site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोरोनापछि बौरियो हलेसी : तीन फरक धर्मका धर्मावलम्बी किन पुग्छन् ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

हलेसी (खोटाङ) । खोटाङको हलेसी क्षेत्र घुम्न दैनिक ठूलो संख्यामा पर्यटक पुग्न थालेका छन् । कोभिडपछि केही समय पर्यटन निकै सुस्ताएको थियो । मन्दिर बन्द थियो । तर अहिले फेरि चहलपहल बढेको छ । 

हिन्दूहरुमा हलेसी क्षेत्र महादेवको बासस्थान हो भन्ने बुझाइ रहेको पाइन्छ । तर, खासमा यो क्षेत्र तीन धर्मको एक आस्थाको केन्द्र हो । जहाँ विश्वभरका मानिस पुग्छन् । हलेसीमा तीन फरक धर्मावलम्बीको सधैँ उत्तिकै घुइँचो देख्न सकिन्छ ।

कोभिड महामारीका विभिन्न लहरसँगै सुस्त बनेको यो पर्यटकीय क्षेत्रमा चहलपहल पूर्ववत् अवस्थामा फर्केको छ । कोभिडका कारण कयौँ महिनासम्म बन्द रहेको यो क्षेत्र धार्मिक पर्यटनका लागि प्रख्यात छ । हलेसी क्षेत्र हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको संयुक्त धार्मिक पीठको रुपमा परिचित छ । तीनवटै धार्मिक क्षेत्रका श्रद्धालु हलेसी दर्शन गर्न पुग्ने गर्दछन् । त्यहाँ गुफामा ध्यान गरिरहेका बौद्ध भिक्षु, तपस्यारत किराँत गुरु अनि पूजापाठमा लिन हिन्दू पण्डितबाट एकसाथ आर्शिवाद लिने गरिन्छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

हलेसी–तुवाचुङ नगरपालिकाका अनुसार हलेसी क्षेत्रमा अहिले दैनिक एक हजारभन्दा धेरै पर्यटक पुग्न थालेका छन् । धार्मिक पर्यटनलाई नगरपालिकाले आफ्नो आम्दानीको स्रोतको रुपमा समेत विकास गर्न सकेको नगरप्रमुख विमला राईले बताएकी छन् ।

“सुस्ताएको हलेसी क्षेत्र फेरि पूर्ववत् अवस्थामा फर्किएको छ,” राईले भनिन्, “अहिले दर्शन गर्न आउनेहरुको चहलपहल निकै बढेको छ ।” नगरपालिकाले मन्दिर परिसरमै स्थापना गरेको पर्यटन सूचना केन्द्रका अनुसार हलेसीमा कोभिडपछि यस वर्ष अधिक पर्यटक पुगेका छन् । यो क्रम अहिले पनि जारी छ ।

Royal Enfield Island Ad

Mandir parisar1681037193.jpeg

भरिभराउ होटल

हलेसी क्षेत्रका पर्यटन व्यवसायीका अनुसार यहाँ होटलका कोठा धार्मिक पर्यटकको आगमनसँगै भरिभराउ छन् । यसबाट विगतमा सुस्ताएर संकटमा पुगेको व्यवसाय पुनः बढेको छ । होटल ताराका सञ्चालक सुरेश अधिकारी भन्छन्, “काठमाडौंदेखि पश्चिम नेपाल अनि भारतका विभिन्न स्थानबाट टेलिफोनबाटै होटल बुक गर्नेहरु धेरै हुन्छन् । पर्यटक बढ्न थालेपछि उनीहरुको रोजाइअनुसारको खाना र बस्ने सुविधा मिलाउन हामीलाई भ्याइनभ्याइ छ ।” 

कोभिडका कारण सुस्ताएको यहाँको होटल व्यवसाय अहिले फेरि उठेको छ । अधिकारीको होटल ‘फुल अक्युपेन्सी’मा चलिरहेको छ । २० कोठा रहेकोमा होटलमा ५० जना आगन्तुकलाई सेवा दिँदै आएका छन् ।

यहाँका १६ वटा ठूला होटलले एकै दिन एक हजार २०० पर्यटकलाई सेवा दिन सक्छन् । धेरै व्यवसायीले आफ्नै संरचनामा होटल सञ्चालन गर्दै आएका छन् । साना गेस्ट हाउसहरु पनि छन् । व्यवसायी अधिकारीका अनुसार असार र भदौमा हलेसी सुनसान जस्तै हुन्छ । यो ‘अफसिजन’ हो । 

