
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीले संसद्मा आफ्नो प्रस्तुति प्रभावकारी बनाउन सांसदहरूलाई निर्देशन दिएका छन् । शनिबार (वैशाख २०) बालुवाटारमा बसेको एमाले दलको बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् ।
पार्टीको मर्यादा र अनुशासन कायम राख्दै प्रस्तुति प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए । उनले सरकारले संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सही भएको बताए ।
नीति तथा कार्यक्रम विकास र समृद्धिमा केन्द्रित रहेको उनले उल्लेख गरे । उनले सांसद जिम्मेवार हुनुपर्ने भन्दै राम्रोसँग अध्ययन गरेर मात्र बोल्न निर्देशन दिए । बुँदागत रूपमा टिपेर बोल्नुपर्ने उनले बताए ।
“प्वाइन्टहरू साथीहरूले लेखेर ल्याउनुहोला बोल्ने बेलामा । लेखेका प्वाइन्टहरू बोल्नुहोला, ताकि कुरा नछुटोस्, नबिर्सियोस् भन्नका लागि,” उनले भने, “लेखेर ल्याएको बुँदाहरू प्रस्टताका साथ व्याख्या गर्न सक्ने गरी आउनुपर्यो । सिंगै वक्तव्य लेखेर ल्याए पनि हुन्छ ।”
विपक्षीले विरोध गर्ने, गलत नियतले बोल्ने भएकाले तत्काल प्रतिवाद गर्न सक्ने गरी सांसदहरूले तयारी गर्नुपर्नेमा उनले जोड दिए । “लेखेर ल्याएको वक्तव्यमा तत्काल उठेका प्रश्नको जवाफ दिन सकिँदैन, असहज हुन्छ,” उनले भने, “तत्काल उठेका कुराहरूको प्रतिवाद हामीले गर्नैपर्ने हुन्छ । हरेक सांसदहरूले गलत कुरामा उठेको खण्डनहरूमा पनि बोल्नैपर्ने हुन्छ । त्यस ढंगले आफूलाई प्रस्तुत गरेर आउनू, म साथीहरूलाई आग्रह गर्न चाहन्छु ।”
आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम सरकारले शुक्रबार (वैशाख १९) संसद्को संयुक्त बैठकमार्फत सार्वजनिक गरेको छ । नीति तथा कार्यक्रममाथि संशोधन प्रस्तावका निम्ति सांसदलाई ७२ घण्टाको समय दिइएको छ । सरकारको नीति तथा कार्यक्रमका बारेमा मिश्रित प्रतिक्रिया आएको छ । न्युज एजेन्सी नेपाल