site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नयाँ नक्साले मिचिएको सबै भूमि समेटेको छ ?
SkywellSkywell

‘खासमा दार्जिलिङ पनि नेपालमै पर्छ नि,’ मनोजले एक दिन आफ्नी आमासँग एक महिलाले भनेको सुने । मनोज त्यो बेला कक्षा ३ मा पढ्थे । उमेर सम्भवतः ८ वर्ष हुँदो हो । 

दार्जिलिङमा गोर्खाल्यान्डको आन्दोलन चलेको थियो । आन्दोलनमा भएको दमन सहन नसकेर केही व्यक्ति भागेर नेपाल पसेका थिए । तीमध्ये केही काम खोज्दै सिन्धुपाल्चोक आइपुगेका थिए । उनीहरू मनोज पढ्ने विद्यालयामा पढाउन थालेका थिए । ‘खासमा नेपाल र दार्जिलिङको भूभाग फरक होइन । दार्जिलिङ पनि नेपालकै भूभाग हो,’ ती शिक्षक–शिक्षिकाले भनेको सुनेपछि मनोजमा त्यसले कौतुहल सिर्जना गर्यो । 
तर कलिलो उमेर, बालवय । अहिलेजस्तो इन्टरनेट उपलब्ध थिएन । स्रोत–साधन पनि थिएन त्यसबारे धेरै बुझ्न पाएनन् । तर त्यो दिमागमा भने जरा गाडेर बसिरहेको थियो । 

चलचित्रमा रुचि थियो । त्यही पढे । आमनिर्माता तथा निर्देशकले ‘लार्जर देन लाइफ’ चलचित्र बनाइरहेका थिए । तर मनोजले विद्रोह गरेर फरकधारको आधुनिक चलचित्र बनाए । न त्यसमा बलिउड चलचित्रको सूत्र थियो न त दर्शक कसी हलमा आउँछन् भनेर बजार खिप्ने सूत्र नै । चलचित्र ‘लक्ष्य’ (०५८) त बनाए । तर त्यो ‘लक्ष्य’ ले मनोजको लक्ष्य भेटाएन ।

KFC Island Ad
NIC Asia

चलचित्रको लगानी डुब्यो । पहिलो चलचित्र नै असफल चलचित्रका रूपमा दरियो । ‘लक्ष्य’ मात्रै ढलेन । कत्रो सपना देखेर बनाएको सपनाको घर गल्र्यामगुर्लम्म ढल्यो । त्यसले मनोजलाई दियो चरम निराशा । जिन्दगीदेखि नै दिक्क लाग्न थालेको थियो । 

मनोजमा दुइटा सुन्दर पक्ष छन्, एक– उनी सधैं परिकल्पना गर्छन् । दुई– प्रश्न गर्छन् । 

Royal Enfield Island Ad

निराशाबाट गुज्रिरहेका बेला उनी आफैंले आफैंलाई प्रश्न गर्थे– यति धेरै मिहिनेत गरेर मनबाट गरेको काम किन सफल भएन ? किन मान्छेले मेरो काम र आइडियालाई मन पराएनन् ?, कतै म आफैंमा पो कमजोरी छ कि ? 

उनले आफैंले आफैंलाई जवाफ दिए– मेरो नियत र माध्यम गलत थिएन । तर भन्न खोजेको कुरा सार्थक भएन ।

उनका आफन्त दीपेन्द्र पण्डित जो टेलिभिजनमा लाइब्रेरीमा काम गर्थे । उनले एक दिन मनोजका अगाडि एउटा बन्डल ल्याएर राखिदिए । त्यो बन्डल जब खोलेर हेरे तब मनोजले देखे त्यो पत्रिकाको कटिङ नेपालको सीमा मिचिएको समाचारको कटिङ थियो । हजारौं समाचारका कटिङ थिए त्यहाँ । जब मनोजले त्यो पढे उनलाई लाग्यो– के त्यसो भए सीमा मिच्दा–मिच्दै नेपाल सकिन्छ ? 

भीमसेन थापाको वीरतापूर्ण व्यक्तित्वप्रति मनोजलाई ठूलो लगाव थियो । र आमालाई दार्जिलिङकी शिक्षिकाले ‘दार्जिलिङ त नेपालको भूमि थियो’ भन्ने भनाइले मनोजलाई हुट्हुटी जगायो । नेपालको सीमाना विगत र वर्तमान अबको मेरो मिसन हुनुपर्छ । अबको मेरो ज्ञान र सीप यसमै खर्चिनुपर्छ । 

असफलताको चरम विन्दुमा थिए मनोज । पैसा थिएन । तर पनि काम त गर्नैपर्यो । “म सँग पैसा थिएन । आमासँग २५ हजार रुपैयाँ मागेँ । र ग्रेटर नेपालको मेरो यात्रा सुरु भयो ।” ‘ग्रेटर नेपाल’ चलचित्र÷वृत्तचित्र बनाउन सीमातिर निस्किने निधो कसे । 

मेनुका श्रेष्ठ र मनोजकुमार आरसीले उनलाई बाँकी आर्थिक सहयोगको वचन दिए । त्यसले मनोजलाई थप ऊर्जा भर्यो र सुरु गरे सीमाको यात्रा । 

मनोजले यात्रा गर्नु थियो दुई ठाउँको । एक– सुगौली सन्धिभन्दा अगाडिको भूगोलको । दुई– सुगौली सन्धिपछि मिचिएको नेपाली भूभागको यात्रा । यी दुवै भूगोल नेपालले गुमाएको थियो । जसलाई मनोजले इन्चइन्च नाप्नु थियो । त्यहाँको सुगन्ध सुघ्नु थियो र जस्ताको तस्तै जनतामाझ बताउनु थियो । 

सुरुमा उनी लागे पूर्वतर्फ । हामीले सुनेको मेची नदी हाम्रो हो । तर यथार्थ अर्कै छ । भारतले मेची मिचेर निकै वर आएर खेती–किसानी गरिरहेको छ । त्यति मात्रै होइन उसले मेचीयतै आफ्नै पिलर गाडिसकेको छ । मेची मिचिएको दुःखद् घटना मनभरि बोकेर उनी पशुपतिनगरको फाँट पुगे । इलामको सीमामा नेपालीले सीमा मिच्ने भारतीयलाई कुटेर लखेटेको घटनाको कथा सुनेर उनी टिस्टासम्म पुगे । दार्जिलिङलेहरू हामी पहिला नेपाली नै हौैं भन्थे । 

जब मनोज सुस्ता पुगे । उनले थाहा पाए सीमावासी नेपाली भारतीयलाई लखेट्थे । प्रशासनसँग आफ्नो भूमि रक्षाका लागि पहल गर्न हारगुहार गर्थे । राजनीतिक दल र नेताहरूलाई आफ्नो समस्या सुनाएर रक्षार्थ बिन्ती गर्थे । उनीहरूको समस्या सुन्न सदरमुकाम र राजधानी काठमाडौंबाट सुकिलामुकिलाहरू आउँथे । तर उनीहरूको गुनासो थियो, “सीमा रक्षार्थ कसैले पहल गरेन ।” त्यसैले उनीहरू कसैलाई पनि विश्वास गर्नै छोडेको र सीमा समस्याबारे बोल्नै छोडेको मनोजले थाहा पाए । उनीहरूको आत्मविश्वासलाई जितेर उनले सूचना लिए । त्यहाँको छायांकन त्यति सहज थिएन । डुङ्गामा नदी तरेर जानुपथ्र्यो । अनि गए र खिचे । 
माओवादी—सरकारबीच द्वन्द्व थियो । हतियार बोकेका मान्छेहरूको सामना गर्नुपथ्र्यो । जब सुस्ताको दृश्य खिचेर मनोज फर्किए अनि झेल्नुपर्यो उनले समस्या । 

कस्तो समस्या ? 

“म सुस्ता पुगेर खिचेर फर्किँदै थिएँ । नेपाली प्रहरीले भारतीय प्रहरीलाई मिचिएको भूमि खिच्न एउटा नेपाली आफ्नो समूहसहित आएको छ । भारतीय प्रहरीले मनोजलाई नेपाल फर्किन दिएन । एसएसबीका उपलब्ध हाकिम आएर अवरोध गर्ने थाहा पाएपछि मैंले तत्कालीन सेनाका कर्नेल राजेन्द्र थापालाई फोन गरेर सहयोग मागेँ,” मनोज सम्झिन्छन्, “राजेन्द्र थापाले फोन गरिदिनुभयो । हामीलाई हतारहतार स्थानीयले नदी तारिदिए । थोरै मात्रै ढिलो भएर एसएसबीका हाकिमले मलाई भेटेका भए सायद मलाई गायब पनि गर्न सक्थे । माओवादी द्वन्द्व भएकाले गायब गर्न पनि सहज थियो ।”
० ० ०
सुस्तापछि मनोज जानुथियो सुदूपश्चिमको कालापानी । जुन निकै कठिन थियो । एकातिर यातायातको साधन थिएन । अर्कोतर्फ भारतीय भूमि प्रयोग गर्नुपथ्र्यो । जुन फलामको चिउरा चपाउनुसरह थियो । 
स्थानीय पत्रकार श्याम भट्टले उनलाई साथ दिए । महेन्द्रनगरबाट भारतको धार्चुला पुगेर नेपालको दार्चुला प्रवेश गरे । दार्चुलाबाट पास बनाएर पुनः भारतीय भूमि हुँदै कालापानी जानुपथ्र्यो । स्थानीयलाई मात्रै पास दिइन्थ्यो । ढाँटेर उनले पास बनाएर गन्तव्यतिर लागे । 

छाङ्ग्रु्रु हुँदै तिङकरभञ्ज्याङ पुगे । त्यहीबाट उनले गुञ्जीको छायांकन गरे । 

त्योबेला माओवादी सुरुङ युद्ध गर्ने भनिरहेका थिए । प्रशासनको उपस्थिति थिएन । माओवादीको मात्रै उपस्थिति थियो । छाङ्ग्रुको पुल तरेपछि माओवादीले स्कटिङ गर्न थाले । उनीहरूको शंका थियो, सेनाले पठाएको सुराकी हो यो । अगाडि बढ्नै दिएनन् । साँझ माओवादीको स्थानीय कमान्डर आए । 

“मलाई उनले इन्क्वारी गरे । म सीमाबारे बुझ्दै धेरै ठाउँ हिँडेको र धेरै समस्याको फेस गरिसकेकाले राष्ट्र र राष्ट्रियताबारे कडा प्रवचन दिएछु । उनी मबाट प्रभावित भएर साँझ भेडो काटेर भोज खुवाए,” मनोज नोस्टाल्जिक हुन्छन्, “उनले भने यहाँभन्दा माथि खतरा छ । कालापानी खिचेर म देशभरका जनतालाई देखाउँछु भन्ने यति ठूलो उद्देश्य लिएर आएको व्यक्तिलाई सहयोग गर्छु भनेर म सहयोग गर्छु भन्दै आफैं स्कटिङ गरेर कालापानी पुगे । र मैले कालापानी खिचेँ ।”

कालापानी त खिचे तर खिचिएको टेप कसरी सुरक्षित फर्काउने चुनौती थियो । कारण भारतले थाहा पाए टेप जफत गर्नेमा शंका थिएन । ती कमान्डरले भने, “हामी जंगलै–जंगलको बाटो भएर यो टेप सुरक्षित लगिदिन्छौं ।”

भारतीयहरूले थाहा पाएछन् घेरिहाले । मनोजले तिङ्कर भञ्ज्याङमा आएर मोक्ष चलचित्रको गीत क्यामेरामा खिचेका थिए । उनले त्यही गीत देखाएर म निर्देशक हुँ भने । तर उनीहरूले शंका गरिसकेका थिए । 
संयोग त्यहाँ गोर्खा सैनिक रहेछन् । उनले आएर मनोज निर्देशक र उनीसँग रहेका एक व्यक्ति नेपालको हिरो भएको र उनीहरूलाई आफूले चिनेको भन्दै घटना छापछुप बनाएर पठाइदिए । 