साउन महिनाभर भने बोलबम र काबरियाको भिड हुन्छ । बिहार, पश्चिमबंगाल, यूपी, सिक्किम, भुटान र दार्जिलिङबाट धेरै पर्यटक आउँछन् । मुख्य ‘सिजन’मा दैनिक दुईदेखि चारहजार पर्यटक हलेसी भित्रने गरेको होटल व्यवसायी संघको तथ्यांक छ । “शिवरात्री र रामनवमीमा घुइँचोका कारण खुट्टा राख्ने ठाउँ हुँदैन,” अधिकारीले सुनाए ।

Halesi Gumba1681037194.jpeg

तीन धर्म एक आस्थाको केन्द्र

हलेसी तुवाचुङ नगरपालिकाले प्रकासित गरेको हलेसीसम्बन्धी जानकारी पुस्तिकामा यो क्षेत्रलाई विश्वमै एकमात्र तीन फरक धर्मको एउटै आस्थाको केन्द्रको रुपमा चित्रित गरिएको छ । त्रि–धार्मिक तीर्थधामको रुपमा हलेसीमा धर्मावलम्बीले दर्शन र पूजापाठ गर्ने गरेका छन् । हलेसीमा किराँत, हिन्दू र बौद्ध धर्मावलम्बीले साझा रुपमा दर्शन गर्छन् ।

यो क्षेत्रमा चारदेखि सात हजार वर्ष पहिलेबाट बसोबास सुरु भएको थियो । उनीहरुका पुर्खामध्ये खोक्चिलिपाले त्यही क्षेत्रबाट कृषि सम्भाव्यता सुरु गरेका थिए । उनका दुई दिदीहरु तायामा–खियामाले कपडा बुन्न सुरु गरेका थिए । तुवाचुङ भनिने त्यो स्थल हलेसी गुफाभन्दा केही माथि पर्छ । यी तीन पुर्खाले हलेसी गुफामा बसोबास गरेका थिए । यसको वर्णन मुन्धुममा पनि रहेको छ । 

लगभग दुई हजार ९०० वर्षअघि हलेसीमा किराँत राजा शङ्खोहाङले दर्शन गरेका थिए । पुर्खा बसोबास गरेको पवित्रस्थल भएकोले यो गुफालाई माङ्खिम मान्ने गर्छन् । माङ भनेको पुर्खा अनि खिम भनेको घर अर्थात पुर्खा बसेको घर । २१५ वर्षअघि हलेसीमा किराँत पुजारी मुथुर र कथुरले पूजाआजा गरेका थिए ।

हिन्दूहरुको धार्मिक विश्वासअनुसार भष्मासुरले टाउकोमा छोए, जो पनि भष्म हुने वरदान महादेवबाट प्राप्त गरे । उनले महादेवलाई नै मार्ने उद्देश्यसाथ लखेट्न थाले । महादेव भागेर हलेसी गुफामा लुक्न आए । बसाहा गुफाबाट छिरेर उनी हलेसी आए । महादेवको यो अवस्था थाहा पाएर भगवान विष्णु युवतीको रुप धारण गरी आए । भष्मासुरको अघि नाच्न थाले । मग्न भएर भष्मासुर पनि नाच्दैगर्दा आफ्नै टाउकोमा हात राखी भष्म भएर मरे । वि.सं. १८६१ मा शाहवंशीय राजा गिर्वाणयुद्धविक्रमले ताम्रपत्र प्रदान गरेर रामेछापका मनोहर गिरीलाई पुजारी नियुक्त गरेयता हलेसीमा हिन्दू धर्मअनुसार पनि पूजापाठ हुँदै आएको छ ।

बौद्ध धर्मावलम्बीका विश्वका ६ महान् तीर्थस्थलमध्ये हलेसी एक हो । यहाँँ आचार्य पद्मसम्भवले आयु र विद्याको सिद्धि प्राप्त गरेका थिए । बौद्धहरुले हलेसीलाई मारातिका भनेर पुकार गर्छन् । आठौँ शताब्दीतिर तिब्बती राजा ठिसोङ देउचनको समयकालमा साम्य विहार निर्माण गर्नेक्रममा तिब्बती मन्त्रीहरु मारातिका हुँदै काठमाडौ आएका थिए । मारातिका हुँदै फर्केका थिए । त्यसपछि बौद्धहरु हलेसी आउन थालेका छन् । विश्वभरका बौद्ध हलेसी दर्शनमा पुग्ने गर्छन् ।

मन्दिर परिसरमा अहिले पनि हिन्दू, बौद्ध र किराँत गुरुहरुले पूजाअर्चना गरिरहेका हुन्छन् । विराटनगरबाट हलेसी दर्शन गर्न पुगेका प्रभाव घिमिरेले भने, “हलेसी गुफामा तीनवटै धर्मका मानिसहरु एकसाथ दर्शन गर्न पुगेको दृश्यले हामी नेपाली धार्मिक रुपमा कति सहिष्णु छौं भन्ने देखिने रहेछ ।” आफूले हिन्दू परम्पराअनुसार पूजाअर्चना गरे पनि बौद्ध र किराँत धार्मिक गुरुबाट समेत आर्शिवाद लिएको घिमिरले सुनाए ।

कसरी जाने ?

