site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
स्थायी कमिटीमै मागियो ओलीको राजीनामा, कसले के भने ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । करिब दुई तिहाइ नजिक रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार सोही पार्टीका नेताहरुका कारण अप्ठेरोमा परेको छ । पूर्वप्रधानमन्त्रीसमेह रहिसकेका नेकपाका शीर्ष नेताहरुले जारी स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको खुलेरै राजीनामा माग गरेका छन् ।
शीर्ष नेताहरुको बोलीमा लय मिलाउँदै मंगलबार धारणा राख्ने अधिकांश सदस्यहरुले प्रधानमन्त्रीको तत्काल राजीनामा मागेका हुन् ।

स्थायी कमिटीको मंगलबारको बैठक एजेन्डाभन्दा बाहिर गएर प्रधानमन्त्रीको राजीनामा माग्ने अवस्थासम्म पुगेको हो । बैठकको सुरुमै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीको आलोचना गर्दै राजीनामा माग गरेका हुन् ।

केपी ओलीप्रति वामदेव गौतमको आक्रोश– तपाईंको गोटी कति बन्नु !

“अब तपाइँ हट्नुस्, भारतले होइन मैले नै हो पटक पटक हट्नूस् भनेको,” नेकपाका अध्यक्ष दाहालको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, “सरकारले डेलिभरी दिन सकेन । अब सरकारमा बस्नुको औचित्य छैन । पहिला पनि मैले राजीनामा मागेको हुँ, अहिले पनि भन्छु अब तपाइँ प्रधानमन्त्रीबाट हट्नुस् ।”
प्रधानमन्त्री ओलीले मदन जयन्तीको अवसरमा भारततर्फ संकेत गर्दै पदबाट हटाउन खोजिएको बताएका थिए । त्यसपछि दाहालले मंगलबारको बैठकमा यस्तो धारणा राखेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

स्वेच्छाचारी बन्नुभो, दुवै पदबाट राजीनामा दिनूस् : नेता नेपाल

दाहाललाई नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमसहित अधिकांश सदस्यले साथ दिएका थिए । मंगलबार १८ जना सदस्यले धारणा राखेका थिए । सरकारको सबैले आलोचना गरे पनि शीर्ष नेतासहित बहुमत सदस्यले राजीनामा माग गरेका थिए ।

“हामीले नै तपाइँलाई हटाउन खोजेको हो,” शीर्ष नेताहरुको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, “अहिले दूतावासले हटाउन खोज्यो भन्नुको कुनै अर्थ छैन । सरकारले काम गर्न सकेन । प्रधानमन्त्रीले काम गर्न सक्नुभएन ।”

Global Ime bank

बैठकमा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिए ।

प्रधानमन्त्री ओली तानाशाह बने : खनाल

बैठकपछि बाह्रखरीसँग कुरा गर्दै उनले स्थायी कमिटीमा प्रष्ट शब्दमा ओलीको राजीनामाको माग गरेको बताए ।

“यो पार्टी सम्पूर्ण नेता–कार्यकर्ता समर्थक, शुभेच्छुकले निर्माण गरेको पार्टी हो । यसलाई आफ्नो बपौती कसैले पनि ठान्नुहुँदैन,” उनले बैठकमा भनेको कुरा बाह्रखरीसँग भने, “पार्टी सर्वोपरी कुरा हो । पार्टीको सर्वोपरी नेतृत्वबिना कुनै पनि सरकारले काम गर्न सक्दैन । हामीले जनवादी क्रान्ति सम्पन्न गरेर समाजवाद निर्माण गर्ने दिशामा हामी अगाडि बढेका छौं । यो सरकारले तीन नीति तथा कार्यक्रम, तीन बजेट ल्यायो तर समाजवादको कुनै चरण पनि छैन । पुँजीवादमा चक्करमा घुम्ने कामबाहेक केपी ओलीको नेतृत्वले केही पनि गरेको छैन ।”

तपाईंबाट पार्टी र मुलुक दुवै उँभो लाग्दैन, राजीनामा दिनूस् : खनाल

ओलीले क्याबिनेट बनाउँदा, नीति, बजेट तर्जुमा गर्दा एकलौटी गरेको उनको आरोप थियो । योजना आयोग, संवैधानिक नियुक्ति, सिफारिसमा पनि ओली नेतृत्वले पार्टीलाई बाइपास गरेको, सोध्दै नसोधेको उनको आरोप थियो ।

