site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माधव नेपालमाथिको मुद्दाबारे कानुनविद्सँग एकीकृत समाजवादीको छलफल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले कानुनविद्सँग छलफल गरेको छ । अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट दायर गरिएको मुद्दाका विषयमा शुक्रबार छलफल भएको हो ।

पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणसम्बन्धी विषयमा अख्तियारले नेपाललगायत ९३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । 

Argakhachi Cement Island Ad

मन्त्रिपरिषद्को नीतिगत निर्णय गर्ने तत्कालीन कानुनी व्यवस्था, पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणसम्बन्धी निर्णयको भावना, निर्णयपछि हालसम्मको अवस्था, त्यस प्रक्रियामा प्रयोग गरिएका कानुनी आधारलगायत विषयमा छलफल भएको बताइएको छ । 

अख्तियारको क्षेत्राधिकार, अख्तियारले मुद्दा दायर गर्नका कारण, त्यसको कानुनी उपचारबारे समीक्षा गरिएको पार्टीका महासचिव घनश्याम भुसालले जानकारी दिए । अदालतमा पुगेको विषयको निरुपण अदालतबाट नै हुने बताउँदै महासचिव भुसालले न्यायालयबाट न्याय प्राप्त हुने विश्वास व्यक्त गरे । 

आयोगले लगाएको अभियोग प्रतिरक्षाका लागि कानुनी उपचारमा जाने आधार रहेको कानुनविद्हरूले सुझाव दिएको पार्टीले जनाएको छ । 

आयोगले पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा बिहीबार अध्यक्ष नेपाललगायतविरुद्ध १८ करोड रुपैयाँभन्दा बढी बिगो मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।रासस

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  २०:४९
प्रतिक्रिया दिनुहोस्