
काठमाडौं । सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले तीन दिने नेपाल भ्रमणमा रहँदा राजनीतिक नेताहरूसँग भेटवार्तामा व्यस्त रहे ।
उनी मंगलबार काठमाडौं आइपुगेका थिए । यो तीन दिनमा उनले राजनीतिक दलका १६ जना नेताहरूसँग छुट्टाछ्ट्टै भेटवार्ता गरे । भेटवार्ता गरेकामध्ये ९ जना नेपाली कांग्रेसका नेता थिए । यो संख्याले पनि उनले कांग्रेसलाई उच्च प्राथमिकता दिएको देखिन्छ ।
भेटवार्तामा भाजपा विदेश विभाग प्रमुख चौथाइवालेले प्रमुख दुईवटा कार्य गरेको देखिन्छ । पहिलो, नेपालको पछिल्लो राजनीतिक अवस्थाबारेमा जानकारी लिने काम उनले गरेका थिए ।
दोस्रो, भारतको जम्मू–कश्मीरको पहलगामा भएको आतंकवादी आक्रमणको घटना र त्यसले क्षेत्रीय राजनीतिक पार्ने प्रभावबारे नेपाली नेताहरूलाई बुझाउने प्रयास गरेका थिए । उक्त घटनामा एकजना नेपालीसहित २७ जना मारिएका थिए ।
मंगलबार अर्थात् वैशाख १७ गते काठमाडौं आइपुगेका उनले पहिलो भेट गृहमन्त्री तथा कांग्रेसका नेता रमेश लेखकसँग गरेका थिए । त्यो भेट सिंहदरबारस्थित गृहमन्त्रालयमा भएको थियो ।
गृहमन्त्री लेखकसँगको भेटवार्तालाई उनले ‘न्यानो भेट’को रूपमा व्याख्या गरेका छन् । सामाजिक सञ्जाल एक्स (पूर्वट्वीटर)मा भाजपा विदेश विभाग प्रमुख चौथाइवालेले लेखेका छन्, “हामीले पहलगाममा भएको आतंकवादी आक्रमणबारे छलफल गर्यौं, जसमा एक नेपाली नागरिकको पनि मृत्यु भयो । उहाँले (गृहमन्त्री लेखक) आतंकवादविरुद्धको लडाईंमा नेपाल भारतको साथ दृढतापूर्वक उभिएको आश्वासन दिनुभयो ।”
भेटमा गृहमन्त्री लेखकले भारतको जम्मु–कश्मिरमा भएको आतंकवादी आक्रमण घटनाको निन्दा गरेका थिए । मन्त्री लेखकले उक्त घटना दुःखद् भएको बताउँदै आतंकवादी हमलाविरुद्धको घटनामा नेपाल सरकार छिमेकीमित्र भारतसित रहेको स्पष्ट पारेका थिए ।
“नेपाल–भारतबीचको सम्बन्ध दृढ छ,” चौथाइवालेले गृहमन्त्री लेखकसँग भनेका थिए, “कुनै पनि विषयले मित्रवत् सम्वन्धमा असर पर्दैन ।”
भाजपा विदेश विभाग प्रमुख चौथाइवालेले नेपालको लोकतन्त्र सुदृढीकरणमा भारतीय जनता पार्टीको पूर्ण सहयोग रहने धारणा गृहमन्त्री लेखकसमक्ष राखेका थिए ।
नेपाल आइपुगेकै दिन वैशाख १७ गते चौथाइवालेले नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी श्रीमती तथा परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेटवार्ता गरेका थिए ।
“कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपालका विदेशमन्त्री आरजु राणा देउवासँगको भेट सधैँ रमाइलो हुन्छ । मैले उहाँहरूसँग पारस्परिक हितका धेरै विषयमा गहन छलफल गरे,” चौथाइवालेले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
केही वर्षअघि चौथाइवालेले आरजु राणा देउवाको हातबाट राखी बाँधेका थिए, जसको चर्चा त्यतिबेला निकै भएको थियो । कतिलाई त्यसलाई ‘राखी कूटनीति’ पनि भनेका थिए ।
“भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेसँग फलदायी भेटघाट भयो,” भेटवार्ता सकिएपछि परराष्ट्रमन्त्री राणाले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी थिइन्, “हामीले नेपाल–भारत सम्बन्धको विस्तृत समीक्षा गर्यौं र नेपाल–भारत सहकार्यलाई अझ बलियो बनाउने उपायहरूबारे छलफल गर्यौं ।”
कांग्रेसका सभापति देउवाले भने यस भेटवार्ताका विषयमा कहीँकतै केही उल्लेख गरेका छैनन् । नेपालका धेरै नेताहरूसँग चौथाइवालेले वैशाख १८ गते (बिहीबार) भेटवार्ता गरेका थिए । उक्त दिन उनले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए ।
बिहीबार नै चौथाइवालेले कांग्रेसका नेता डा. शेखर कोइराला, महामन्त्री गगन थापा, प्रवक्ता प्रकाशशरण महत र नेता उदयशमशेर राणासँग भेटवार्ता गरेका थिए ।
“कांग्रेसका महामन्त्री गगन थापासँग दिउँसोको खानामा रोचक कुराकानी भयो,” भाजपा विदेश विभाग प्रमुख चौथाइवालेले भनेका छन्, “मेरा साथी, कांग्रेसका नेता तथा नेपालको संसद्का सदस्य उदयशमशेर राणालाई भेट्न पाउँदा खुशी लाग्यो ।”
कांग्रेसका नेता राणाले सामाजिक सञ्जाल एक्समा उनलाई जवाफ दिएका थिए, “डा. विजय चौथाइवालेसँग भेटेर क्षेत्रीय तथा अन्तर्राष्ट्रिय राजनीतिमा परिवर्तनबारे कुरा गर्न पाउँदा खुशी लाग्यो । हामीले नेपाल–भारत सम्बन्धका विभिन्न पक्षहरू, भारतीय जनता पार्टी र नेपाली कांग्रेसबीचको सम्बन्ध र द्विपक्षीय सम्बन्ध प्रवद्र्धन गर्न ‘ट्रयाक टु’ कूटनीतिको महत्वपूर्ण भूमिकाबारे पनि कुरा गर्यौं ।”
चौथाइवालेले बिहीबार नै नेकपा (माओवादीको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्मासँग पनि भेटवार्ता गरेका थिए ।
“मैले काठमाडौँमा नेपालका पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेँ । पहलगाम आतंकवादी आक्रमणपछिको अवस्था ध्यानमा राख्दै हामीले वर्तमान क्षेत्रीय अवस्थाबारे विस्तृत छलफल गर्यौं,” भाजपा विदेश विभाग प्रमुख चौथाइवालेले भने ।
चौथाइवालेले दिल्ली फर्किनुअघि माओवादी केन्द्रका नेता वर्षमान पुनसँग पनि भेट गरेका छन् ।
भेटमा प्रचण्डले भारत–नेपाल द्विपक्षीय सम्बन्धलाई अझ घनिष्ट बनाउनुपर्ने आवश्यकतामा जोड दिएको उनले उल्लेख गरेका छन् । चौथाइवालेले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुर र जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पनि बिहीबार भेटवार्ता गरेका थिए ।
भाजपा विदेश विभाग प्रमुख चौथाइवालेले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । “नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीजीलाई भेटेर आपसी हितका धेरै विषयमा छलफल गर्नु सौभाग्यको कुरा थियो । उहाँले कश्मीरमा भएको आतंकवादी आक्रामणमा निर्दोष पीडितहरूको मृत्युप्रति गहिरो समवेदना व्यक्त गर्नुभयो,” चौथाइवालेले बताए ।
उनले शुक्रबार विहान अर्थमन्त्री तथा नेकपा एमालेका नेता विष्णुप्रसाद पौडेलसँग भेटवार्ता गरेका थिए । शुक्रबार नै चौथाइवालेले नेपाली कांग्रेसका नेता तथा पूर्व विदेशमन्त्री एनपी साउदसँग भेटवार्ता गरेका थिए ।