
अस्ट्रेलिया । अस्ट्रेलियामा शनिबार आम निर्वाचन हुँदै छ । पछिल्ला दुई कार्यकाल सरकार चलाएको लेबर र प्रतीपक्ष दल लिबरल पार्टीबीच यसपटक तीव्र प्रतिस्पर्धा हुने आंकलन छ ।
पछिल्लो चुनावमा पछि परेको लिबरल पार्टी आफ्नो साख फर्काउन लागि परेको छ । सिड्नीको दक्षिण–पश्चिमको चुनावी क्षेत्र मकार्थरमा यसपटक पनि नेपाली मूलका विनोद पौडेल लिबरलको तर्फवाट सांसदको उमेदवार बनेका छन् ।
लिबरल पार्टीबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका पौडेल यसअघिको चुनावमा पनि सोही पार्टीबाट उमेदवार बनेका थिए । उनी झिनो मतले पराजित भएका थिए ।
अस्ट्रेलियामा नेपालीको आगमन करिब आधा शताब्दी भइसकेको छ । सन् २००० पछि अध्ययन, रोजगारी र व्यवसायका लागि अस्ट्रेलिया आउने नेपालीको संख्यामा उल्लेख्य वृद्धि भएको छ । यसरी नेपाली समाज बढ्दै गर्दा यहाँको स्थानीय राजनीतिमा पनि नेपालीको उपस्थिति बलियो बन्दै गएको छ ।
हाल अस्ट्रेलियामा करिब दुई लाखभन्दा बढीको संख्यामा नेपालीको बसोबास छ । नेपालीको लागि उच्च शिक्षा अध्ययनको पहिलो गन्तव्य मुलुक बनिरहेको अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीको संख्यामा नेपाल तेस्रो स्थानमा छ । यसले यहाँ नेपालीको संख्या बढ्ने क्रम तीव्र रहेको प्रष्ट पार्छ ।
अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा करिब एक लाख नेपाली बसोबास गर्दै आएका छन् । नेपालीको संख्या बढेसँगै यहाँको स्थानीय सरकार मात्र होइन मुख्य राजनैतिक दलले समेत नेपाली समाजप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ ।
काउन्सिलमा अवसर दिएर होस् अथवा संघीय निर्वाचनमा नेपालीको सहभागितालाई राजनीतिक दलले महत्व दिन थालेका छन् । विनोद यसको पछिल्लो उदाहरण हुन् ।
नेपाली मूलका विनोद यहाँको नेपाली समुदायमा परिचित नाम हो । यहाँको नेपाली समाजको हरेक गतिविधिमा आफूलाई अग्रपंतिमा उभ्याउँदै आएका छन् ।
उनलाई लिबरल पार्टीले म्याकार्थर क्षेत्रको संघीय संसद्को उमेदवार बनाएको छ । सिड्नीको दक्षिण–पश्चिम क्षेत्रमा म्याकार्थर क्षेत्र नयाँ मात्र नभएर आप्रबासीहरूको बाहुल्य क्षेत्र हो ।
यो क्षेत्रमा नेपाली समुदायको बलियो पकड रहेका कारण लिबरल पार्टीले विनोदलाई दोस्रोपटक उमेदवार बनाएको छ । यो उमेदवारी लिबरल र विनोदको मात्रै नभएर समग्र आप्रवासी समुदायको हो ।
“म निर्वाचित भएपछि हाम्रो आवाज र मागहरूले सिधै राजधानी क्यानबेरामा रहेको संसद् भवनमा स्थान पाउनेछ,” विनोद भन्छन्, “यो हाम्रा लागि एउटा सुनौलो मौका हो ।”
अस्ट्रेलियामा बामे सर्दै गरेको नेपाली समुदायमा गर्नुपर्ने धेरै काम रहेको उनी बताउँछन् । “ती काम र मागलाई परिणाममुखी बनाउन स्थानीय तहदेखि केन्द्रीय तहसम्म हाम्रो आवाज पुर्याउनुपर्छ । यदि, मैले जितेँ भने हाम्रो आवाजलाई संसद् र सरकारसम्म पुर्याउन सहज बन्ने मात्रै होइन प्रभावकारी पनि बन्ने कुरामा म ढुक्क छु,” विनोद भन्छन्, “मलाई जिताउन नेपाली समुदाय एकताबद्ध भएर लाग्न जरुरी छ । किनकि यो जित केवल एक व्यक्तिको वा एउटा पार्टीको मात्र नभएर सम्पूर्ण नेपाली समुदायको उपस्थिति र सम्मानको जित हुनेछ ।”
हालसम्म अस्ट्रेलियामा नेपाली मूलका व्यक्तिहरू राजनीतिकरूपमा चुनावको बेला मात्र उमेदवार बन्ने तर दीर्घकालीन अभियान नचलाउने कारण पछि परेको जानकारहरू बताउँछन् ।