काठमाडौं । कालिकोटकी लालकला काठमाडौंका गल्ली गल्लीमा केवल २५ दिनकी शिशु लिएर माग्दै हिँड्न बाध्य बनेकी छन् । लकडाउनले गर्दा बाटोमा कम्मर पेटी (बेल्ट) बेचेर जोहो टार्दै आएका श्रीमान हंस परियारले काम पाएनन् भने लालकला नवजात शिशुसहित बेसहारा हालतमा सडकमा पुगेकी छन् ।
काखमा रहेकी छोरीबाहेक हंस र लालकलाका अन्य छ सन्तान छन् । पहिलो पाँच छोरी पछि एक छोरा पाएका यी दम्पतीले सातौं सन्तान नरदेवी ताम्सीपाखाको आफ्नो सानो कोठामानै जन्माए ।
अस्पताल जानका लागि न त पैसा थियो, न आँट नै । धेरै सन्तान जन्माएको भनेर सबैले गाली गर्छन् भनेर कोठामानै सन्तान जन्माए, श्रीमान्ले सुत्केरी स्याहारे । कोठामा न त राम्रोसँग सुत्न मिल्ने ओछ्यान छ न त खानेकुरा नै । श्रीमान, श्रीमती, चार छोरी र एक छोरा त्यही कोठामा बस्छन् । छोराको उपचारका लागि दुईजना छोरी कालीकोटमै छाडेर बाँकी सन्तानलाई लिएर काठमाडौं आएकी थिइन् लालकला ।
गर्भमा रहेको सन्तानलाई जन्म दिएर कालीकोट जाने तयारीमा रहेको यो परिवार लकडाउनकै कारण काठमाडौंमा बस्न बाध्य भयो । लकडाउनको केही दिनमा आफूसँग भएको ग्यास सिलिन्डर बिक्री गरेर छोराछोरीको पेटमा माड लगाइन् ।
“कोठामा भएको ग्यास सिलिन्डर एक हजार रुपैयाँमा बेच्यौं,” लालकला परियारले भनिन्, “त्यही पैसाले केही दिनसम्म खानेकुरा किनेर खायौं । पछि एकजना चिनेको मान्छेले मकहाँ भएको सिलिन्डर लिएर जाऊ भन्नुभयो । अहिले त्यसैमा केही भएको दिन पकाएर खाने गरेका छौं ।”
उनले बाह्रखरीकर्मी सुनील प्रधानलाई आफ्नो समस्या यसरी सुनाइन् ।
...
मेरो नाम लालकला परियार हो । मेरो घर कालीकोट हो । एक छोरीको कानमा समस्या देखिएपछि औषधि गर्न काठमाडौं आएका हौं । पेटमा अर्को बच्चा थियो । श्रीमान पनि यतै भएकाले यहाँ बसेका थियौं । घर जाने भन्ने बेलामा लकडाउन भयो । पेटमा भएको बच्चा पनि वैशाख २० गते जन्मियो । दुईजना छोरी घरमा छन् । अहिले यहाँ चारजना छोरी र एक छोरा छन् । सुत्केरी भएँ । घर जान सकिएन । लकडाउन भयो । दुईजना छोरीलाई कालीकोट घरमा खानेकुरा पनि केही छैन । आमाबुबा यहीँ छौँ । छोरीहरुले पनि कालीकोटबाट फोन गरेर केही छैन भन्छन् । एकजना साहुजीलाई फोन गरेर मेरो छोरीहरुलाई एक प्याक चामल देऊ आएपछि रिन तिरौँला भनेका छौं । मसँग अहिले एउटा ग्यास सिलिन्डर छ । त्यही ग्याँसमा कसैले दिएको पकाएर खाइराखेका छौं । बाहिर जाउँ भने काम छैन । कसैले केही काम दिँदैनन् । पहिला पो बुढाले केही काम गर्नुहुन्थ्यो । कमाएर ल्याएको खान्थ्यौं ।
