् ।

मन्त्री आचार्यसँग २० तोला सुन र ५० तोला चाँदी रहेको छ । ललितपुर र विराटनगरको घर उनले पैतृक र व्यवसायीक सम्पत्तिबाट खरिद गरेको जनाएका छन् । आचार्यसँग ४५ लाख बैंक मौज्दात रहेको छ ।

उनीसँग विभिन्न कम्पनीमा ८० लाखको सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । एनस्याट प्रा.लि. काठमाडौंमा ३३ प्रतिशत सेयर ३० लाखमा र जेएमडी ग्रुप अफ कम्पनी काठमाडौंमा ५० प्रतिशत सेयर ५० लाखमा खरिद गरेको विवरणमा देखाइएको छ । 

आचार्यले आफूले ८५ लाख ऋण लिएको विवरण पेस गरेका छन् । प्रभु बैंक लैनचौर शाखाबाट पाँच लाख र दुहबी–८ का ओम थापाबाट ८० लाख रुपैयाँ ऋण लिएको उनले बुझाएको सम्पत्ति विवरणमा उल्लेख छ । आचार्यसँग ४१ लाखमा खरिद गरेको हुण्डाइ क्रेटा कार छ । 

कोसी प्रदेश सरकारका खानेपानी, सिंचाइ तथा उर्जामन्त्री तिलकुमार मेन्याङ्बोले ताप्लेजुङको पाथीभरा याङ्वरक–२ मा पैतृक सम्पत्ति रहेको उल्लेख गरेका छन् । 

श्रीमतीको नाममा फुङलिङ–४ मा पाँच रोपनी ३ आना जग्गा रहेको उनले बुझाएको विवरणमा उल्लेख गरिएको छ । मेन्याङ्बोको नाममा इटहरी ६ मा १६ धुर जग्गा रहेको छ ।

उनीसँग श्रीमती र आफ्नो गरी सात तोला सुन, विभिन्न बैंक खातामा तीन लाख ८९ हजार ५८३ रुपैयाँ नगद रहेको उल्लेख छ । मन्त्री मेन्याङ्बोसँग विभिन्न चारवटा कम्पनीमा १० कित्ताको दरले ४० कित्ता सेयर छ ।

उता, भौतिक पूर्वाधार विकासमन्त्री दुर्गाप्रसाद चापागाईंले श्रीमती इन्दिरा कार्कीको नाममा झापाको बिर्तामोड–३ मा एक कट्ठा जग्गा, मोरङ सुन्दरहरैंचा–१ मा एक विगाहा १० कट्ठा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

उनीसँग तीन तोला सुन र पाँच तोला चाँदी रहेको छ । 

विभिन्न बैंकमा गरी एक लाख ८७ हजार रुपैयाँ बैंक मौज्दात रहेको जनाइएको छ । मन्त्री चापागाईंसँग अपर खोरङ खोला जलविद्युत् आयोजनामा आफ्नो र श्रीमतीको नाममा गरी १.२५ प्रतिशत सेयर र अपर सोलुमा पनि ०.४८ प्रतिशत सेयर रहेको उल्लेख छ ।

घर बनाउन, जग्गा खरिद गर्न, सेयर खरिद गर्न र चुनाव लड्नका लागि आफूले इष्टमित्र र आफन्तजनबाट एक करोड २० लाख रुपैयाँ ऋण लिएको जनाएका छन् । 

श्रीमती इन्दिरा कार्कीको नाममा दुई लाखमा खरिद गरेको एउटा स्कुटर भएको विवरण पेस गरेका छन् ।

यस्तै, उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलासँग झापाको विर्तामोड–७ मा विभिन्न कित्तामा गरेर ३० कट्ठा पाँच धुर जग्गा पैतृक सम्पत्ति रहेको उल्लेख गरेका छन् । उनीसँग ५० तोला सुन र ५०० तोला चाँदी रहेको छ ।

यस्तै, सिटौलाले आफूसँग ३० लाखको कार र दुई लाख ५० हजारको होण्डा मोटरसाइकल रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीसँग काठमाडौं– ३२ मा १३७ वर्ग मिटर जग्गा रहेको उल्लेख गरिएको छ । उक्त जग्गा २०५८ सालमा ४६ लाख ५० हजारमा खरिद गरेको विवरणमा उल्लेख छ । 

यस्तै, पैतृक सम्पत्तिका नाममा उनले सोलुखुम्बुको सोलुदुधकुण्डको ६ नम्बर वडामा विभिन्न कित्तामा गरी १०६९२.५० वर्ग मिटर जग्गा रहेको विवरण पेस गरेका छन् ।

राजभण्डारीसँग नगद १० लाख ७६ हजार रहेको विवरणमा उल्लेख छ । उनीसँग तीन तोला सुन रहेको छ । 

यस्तै, उनीसँग विभिन्न कम्पनीमा गरेर ५६ हजार ३५० थान सेयर रहेको छ । सोलुखुम्बु ग्रुपमा ३० हजार कित्ता, बेनी हाइड्रोमा २० हजार र सोलु हाइड्रोमा पाँच हजार कित्ता शेयर रहेको उनले बुझाएको सम्पत्ति विवरणमा उल्लेख छ ।

२८ लाखमा खरिद गरेको टाटा सुमो र २४ लाख ५० हजारमा खरिद गरेको ट्याक्टर, दुई थान मोटरसाइकल र एक थान स्कुटर रहेको जनाइएको छ । मन्त्री राजभण्डारीले २० लाख रुपैयाँ ऋण देखाएका छन् ।

स्वास्थ्यमन्त्री निर्मला लिम्बूले ताप्लेजुङ फुङलिङ–६ र ललितपुरको सानो हात्तीवन जग्गामा घर रहेको सम्पत्ति विवरणमा उल्लेख गरेकी छिन् । उनले घर र जग्गाको विवरण भने खुलाएकी छैनन् । उनीसँग झापामा पनि जग्गा रहेको छ । 

यस्तै, लिम्बूसँग २२ तोला सुन रहेको र ३५ तोला चाँदी रहेको उल्लेख गरिएको छ । अलैँची व्यवसाय र उद्योगमार्फत सुनचाँदी खरिद गरेको विवरणमा उल्लेख छ । मन्त्री लिम्बूको नाममा एउटा स्कुटर र युमा कपडा उद्योग रहेको उनले पेस गरेको सम्पत्ति विवरणमा उल्लेख छ ।

कोसी प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा उर्जामन्त्री तिलकुमार मेन्याङ्बोले ताप्लेजुङको पाथीभरा याङ्वरक–२ मा पैतृक सम्पत्ति रहेको उल्लेख गरेका छन् । 

श्रीमतीको नाममा फुङलिङ–४ मा पाँच रोपनी तीन आना जग्गा रहेको उनले बुझाएको विवरणमा उल्लेख गरिएको छ । मेन्याङ्बोको नाममा इटहरी–६ मा १६ धुर जग्गा रहेको छ ।

उनीसँग श्रीमती र आफ्नो गरी सात तोला सुन, विभिन्न बैंक खातामा तीन लाख ८९ हजार ५८३ रुपैयाँ नगद रहेको उल्लेख छ । मन्त्री मेन्याङ्बोसँग विभिन्न चारवटा कम्पनीमा १० कित्ताको दरले ४० कित्ता सेयर छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  ०९:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu