
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीले संघीय संसद्मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रम स्थिरता, विकास र सुशासनका निम्ति सही रहेकाले ढुक्कका साथ समर्थन गर्न सांसदहरूलाई आग्रह गरेका छन् ।
शनिबार (वैशाख २०) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले दलको बैठकमा उनले देशमा स्थिरता र स्थायित्व कायम राख्दै सुशासनको राम्रो प्रबन्ध गरी अर्थतन्त्रलाई तीव्र गतिमा अगाडि बढाउने सरकारले लक्ष्य लिएको बताए ।
“हाम्रा नीतिहरू सही छन्, यसमा साथीहरू ढुक्कले लागे हुन्छ । संसदीय प्रक्रियामा विपक्षीले विरोधका लागि विरोध पनि गर्ने भएकाले तिनका कुरामा सत्यता छ कि भनेर लाग्नु पर्दैन,” उनले भने, “हामीले सही कुराको पक्ष दृढतापूर्वक लिनुपर्छ । हामीले विपक्षमा रहँदा सही कुराको विरोध गरेका थिएनौँ ।’’
उनले अगााडि भने, “हाम्रो दलमा वैचारिक एकता रहेको छ । स्पष्टता र दृढता हामीसँग छ । यो स्पष्टता र दृढतालाई संसद्का गतिविधिमा अझ प्रभावकारी रूपमा प्रकट गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’’
पछाडि परेको तप्कालाई माथि उठाउने गरी सरकारले काम गरिरहेको उनले उल्लेख गरे । समाजप्रति उत्तरदायी, शान्ति सुुव्यवस्थाप्रति जिम्मेवर र आमजनताप्रति जवाफदेही भएर नीति तथा कार्यक्रम ल्याएको उनले बताए ।
उनले राष्ट्रिय र मानवीय हितलाई केन्द्रमा राखेर सरकारले छिमेक तथा अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्दै आएको स्मरण गरे ।