“योजना आयोग, क्याबिनेट, नीति कार्यक्रम, बजेटमाथि पार्टीभित्र कुनै विमर्श सरसल्लाह भएन । आजसम्म जति पनि नियुक्ति, सरुवा बढुवा, सिफारिस भएका छन्, त्यसबारे पार्टीभित्र सामान्य छलफल पनि भएको थिएन,” उनले बैठमा आरोपमा चाङ प्रस्तुत गरेका थिए ।

उनले राजदूतहरू पनि आफूखुसी र एकलौटी ढङ्गबाट नियुक्ति गरिएको बताएका थिए । प्रदेशका मन्त्री, मुख्यमन्त्री बनाउँदा आफ्नो गुटबाहेक कसैलाई पनि ठाउँ नदिएको उनको आरोप थियो ।

निर्वाचन आयोगमा नेकपा एमाले दर्ताका लागि निवेदन ! कसले दिएको भन्दै प्रधानमन्त्रीसँग जवाफ माग 

“एमसीसीबारे पार्टीभित्र यत्रो बहस भयो । कार्यदल बन्यो । कार्यदलले प्रतिवेदन बनाएर बुझाएको छ,” उनले बैठकमा राखेको कुरा बाह्रखरीसँग भने, “तर, पार्टीभित्र छलफल नै भएको छैन । छलफलका लागि विषय प्रवेश नै नगराउने दुस्साहस भइरहेको छ । भ्रष्टाचारका एकपछि अर्को काण्ड भइरहेका छन् । त्यसलाई पार्टी अप्ठ्यारो पारिरहेको छ । त्यसको कुनै माने मतलब छैन । पार्टी एकीकरणमा पनि मापदण्ड, विधि र प्रक्रियाका आधारमा सम्पन्न गर्ने काम भएन । पार्टी सदस्यता लथालिङ्ग अवस्थामा छन् । कुनै पार्टी कमिटी चलेका छैनन् ।”

पार्टी र सरकारको बीचमा ठूलो समस्या भएको उनको दाबी थियो । पार्टीले सरकार सञ्चालन गर्नुपर्ने, सरकारको प्रधानमन्त्रीले सबैकाम सञ्चालन गर्न खोजेको भन्दै पार्टीमाथि सरकारको हस्तक्षेप बढेको उनको निष्कर्ष थियो ।

नेता खनालले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली तानाशाह बनेको आरोप लगाएका छन् ।

नेकपा बैठकमा चर्काचर्की, शीर्ष नेताहरुले प्रधानमन्त्रीलाई भने– अब तपाईं हट्नूस् 

स्थायी कमिटीको मङ्गलबारको बैठकमा आफ्नो रोलक्रममा बोल्दै नेता खनालले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिन भनेका हुन् । उनले ओली निरङ्कुश, तानाशाह बनेको र उनलाई पार्टी र शासन सत्तामा राखिरहे लोकतन्त्र दुर्घटनामा पर्ने सङ्केत गरेका थिए ।

“केपी ओलीमा अधिनायकवादी चरित्र हाबी भएको छ । तानाशाह बनेका छन् । यस्तो अवस्थामा पार्टी पनि उहाँको नेतृत्वमा चल्दैन । र, सरकार पनि चल्न सक्दैन,” खनालले भनेका थिए ।

यस्तो अवस्थामा प्रधानमन्त्रीले राजीनामा गर्नुको विकल्प नरहेको बताएका हुन् ।

दाहाल, नेपाल, खनाल र गौतमले मागे प्रधानमन्त्रीसँग जवाफ 

अर्का नेता नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दुवै पदबाट राजीनामा दिन सुझाव दिएका छन् । आजको स्थायी कमिटीमा बोल्दै नेता नेपालले पहिलोपल्ट मुख फोरेर राजीनामा दिन भनेका हुन् । 

“विधि, पद्धति अनुसार पार्टीमा मापदण्ड बनाएर चल्ने काम भएन । केपी ओलीले प्रधानमन्त्रीका रूपमा पनि र पार्टी अध्यक्षका रूपमा पनि विधि, पद्धतिअनुसार चल्न सक्नुभएन,” नेता नेपालले बैठकमा दृढतापूर्वक आफ्ना कुरा राखेका थिए, “तपाईं स्वेच्छाचारी ढङ्गले चल्नुभयो । अरू नेताहरूको योग्यता, क्षमतलाई पटक्कै कदर गर्नुभएन ।” प्रधानमन्त्री ओलीको दम्भ, अहमताले सीमा नाघेको पनि बताएको स्रोतको दाबी छ । उनी निकट स्थायी कमिटी सदस्यले बाह्रखरीसँग भने, “माधव नेपाल आक्रोशित रूपमा प्रस्तुत हुनुभएको थियो ।” 