उनले एकान्त पारेर भने, “तिमीहरू किन आएको सबैलाई थाहा छ । तिमीहरू कतै नअलमली जतिसक्दो चाँडो नेपाल गइहाल । अन्यथा जे पनि हुनसक्छ ।”

त्यसपछि मनोजसहित उनको समूह दार्चुलाका लागि हिँडे । तर धार्चुलाको भूमि त प्रयोग गर्नैपथ्र्यो । के हुन सक्छ सुरक्षित उपाय ? मनोजले कञ्चनपुरको डीएसपीसँग कुरा गरे । डीएसपीले भने, “तपार्ईंको टेप सुरक्षितसाथ म महेन्द्रनगर पुर्यादिन्छु ।” 

बल्ल ढुक्क भए मनोज । 

मनोजको टेपको सुरक्षा सरकार र माओवादी दुवैले गरे । आखिर राष्ट्र र राष्ट्रियताको सवालमा सरकार होस् अथवा माओवादी सबैमा एउटै भावना रहेछ, उनले अनुभूत गरें । आज सरकारले मिचिएको भूमि समावेश गर्दै नयाँ नक्सा जारी गर्दा सरकार र प्रतिपक्षी दल एक भए । राष्ट्रियताले नै त हो उनीहरूलाई एक ठाउँमा उभ्याएको । 

“हिजो सरकार र द्वन्द्वरत पक्ष एक हुँदा मेरो क्यासेट सुरक्षित भएको थियो,” मनोज भन्छन्, “आज सत्तापक्ष र प्रतिपक्ष एक हुँदा गुमेको हाम्रो भूमि फिर्ता सम्भव छ । यसमा म साँच्चै खुसी छु । सबै मिले देशमा के हुँदैन रहेछ र भन्ने यो उदाहरण पनि हो ।”

० ० ०

टिस्टा गए मनोज । उनले थाहा पाए टिस्टाभन्दा पूर्वको अग्लो पहाड पनि पहिला नेपालकै थियो । स्थानीय भन्थे, हामी पहिला नेपाली थियौं नि । 

मनोज पश्चिममा नालापानी पुगे । त्यहाँका स्थानीय नालापानी पहिला नेपाली भूभाग थियो नि भन्दा उनीहरूको अनुहारमा सन्त्रास र खुसी दुवै देखिन्थ्यो । कारण हामी नेपाली हुँभन्दा भारतले राष्ट्रविरोधी भन्ला भन्ने त्रास नेपाली हैनौं भनौं भने भित्री मनमा नेपालको माया छ । तर जति खुसी भए पनि उनीहरू वर्तमानको यथार्थमा बाँच्न बाध्य थिए । 

मलोङको किल्ला खोज्दै–खोज्दै मनोज पुगे देउथल जहाँ भक्ति थापा लडेका थिए । त्यो किल्लाको फेदीमा नालापानीको युद्धमा नेपालका तर्फबाट लडेका एक सेनाको परिवार भेटे उनले । “त्यो परिवारले अझै पनि नेपाली भाषा बचाइराखेको छ । उनीहरूको कोठामा नेपालको झण्डा छ । नेपाली राजाहरूका तस्बिर भित्तामा टाँसिएका छन् । भक्ति थापा र बलभद्रका फोटाहरू छन्,” मनोज नोस्टाल्जिक हुँदै सुनाउँछन्, “उनीहरूको कुनै पुस्ता नेपाल आएको छैन तर उनीहरू नेपाली भाषा मजाले बोल्छन् । गुन्द्रुक बनाएर खान्छन् । मोही पार्ने ठेकी र मदानी छ । उनीहरूमा नेपालप्रतिको अगाध स्नेह देखेर म स्तब्ध भएको थिएँ । कालीको मन्दिर छ । नजिकै भक्ति थापाको शालिक छ । त्यसलाई जोगाएर बसेको छ त्यो परिवार ।”

यस्तै वीर र नेपालप्रति समर्पितहरूले गर्दा पो आज नेपाल रहेछ र हामी नेपाली छौं, मनोजले महसुस गरे । 

यस्ता थुप्रै कथा छन् जसले नेपालको इतिहास बोल्छ । वीरताको कथा भन्छ । तर खोइ हामीले यस्ता चलचित्र बनाउन सकेको ? मनोज प्रश्न गर्छन् । 
० ० ०
विसं २०६० को सुरुबाट खिच्न थालेका ‘ग्रेटर नेपाल’ को वास्तविक कथा मनोजले ०६२ को अन्तिमसम्म खिचे । काम गर्दा–गर्दै पैसा सकिन्थ्यो । फेरि जोरजाम गरेर निरन्तरता दिन्थे । १५० दिन खिचे उनले सीमा र त्यसको यथार्थ ।

‘ग्रेटर नेपाल’ सक्न चार लाख रुपैयाँ लाग्यो मनोजलाई । तर छायांकार र सम्पादकले उनलाई ठूलो सहयोग गरे । पैसाभन्दा पनि राष्ट्रियताका रूपमा हेरे उनीहरूले जसले लगानी घटायो । 

पोखराको विन्दबासिनी हलमा ‘ग्रेटर नेपाल’ लाग्यो । दर्शक हलबाट बाहिर निस्किएर भारतबिरुद्ध नाराबाजी लगाउन थाले । तीन साता चल्यो । “पोखरामा रहेका विभिन्न भारतीय संघ–संस्थाहरूले हल सञ्चालकलाई दबाब दिए । तर उनीहरूले दबाबलाई बेवास्ता गर्दै ग्रेटर नेपाल तीन साता चल्यो,” मनोज भन्छन्, “स्कुल कलेजमा यति धेरै देखाइयो र यति धेरै च्यारिटी भयो प्रतिव्यक्ति ५।१० रुपैयाँ उठाउँदा पनि चार लाख रुपैयाँमा बनेको ग्रेटर नेपालले २८ लाख रुपैयाँ उठायो । यो ६ सय प्रतिशत नाफा थियो । यो नै मेरो जीवनमा मैले बनाएकामध्ये सुपरडुपर हिट डकुमेन्ट्री चलचित्र हो ।” 

पोखरामा तीन साता चलेको ‘ग्रेटर नेपाल’ काठमाडौं लगाउने भरपूर प्रयास गरे मनोजले । कारण नेपालको इतिहास देखाउनु थियो । सीमाबारे जनतालाई जानकारी दिनुथियो । तर केही जोड चलेन । 

काठमाडौंमा जय नेपाल हलमा च्यारिटी थियो । च्यारिटीमा भिड लाग्यो । दोस्रो दिन पनि च्यारिटी हुने भयो । “हलबाहिर भारतीय गुप्तचरका मान्छेहरू आएर हल सञ्चालकलाई दबाब दिए च्यारिटी रोक्न खोजे तर तत्कालीन हलका म्यानेजरले मानेनन् ।”

पछि उनी ‘ग्रेटर नेपाल’ लिएर बेलायत गए । त्यहाँकी महारानी र प्रधानमन्त्रीलाई चिठी लेखे । हामीसँग लिएको भूमि भारतलाई किन दिएर फर्कियौं भन्ने उनको प्रश्न थियो । प्रारम्भिक उत्तर पनि आयो । तर पछि मनोज आफैंले यसलाई निरन्तरता दिन सकेनन् । 
० ० ०
मनोज अगाडि फर्किन्छन् र सुनाउँछन् दुःखको कथा । 

दुः ख ?

