काठमाडौं । सिन्धुपाल्चोकले पुनः अर्को क्षति बेहोरेको छ । जिल्लाको उत्तरपूर्वी विकट जुगल गाउँपालिका २ मा बिहानीपख पहिरो जाँदा ३७ घरमा नराम्ररी क्षति पुगेको छ । ३८ जना पहिरोमा परी बेपत्ता भएका छन् ।
पहिरोले ८ जनालाई सख्त घाइते तुल्याएको छ । ४ जनालाई थप उपचारका लागि जिल्ला अस्पताल चौतारा पुर्याइएको छ ।
“बिहानीपख आएको पहिरोले गावैँ क्षतविक्षत तुल्याएको छ । बम पड्किएजसरी विशाल आवाजका साथ आएको पहिरो गाउँको बीचबाट पस्दा ३८ जना बेपत्ता हुन पुगेका छन्,” गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङले बाह्रखरीसँग भने ।
तामाङ जाति बसोबास गर्ने लिदीभन्दा करिब १०० मिटर माथि १५ दिनअगावै चर्किएको र धाँजा फाटेको सिर्जनाको भनाइ छ । तत्काल सबै गाउँ सार्ने अवस्था नरहेकाले उनीहरूलाई पाल–त्रिपाल, प्लास्टिक आदि उपलब्ध गराएर बस्ती नबस्न सतर्क गराइएको उनले बताइन् ।
“गाउँभन्दा केही वर सुरक्षितजस्तो ठाउँमा उहाँहरू बस्न थाल्नुभएको थियो । जोखिममा रहेका घरहरूका मानिसहरू त्यहीँ बस्नुहुन्थ्यो,” उनले भनिन् । लिदीबासी रातिराति त्रिपालमा बस्ने र बिहान पख के होला र भन्दै बस्तुभाउ स्याहार्न, खोलेपानी गर्न जाँदा पहिरोले छोपेको उनको भनाइ थियो ।
“हामीले दिएको त्रिपालमा रातिमात्रै बस्नुहुँदो रहेछ । बिहानीपख घरमै फर्कंदा भवितव्य आइपर्यो । के गर्ने कसो गर्ने हामी नै बिलखबन्दमा छौं,” उनले निरूपाय हुँदै सुनाइन् ।
२०७१ साल साउनमा इटनी र राम्चेको पहाडै खस्दा १२३ भन्दा बढी जुरेबासी बेपत्ता भएका थिए । जुरे खस्दा सुनकोसी नदी थुनिन पुगेको थियो । पुरिएकाको हाडखोरसमेत नभेटिएपछि एकमुष्ठ मृत घोषणा गरिएको थियो ।
अहिले लिदीलाई त्यस्तै आपत आइलागेको छ । पहिरोले गावैँ पुरेको खबर पाएपछि सभामुख अग्नि सापकोटासहितको टोली घटनास्थल पुगेको छ । पहिरोमा हराइरहेका खोजी भए पनि जीवितै भेटिने सम्भावना कम हुँदै गएको सिर्जनाको भनाइ छ ।