खोटाङमा लामिडाँडा, मनमाया राई खानीडाँडा र थामखर्क विमानस्थल छन् । जहाजबाट त्यहाँ ओर्लिएर छोटो सडकमार्गबाट हलेसी पुग्न सकिन्छ । तर, विमानस्थल सुधारका क्रममा रहेकोले चलेका भने छैनन् । हलेसी पुग्न विभिन्न सडक मार्ग सञ्चालित छन् । यो क्षेत्रलाई (पुष्पलाल लोकमार्ग) मध्यपहाडी लोकमार्गले छोएको छ ।

काठमाडौंबाट २३० किलोमिटर यात्रा गरेपछि पुगिन्छ । यसका लागि खुर्कोट हुँदै सुनकोसी पुल भएको स्थान अर्थात घुर्मी पुग्नुपर्छ । विराटनगर–धरानतिरबाट सोझै पनि पुग्न सकिन्छ । छोटो दूरी तय गरी तराई क्षेत्रबाट पनि पुगिन्छ । सिरहाको मिर्चैयाबाट लगभग सय किलोमिटर यात्रा गरे पुगिन्छ । यसैगरी बर्दिबासबाट सिन्धुलीगढी हुँदै आउँदा १५० किलोमिटर यात्रा गर्नुपर्छ । भोजपुर, संखुवासभातिरबाट पनि बसको यात्रा गरी आउन मिल्छ ।

उदयपुरको गाईघाटबाट हलेसी पुग्ने सडक निर्माणाधीन छ । यसैगरी उदयपुरको कटारीबाट घुर्मी हुँदै (सुनकोसी नदी तरेर) पुग्ने बाटो पनि सञ्चालनमा छन् । तर, कच्ची सडक भएका कारण उदयपुरबाट हुने यात्रा अलि झन्झटिलो हुने गर्छ । तराईबाट धेरै मानिस यही बाटो भएर हलेसी पुग्छन् ।

पिउने पानीको चरम अभाव

नगरपालिका कार्यालयका अनुसार हलेसीमा पिउने पानीको चर्को अभाव छ । लेसी तुवाचुङ नगरपालिका जिल्ला सदरमुकामबाट पश्चिमी भेगमा करिब ४० किमिको दूरीमा अवस्थित छ । नगरपालिकाको पश्चिममा दूधकोशी नदीले ओखलढुंगा जिल्लालाई छुटयाएको छ । दक्षिणमा सुनकोशी नदीले उदयपुर जिल्लालाई छुटयाएको छ ।

त्यसैगरी दक्षिण पूर्वी भेगमा दिपु्रङ गाउँपालिका र पूर्वी भागमा रुपाकोट मुझुवागडी नगरपालिका पर्दछ । उत्तरमा लामीडाँडा गाउँपालिका पर्छ । यहाँ राई जातिहरुको बाहुल्य छ । सुख्खा क्षेत्रको रुपमा रहेको जिल्लामा ज्यादै कम पानी पर्छ । यो ठाउँ सुख्खाग्रस्त घोषित भएको छ ।

दूधकोशी नदी सुनकोशी नदीले घेरेको भए पनि कोशी आसपासका केही भागबाहेक अधिकांश भू–भाग सुख्खाग्रस्त छन् । यस भेगको खानेपानी व्यवस्थापनका लागि दूधकोशीबाट पानी तानेर उपलब्ध गराउने योजना तयारी अन्तिम चरणमा पुगेको मेयर बिमला राई बताउँछिन् ।

उनले भनिन्, “हामीले सात ठाउँमा लिफ्टिङ गरेर पिउने पानीको प्रबन्ध हुने योजना अघि सारेर काम अघि बढाइरहेका छौं । संघीय सरकारको योजना र बजेटअनुरुप काम अघि बढिरहेको छ ।” हलेसी क्षेत्रका होटल व्यवसायीका अनुसार पिउने पानीको व्यवस्थापन गर्न ट्याङ्करबाट ओसार्नु पर्ने बाध्यता छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  १०:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro