समान प्रकृतिका घटना दोहोरिन थाले भने तिनलाई भवितव्य भनेर पन्छाउन मिल्दैन । यसैले भारतको उडिसा राज्यमा रहेको ‘कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी ९किट०’ विश्वविद्यालयमा पढ्ने नेपाली विद्यार्थीको मृत्युलाई सामान्य ‘आत्महत्या’ ठानेर नपन्छाई गम्भीर अनुसन्धान र उपयुक्त समाधान खोजिनुपर्ने देखिन्छ ।
किटमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु भएको तीन महिना पुग्दा नपुग्दै अर्की सोही विश्वविद्यालयमा पढ्ने अर्की नेपाली छात्रा प्रिसा साह पनि मृत भेटिएकी छिन् । दुवैको मृत्युलाई किटको प्रशासनले आत्महत्याको घटनाका रूपमा प्रस्तुत गरेको छ ।
नेपाल सरकारले फम्सालको मृत्युमा जस्तै घटनाको निष्पक्ष अनुसन्धानका लागि भारतसँग अनुरोध गरेको छ । नेपालकी परराष्ट्रमन्त्री र दिल्लीस्थित नेपाली राजदूतले व्यक्तिगतरूपमै घटनामा चासो राखेर भारतीय पक्षसँग निष्पक्ष छानबिनको आग्रह गरेका छन् । भारतको राष्ट्रिय मानव अधिकार आयोगलेसमेत घटनामा चासो देखाएको समाचार आएको छ ।
लम्सालको ‘आत्महत्या’मा उडिसा प्रहरीले अनुसन्धान गरेर आत्महत्याको दुरुत्साहनका कारबाहीसमेत चलाएको थियो । त्यसक्रममा किट प्रशासनले पनि नेपाली विद्यार्थीको सुरक्षामा विशेष ध्यान दिने प्रतिबद्धता जनाएको थियो । विडम्बना, किटको प्रतिबद्धता खोक्रो सिद्ध भयो र अर्की नेपाली छोरीको ज्यान गयो ।
छात्रावासमा रहेका महिला त्यसमा पनि विदेशी विद्यार्थीको भइरहेको ‘आत्महत्या’प्रति सम्बन्धित विश्वविद्यालयका साथै नेपाल र भारत सरकार तथा किटमा आफ्ना सन्तानलाई पढ्न पठाउने आमाबाबु समेत गम्भीर हुनुपर्ने देखिन्छ । समान प्रकृतिका घटना दोहोरिएकाले पनि यसलाई गम्भीर रूपमा लिनुपर्छ ।
प्रकृति लम्सालको संदिग्ध मृत्युपछि नेपाली विद्यार्थी र किट प्रशासनबीच तनाव बढेको थियो । विरोध प्रदर्शनमा उत्रेका नेपाली विद्यार्थीहरूलाई प्रशासनले छात्रावासबाट निकालेर खेदेको थियो । विश्वविद्यालय प्रशासनले माफी मागेर सुरक्षाको जिम्मा लिएपछि नेपाली विद्यार्थीहरू होस्टल फर्केका थिए । धन्न यसपटक अहिलेसम्म थप अप्रिय समाचार आएको छैन ।
आत्महत्या देखिने सबै घटना स्वेच्छिक आत्मघातमात्र हुँदैनन् । आत्महत्याका अधिकांश घटनामा बसैले विवश वा दुरुत्साहित गरेको हुनसक्छ । यस्तै, युवा विद्यार्थीले उचित मनोविमर्शको अभावमा पनि अध्ययन, निजी जीवन र सामाजिक वातावरणबीच सन्तुलन राख्न सक्तैनन् । अर्थात्, आत्महत्या जति नै वैयक्तिक देखिएपछि त्यसमा बाह्य कारक हुन्छ नै ।
विदेशको शैक्षिक संस्थामा तीन महिनाका बीचमा दुई दुई जना महिला विद्यार्थीको संदिग्ध मृत्यु हुनुले सम्बन्धित संस्था किट प्रशासनको कतै न कतै ठूलै कमजोरी रहेको स्पष्टै अनुमान गर्न सकिन्छ । त्यस्तो संस्थामा आफ्ना सन्तान पढाइरहेका अभिभावकलाई पनि यस घटनाले पक्कै चिन्तित बनाएको छ ।
यसैले भारत सरकारसँग समन्वय गरी घटनाको छानबिन नेपाल सरकारका तर्फबाट पनि गरिनु उचित हुनेछ । भारतले ‘स्वतन्त्र र निष्पक्ष’ छानबिन गर्ला तर नेपाली पक्ष पनि संलग्न भए त्यसमा विश्वसनीयता थपिनेछ । सम्भव भए नेपाल सरकारले स्वतन्त्र छानबिन गर्नुपर्छ ।
किटमा पढ्नका लागि अब नेपाली विद्यार्थी जाने कि नजाने भन्ने विषयमा अभिभावकका साथै सरकारले पनि गम्भीर समीक्षा गर्नुपर्ने देखिन्छ । किनभने समान प्रकृतिको घटना दोहोरिनु भवितव्य नभएर नियोजित अपराध पनि हुनसक्छ । जानाजान सन्तानलाई जोखिममा धकेल्ने मूर्खता नगरौँ ।
यस्तै, नेपाल सरकारले अभिभावक, मनोविमर्शदाता र सुरक्षा विद्हरूको टोली भुवनेश्वर पठाएर स्थितिको समीक्षा गर्नु आवश्यक छ । किटको सुरक्षा प्रबन्धमा चित्त नबुझे विद्यार्थीहरूको शैक्षिक सत्र खेर नजाने गरी नेपाल र भारतकै पनि अरू शैक्षिक संस्थामा स्थानान्तरण गर्ने व्यवस्था मिलाउनु उचित हुनेछ । आशा गरौँ, यसमा भारतीय पक्षले पनि सहयोग गर्नेछ ।