काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ नक्सा प्रकरणपछि राष्ट्रिय–अन्तर्राष्ट्रिय शक्तिले हटाउन लागिपरेको बताएका छन् । मदन भण्डारीको ६९औं जन्मदिनका सन्दर्भमा उनको स्मृतिमा खडा गरिएको फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा नेकपा पार्टी र संसदीय दल यस्तो बहकावमा कुद्नेवाला नभएको बताए ।
प्रधानमन्त्री ओलीले चीनसँग पारवहन सम्झौता गरेपछि पहिलो कार्यकालमा राजीनामा दिन बाध्य पारिएको पनि स्मरण गरे ।
“बहस चलेको छ । अहिलेको अहिले केपी ओलीलाई नहटाई हुँदैन । पहिले यहाँहरूलाई सम्झना होला, चीनतिरबाट ट्रान्सपोर्ट, ट्रन्जिट एग्रिमेन्ट गरेपछि सरकार ढल्या थियो हामीसँग बहुमत थिएन,” उनले भने । अहिले पनि त्यही सपना देखिएको उनको भनाइ थियो ।
“संविधान संशोधन भएर नक्सा जारी भयो । अब हटाइहाल्नुपर्छ, यस्तो अपराध गर्ने केपी ओलीलाई । बाहिरबाहिर भन्न नसक्ने, भित्रभित्र कुरा हो त्यो । यस्तो अपराध गर्ने केपी ओलीलाई हटाउनुपर्छ,” उनले आरोप लगाए । दिल्लीका सञ्चारमाध्यमहरू हेर्दा सबैकुरा थाहा हुने उनको भनाइ थियो । उनले आफ्नो नेतृत्वको सरकार हटाउन राजदूतहरू सक्रिय भइरहेको, होटल–होटलमा गतिविधि भइरहेको बताए । तर, कस्तो गतिविधि भइरहेको छ भनेर प्रस्ट पारेनन् ।
“तर, नेपालको राष्ट्रियता यति कमजोर छैन, नक्सा छापेबापत, संविधानमा नक्सा सामेल गरेबापत यस देशको प्रधानमन्त्रीलाई हटाउँछु भनेर कसैले सपना देख्या छ भने आजको राष्ट्रियता त्यति कमजोर छैन । यो नसोचे पनि हुन्छ । त्यसकारण यो भ्रम हो । कोसिस गर्नेलाई गर्न दिउँ । हिजोको जस्तो होइन,” उनले भने ।
प्रधानमन्त्री ओलीले ‘कसैले प्रधानमन्त्री बन्न हतार नगरे पनि हुन्छ र आग्रहहरू नपाले पनि हुन्छ’ भनेर पार्टीभित्रका असन्तुष्ट पक्षलाई जवाफ पनि दिएका थिए ।
मलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बसिरहन मन छैन
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पदमा, सरकारमा बसिरहन मन नभएको बताएका छन् । “तर, यतिबेला म हटेँ भनेर नेपालको पक्षमा बोल्ने आँट कसैले गर्नेछैन, किनभने भोलिपल्ट बर्खास्त !” उनले भने । उनले त्यसैकारण उनले ‘आजका लागि होइन भोलिका लागि र आफ्ना लागि होइन, देशका लागि’ केपी ओलीको सरकार भएको पनि बताए ।
“हाम्रो पार्टी, हाम्रो संसदीय दल यस्तो बहकावमा कुद्नेवाला पनि छैन । यति कुरा नबुझ्ने अन्जान खेलमा सामेल हुनेवाला पनि छैन । यसको अगुवाइमा अहिलेका परिवर्तन भएका छन् । यसको पृष्ठभूमिमा जननेता मदन भण्डारीको स्पष्ट विचारबाट निर्देशित भएर यो पार्टी चलेको छ,” प्रधानमन्त्रीको भनाइ थियो । उनले संसदको स्पष्ट दुई तिहाइ हिस्सा जननेता मदन भण्डारीको विचारबाट निर्देशित भएर अगाडि बढेको पनि बताए ।
भुलचुकले नक्सा छापिएको होइन
प्रधानमन्त्री ओलीले भुलचुकले नक्सा नछापिएको बताएका छन् । ओलीले नक्सा छाप्ने र संविधानमा अंकित गर्ने कुरा ‘प्वाइन्ट अफ् नो रिटर्न हो’ भनेको स्मरण पनि गरे । “मैले भन्ने गरेको छु ‘प्वाइन्ट अफ् नो रिटर्न’ नै गरेको हो । किनकि, यस अभियानबाट हामी फिर्ता नै हुँदैनौं । ‘प्वाइन्ट अफ् रिर्टन’ राख्ने कुरै थिएन । प्वाइन्ट अफ नो रिर्टन, हामी हाम्रो भूमि फिर्ता लिन्छौं त्यसकारण ‘प्वाइन्ट अफ् रिर्टन’ चाहिएन,” उनले भने ।