माधव नेपालले राजीनामा शब्द उच्चारण नगरे पनि तपाईंले सक्नुहुन्न भन्दै बाटो प्रशस्त गर्न सुझाएका थिए । 

नेकपा स्थायी कमिटी बैठकमा जब ‘दिल्ली’ छिर्‍यो

“तपाईंको पछिल्लो अभिव्यक्तिले यो जिम्मेवारीमा रहन मिल्दैन । जे बोल्नुभयो, परराष्ट्र सम्बन्ध, कूटनीतिक मर्यादाका हिसाबले पनि बोल्न मिल्दैन । नबोल्ने कुरा बोलिसकेपछि प्रधानमन्त्री र पार्टी अध्यक्षको जिम्मेवारीमा कायम रहन मिल्दैन,” उनले भनेका थिए ।

उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी ओलीले आफूलाई फगत गोटीका रूपमा उपयोग गरेको भन्दै आक्रोशित भएका छन् ।

स्थायी कमिटीको बैठकमा बोल्दै उपाध्यक्ष गौतमले २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनदेखिको स्मरण गर्दै ओलीले फगत उपेक्षा गरेको भन्दै दुःखमनाउ गरेका थिए ।

“तपार्ईंलाई मैले सङ्कटको बेलामा साथ दिँदै आएको छु । मैले साथ नदिएको भए तपाईंले जित्नुहुन्नथ्यो । नवौं महाधिवेशन, संसदीय दल कतै पनि जित्नुहुन्नथ्यो, ” बैठकमा वामदेव गौतमले भनेको कुरा एक स्थायी कमिटी सदस्यले उद्धृत गरे, “तपाईं र मेरो बीचमा नवौं महाधिवेशनमा के सहमति भएको थियो । तर तपाईंले बिर्सनुभयो ।”

प्रधानमन्त्री ओलीले डोल्पाबाट उपनिर्वाचन लड्न हौस्याएर बदनाम गर्ने काम गरेको पनि स्मरण गरेका थिए । “डोल्पामा उठ्ने मेरो कुनै मनशाय थिएन । तपार्ईंले उठ् भन्नुभयो । तर, पछि त्यसैलाई इस्यु बनाउनुभयो,” उनले भनेका थिए, “रामवीर मानन्धरको क्षेत्रमा उठ्न पनि खोजेको थिइनँ । त्यसलाई तपाईंले ठूलो हतियार बनाउनुभयो ।”

वामदेवले ओलीलाई मित्र भएको तर नेता मान्न नसक्ने बताएका थिए । ओलीले पटकपटक धोका दिएको विश्वासघात गरेको भन्दै चरम आक्रोश पोखेका थिए ।

“पार्टीमा मिल्न सकिँदैन भने कि त एमाले माओवादी केन्द्र हुनुपर्‍यो, कि मिल्न प्रधानमन्त्रीले बाटो खोलिदिनुपर्‍यो,” उनले भनेका थिए ।

प्रधानमन्त्री ओलीको आइतबारको अभिव्यक्तिले नैतिक सङ्कट परेको बताएका थिए । “अब प्रधानमन्त्री र पार्टी अध्यक्ष रहिरहन सक्नुहुन्न । अब फेरि मलाई प्रधानमन्त्री बनाउँछु भनेर गोटी नबनाउनुस्,” उनले आक्रोशित हुँदै भने, “प्रधानमन्त्री बनाउने नै हो भने पहिले राजीनामा दिनुस् । बनाउने प्रक्रियामा मलाई सघाउनुस् ।”

वामदेवले ओलीले पार्टी विभाजन गर्न केही केटाहरूलाई लगाएर पार्टी दर्ता गर्न उक्साएको आरोप लगाएका थिए ।

“मसँग सबै सूचना छन् । त्यसमा प्रधानमन्त्रीको प्रत्यक्ष हात छ । आवश्यक परे बयान दिन सक्छु,” उनले भनेका थिए । शीर्ष चारजना नेताहरुको धारणा सुनिसकेपछि छोटो प्रतिक्रिया दिएर प्रधानमन्त्री बाहिरिएका थिए ।  उनले स्थायी कमिटी बैठकमा राखेका धारणा हुबहु दिल्लीस्थित मिडियामा पुर्‍याएको भन्दै नेताहरुप्रति कटाक्ष गरेका थिए ।

बैठकबाट बाहिरिएका अध्यक्ष ओली बैठकमा सहभागी भएनन् । अर्को बैठक बुधबार बिहानका लागि बोलाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १६, २०७७  २१:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement