
काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले आन्दोलनको घोषणा गर्ने तयारी गरेको छ । अहिले आफूहरूको छलफलमा रहेको र आजै आन्दोलनको घोषणा गर्ने परिषद्का अध्यक्ष गंगाराम तिवारीले जानकारी दिए ।
"अहिले हामी छलफलमै छौँ । बैठक बसिरहेका छौँ, आन्दोलनको घोषणा गर्ने तयारी छ," तिवारीले भने ।
परिषद्ले नेपाल शिक्षक महासंघले सरकारसँग गरेको सहमतिप्रति असन्तुष्टि जनाएको छ । परिषद्ले कर्मचारीका विषय पनि सहमतिमा समेट्नुपर्ने र बढाउने भनिएको सेवासुविधाको रकम स्पष्ट खुलाउनुपर्ने माग राखेको छ ।
आजमात्र परिषद् र महासंघका पदाधिकारीबीच चर्काचर्की भएको थियो । सरकारसँग बुधबार सहमति भएपछि महासंघले आज मध्यबानेश्वरको रत्नराज्यलक्ष्मी माविमा समापन तथा शुभकामना कार्यक्रम राखेको थियो । तर, विद्यालय कर्मचारी परिषद्का कमर्चारी सहमतिप्रति असन्तुष्टि जनाएपछि कार्यक्रम नै स्थगित गरिएको थियो ।
सरकारसँगको सहमप्रति असन्तुष्टि जनाउँदै कर्मचारीहरूले महासंघ नेतृत्वविरुद्ध नाराबाजी गरेका थिए । विद्यालय कर्मचारीहरूले आफूहरूका माग समावेश नगरेको बताएका छन् ।