site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेले नमान्दा गण्डकीमा प्रतिपक्षले पाएन लेखा समिति

पोखरा । सन्तुलन र नियन्त्रणका लागि पनि प्रमुख प्रतिपक्षी दललाई सार्वजनिक लेखा समिति दिइने संसदीय परम्परा गण्डकी प्रदेशमा भने पालना भएन । कांग्रेस र एमालेको दुईतिहाइ बढीको सरकारले लेखा समिति माओवादीलाई छाड्न मानेनन् ।

यसअघि कांग्रेस र माओवादीको सरकार हुँदा प्रमुख प्रतिपक्षी दलको हैसियतमा एमालेलाई उक्त समिति दिइएको थियो । एमालेका सुधिरकुमार पौडेल अहिले पनि यही समितिका सभापति छन् । तर, संघमा कांग्रेस–एमालेको संयुक्त सरकार बनेपछि गण्डकीमा पनि त्यसको प्रभाव पर्‍यो । एमालेको सहयोगमा गण्डकीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री छन् । 

माओवादी भने प्रदेश सरकारको इतिहासमा नै पहिलोपटक प्रतिपक्षी बन्न पुग्यो । प्रतिपक्षमा पुगिसकेपछि लेखा समिति आफूले पाउनुपर्ने माग माओवादीले राखेको थियो । एमालेले उक्त समिति छाड्न नमान्दा अन्ततः माओवादी सामाजिक विकास तथा कृषि समितिमा चित्त बुझाउन बाध्य बन्यो ।

Argakhachi Cement Island Ad

गण्डकी प्रदेशसभाको सामाजिक विकास तथा कृषि समिति सभापतिमा बिहीबार माओवादीकी दमयन्ती रुचाल चयन भएकी छन् । शुक्रबारलाई तोकिएको समिति निर्वाचनमा उनको एकल उम्मेदवारी परेको हो ।

एमालेले विशेषाधिकार समिति गठन गर्नुपर्ने र उक्त समिति सभापति दिएमा लेखा समिति छाड्ने भनेको थियो । तर, माओवादीले त्यसलाई अस्वीकार गरेपछि मुख्यमन्त्री पाण्डेले रिक्त समिति लिन माओवादीलाई आग्रह गरेअनुसार कृषिमा सहमत भएको हो । रुचालको प्रस्तावकमा कांग्रेसका महेश भट्टराई र समर्थक एमालेका लीलबहादुर थापामगर थिए । 

माओवादीको चुनाव चिह्नबाट निर्वाचित कृषि समितिका सभापति फणिन्द्र देवकोटाले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री उपहार पाएका थिए । एउटा दलको चुनाव चिह्न लिएर विश्वासको मत दिँदा ह्विप नमानेको उनको विषय अहिले पनि सर्वोच्चमा विचाराधीन छ ।

देवकोटा मन्त्री भएपछि एक वर्षदेखि सभापति नेतृत्वविहीन थियो । सभापति चयन गर्न गण्डकी प्रदेशसभा नियमावली २०८० बाधक भएपछि सात महिना लगाएर संशोधन गर्दै एकपटकका लागि एक महिनाभित्र सभापति चयन गर्न सकिने व्यवस्था गरिएको नियमावली गत चैत २६ मा संसद्बाट पारित भएको थियो ।

यसअघि सभापति रिक्त भएको १५ दिनभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था थियो । संशोधित नियमावली वैशाख २५ मा प्रदेश राजपत्रमा प्रकाशन भएको र जेठ २५ भित्र सभापति चयन गर्नुपर्ने व्यवस्थाले रुचाललाई चयन गरिएको हो । हालसम्म समितिको सभापतित्व ज्येष्ठ सदस्य महेन्द्रध्वज जिसीले गर्दै आएका थिए ।

गण्डकी प्रदेशसभाका चारमध्ये अर्थ विकास समितिमा कांग्रेसका भोजराज अर्याल, प्रदेश मामिला तथा कानुन समितिमा कांग्रेसकै चम्पादेवी खड्का सभापति छन् । एमालेका सुधिरकुमार पौडेल सार्वजनिक लेखा समिति सभापति छन् । ११ सदस्य रहेको कृषि समितिमा कांग्रेसका ६, एमालेका तीन र माओवादीका दुई सांसद छन् ।

नवलपुरको विनयीत्रिवेणी गाउँपालिका–३ की रुचाल दलित क्लष्टरबाट समानुपातिक सांसद हुन् । २०५५ देखि अखिल क्रान्तिकारीमा आवद्ध भएर राजनीतिक यात्रा थालेकी उनी २०५८ सालदेखि माओवादी युद्धमा सहभागी भएकी थिइन् । १३ वर्षसम्म माओवादीको पूर्णकालीन सदस्य बनिन् । २०५९ देखि २०६९ सम्म अखिल नेपाल महिला संघ क्रान्तिकारीको साविक नवलपरासी जिल्ला अध्यक्ष, २०६० मा पार्टीको जिल्ला सदस्य र २०६५ देखि हालसम्म प्रदेश सदस्यका रूपमा क्रियाशील छिन् । 

थोरै सांसद, एकजनाबाहेक सबै सुविधाको पदमा
गण्डकीमा माओवादीको चुनाव चिह्नबाट जित्ने आठजना प्रदेशसभा सदस्य छन् । तीमध्ये गोरखाबाट निर्वाचित कृष्ण धिताल सभामुख छन् । गोरखाबाटै जितेका (माओवादीको चुनाव चिह्नमा नेपाल समाजवादी पार्टीका) फणिन्द्र देवकोटाले फ्लोर क्रस गरेपछि मन्त्री उपहार पाए । उनी अहिले पनि गण्डकीको उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री छन् ।

गोरखाबाटै समानुपातिक सांसदका रूपमा संसद् छिरेकी सुशीला सिम्खडा सुरुमा प्रमुख सचेतक बनिन् भने सामाजिक विकास मन्त्री हुन सफल भइन् । संसदीय दलका नेता हरिबहादुर चुमान अघिल्लो कार्यकालमा पनि मन्त्री बने । मन्त्री नहुँदा दल नेताको सुविधा लिइरहे ।

म्याग्दीबाट विजयी रेशमबहादुर जुग्जाली पनि दुईपटक मन्त्री बनिसके । सुरुमा खगराज नेतृत्वको सरकारमा पर्यटनमन्त्री बनेका जुग्जाली सुरेन्द्रराज नेतृत्वको सरकारमा भौतिक पूर्वाधारमन्त्री बनेका हुन् । बागलुङकी कुशुम बुढामगर प्रमुख सचेतक बनेर सुविधा प्रयोग गरिरहेकी छन् ।

रुचाल पनि समिति सभापति बन्दै सुविधाको पदमा पुगेकी हुन् । आठमध्ये सातजना सुविधाको पद लिइसक्दा म्याग्दीबाट निर्वाचित हरि भण्डारी भने प्रदेशसभा सदस्य मात्रै बहाल छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  २०:४७
प्रतिक्रिया दिनुहोस्