काठमाडौं । ‘२५ दिनको शिशु लिएर सात सन्तानकी आमा सडकमा’ शीर्षकको समाचार हिजो अर्थात् बिहीबार प्रकाशित भएको थियो । समाचार पढेर लालकलाको परिवारलाई सहयोग गर्न शुक्रबार साथीहरु नरदेवीको ताम्सीपाखा पुगे । केहीले लालकलाको परिवारलाई खाने सामग्री त केहीले ग्यास किनेर दिए ।
कालीकोटमा रहेका उनका दुई छोरीका लागि पनि खानाका लागि कालीकोटका सहुजीसँग कुरा गरी खाने सामग्री उपलब्ध गराइदिन अनुरोध गरे । लालकलाको परिवारलाई सहयोग गरिरहँदा त्यही नजिकै अरु परिवार पनि हाम्रो अगाडि आए ।
चार सन्तानकी आमा सविना गमला बनाउने काम गर्थिन्, सविनाका श्रीमान् दमका रोगी छन् । बाटोमा बसेर उनी पोते बेच्थे । ठूलो छोरा कोलकातामा छ । माइलो छोरा मस्तिष्क रोगी, दैनिक औषधि खुवाउनु पर्छ ।
एक छोरा र छोरी विद्यालयमा पढ्दै छन् । लकडाउनले गर्दा काम गर्न नपाएर दैनिक छाक टार्न गाह्रो त छँदै छ त्यसमाथि छोरालाई दैनिक रु २०० को औषधि खुवाउने चिन्ताले सडकमा मद्दत खोज्दै थिए ।
तम्सिपाखमा नै ज्यामी काम गरी खाने तामाङनी दिदीको दु:ख हाम्रो नजरमा पर्यो । दस सन्तान भएपछि श्रीमान्ले छोडेर गए । तीन छोरीको बिहे भयो । बिहे गरेका तीन छोराहरुले पनि छोडेर हिँडेपछि बाँकी चार सन्तानलाई एक्लै पाल्दै छिन् ।
लकडाउन भएपछि काम गर्न नपाउँदा र पैसा नहुँदा घरमा बसे बच्चाहरुले खाना माग्छन् भनेर बाहिर भागी भागी हिँड्ने गरेको आफन्तहरुले बताए । काठमाडौंमा यस्ता परिवारहरु धेरै छन् र यस्तो परिवरहरुलाई थोरै भए पनि सहयोग गर्न धेरै सहयोगी हात अघिआउनु आवश्यक छ ।
२५ दिनकी शिशु लिएर सात सन्तानकी आमा सडकमा अलपत्र (भिडियोसहित)