जता जता रासन बाँडेको छ त्यतै त्यतै जान्छौं । राहत ल्याएर खान्छौं । बुढाले बेल्ट बेच्नुहुन्थ्यो डुलेर । लकडाउन भएपछि त्यो काम पनि भएन । खल्तीको पैसा पनि सकियो अहिले त्यो बेच्न पनि पाइएको छैन । वैशाख २० गते कोठामै छोरी जन्मिइन् । छोरीलाई कोठामै पाएको हो नर्मल । अस्पताल गएनौँ । कतिधेरै बच्चा जन्माएको भन्लान् भनेर पनि गएनौं । फेरि अस्पताल जाँदा पैसा लाग्छ । त्यसैले पनि गएनौं ।
कोठामा खान र बच्चालाई खुवाउन् केही थिएन । मान्छे भेट्छ कि भनेर बिहानमा हिँडेर खानेकुराको जोहो गर्छौं । लकडाउन खुल्यो र कसैले भाडा दिएमा घरमै फर्किन्छु । घरमा भएका छोरी पनि के गरौँ मम्मी भन्छन् । आफ्नो खेतीपाती केही छैन । पहिला छोरी छोरी जन्मियो । म जचाउन पनि गइनँ । अहिलेको छोरी जन्मिदा पनि बुढाले नै स्याहार गर्नुभयो । काठमाडौंमा हाम्रो को छ र ? सुत्केरी हुँदा खाना नभएपछि हामीसँग भएको ग्यासको खाली सिलिण्डर एक हजार रुपैयाँमा बिक्री गरेका हौं । छोरीलाई ल्याक्टोजिन खुवाउन समेत पैसा छैन । अहिले माग्न हिँड्न पनि पाइँदैन । एकदम समस्यामा छौं सर ।
...
हंस गत साउनमा काठमाडौं आएका हुन् । काठमाडौंमा काम पाइने र पैसा कमाउन सकिने भन्दै उनी कालीकोटबाट काठमाडौं हान्निएका थिए । काठमाडौं आइपुगेको एक वर्ष नहुँदै उनलाई यो ठाउँ अहिले भर्खरै छाडुँ जस्तो भइरहेको छ । किनकी न यहाँ मागेर गुजारा चल्छ न त परिवार पाल्न पुग्ने काम नै पाइन्छ । त्यसमाथि कोठामा सात जनाको परिवार छ । श्रीमती, चार छोरी र एक छोरा अहिले उनीसँगै सोही कोठामा छन् ।
“छोराको आसमा छोरी छोरीको जन्म भयो,” उनले आफ्नो कहानी सुनाउँदै भने, “तीनवर्ष अघि जन्मिएको छोराको कानमा समस्या भयो भनेपछि श्रीमतीलाई पनि यतै बोलाएँ । कात्तिकमा तीनजना छोरी र एक छोरा बोकेर श्रीमती पनि काठमाडौं आइन् ।” हंसले काठमाडौंको महावौद्धबाट बेल्ट किनेर काठमाडौंका गल्ली गल्लीमा बेच्दै हिँड्थे । कहिले दिनमा १५ वटासम्म पनि बिक्री हुन्थ्यो भने कहिले बोहोनीसम्म हुँदैनथ्यो ।
“सर कहिलेकाहिँ त मैले पाँच सय पनि कमाउथेँ,” उनले भने, “कहिले बोहोनी पनि हुँदैनथ्यो । त्यो कमाएको पैसाले यत्रो परिवार पाल्नुपरेको थियो । लकडाउन भयो, त्यसपछि काम पनि पाइएन । मागेर गुजारा चलाउन पनि समस्या भयो ।”
कालीकोट पचालझरना गाउँपालिकामै सिलाइको काम गरिरहेका हंस काठमाडौंमा पैसा कमाइने लोभमा हान्निएका थिए ।
“गाउँमा सिलाउने काम गर्थेँ,” उनले भने, “साथीहरुले जाउँ भनेर आएँ । यहाँ आएपछि ठक्कर खानुपर्यो । गाडी खुल्यो भने गइहाल्ने हो । यहाँ औषधि गर्न आएको गाउँमा दुईजना बच्चा छन् । उनीहरुले के खाए होलान् भन्ने पीर परिरहेको छ ।”