कालापानीबाट फर्किएपछि ‘समय’ म्यागेजिनले उनको आर्टिकल छाप्यो । त्यसपछि उनलाई खुब सोधपुछ हुन थाल्यो । कोही हाकाहाकी सोध्थे । कोही परोक्ष रूपमा । द्वन्द्वको समय थियो । चाह्यो भने सरकार र माओवादी दुवैले बेपत्ता पार्न सक्थ्यो । त्यसैले पोस्ट प्रोडक्सनको काम उनले लुकीलुकी गरे । ठाउँ सारी–सारी गरे । 

‘ग्रेटर नेपाल’ हलमा देखाउन सेन्सर पास गर्नु थियो । तर सेन्सर पास हुने सम्भावना थिएन । 

भाग्यवश ०६२÷६३ को आन्दोलनपछि सेन्सर बोर्डमा श्याम सापकोटा पनि पुगेका रहेछन् । भारतले सीमा मिचेका विषयमा फिल्म छ । भारतले नेपाली भूमि हड्पेको कथा छ । सापकोटाले भने, “सरकारले गर्नुपर्ने काम एउटा फिल्म मेकरले गरेको छ । यसलाई जसरी पनि पास गर्नुपर्छ । सहयोग स्वरूप म मेरो भत्ता लिन्न ।”

माओवादीका अर्का व्यक्ति पनि थिए बोर्डमा । उनले पनि समर्थन गरे । बोर्डले सेन्सर पासको सर्टिफिकेट दियो । 

च्यारिटी शो हुन थाले । सञ्चारमाध्यममा समाचारहरू आउन थाले । ‘ग्रेटर नेपाल’ ले दुई लाख रुपैयाँको राष्ट्रिय पुरस्कारै पायो । अघिल्लो दिन चलचित्र विकास बार्डले दुई लाख रुपैयाँको चेक दियो । 

सञ्चारमन्त्री कृष्णबहादुर महरा थिए । चलचित्रलाई स्वर्णपदक दिने निर्णय भयो । तर विडम्बना भोलिपल्ट बिहान बोर्डले मनोजलाई भन्यो, ‘तपाईंलाई दिने भनिएको स्वर्णपदक रोकिएको छ ।’

“मैले कसको दबाबमा रातारात स्वर्ण पदक दिने निर्णय रोकियो ? खोज्दै गएँ । बोर्डले माथि भन्यो । मन्त्रालय हुँदै प्रधाममन्त्रीको कार्यालयले पनि माथि भनेपछि थाहा भयो त्योमाथि कहाँ भन्ने,” मनोज सुनाउँछन्, “साह्रै लज्जास्पद भएँ म । कारण भर्खर दशक लामो क्रान्तिको नेतृत्व गरेर आएको सरकारका प्रमुख (प्रधानमन्त्री प्रचण्ड) ले एउटा डकुमेन्ट्री÷चलचित्रलाई पुरस्कृत गर्ने निर्र्णयबाट अरूकै आदेशमा पछि हट्नुपर्छ भने अरू ठुल्ठूला निर्णयमा कस्तो अवस्था होला ?”

मनोजले यो प्रश्न पनि उठाए । “पछि ‘ग्रेटर नेपाल’लाई प्रतिबन्ध लगाइयो । त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टरमा प्रदर्शन भइरहेका बेला भारतीय दूतावासका कर्मचारीसहित आएको प्रहरीले यो डकुमेन्ट्री देखाउन पाइँदैन भन्यो,” मनोज सम्झिन्छन्, “प्रेम बानियाँले एभिन्युज टेलिभिजनमा कभरेज गर्नुभयो । कसले देखाउने दिएन खोज्दै जाँदा प्रधानमन्त्रीको कार्यालयले पनि माथिको आदेश भन्ने जवाफ दियो ।”

त्यसबेला मनोज ‘दासढुङ्गा’ बनाउन थालेका थिए । त्यसैले उनी ‘ग्रेटर नेपाल’ देखाउन पाउनुपर्छ भनेरभन्दा पनि नयाँ काममै केन्द्रित भए । 

मनोजले ‘ग्रेटर नेपाल’ प्रदर्शन गर्दा ७ कक्षा देखि १२ कक्षासम्म पढ्ने धेरैले नेपालको सीमाबारे थाहा पाए । आज त्यही पुस्ता प्रखर रूपमा बोल्न सक्ने भएको छ । आज नेपालले नयाँ नक्सा जारी गर्दा सरकारलाई जनताकोे ठूलो दबाब र साथ छ । यसरी दबाब दिने युवा पुस्तालाई नेपालको सीमाबारे विस्तृत जानकारी दिन र मनोवैज्ञानिक रूपमा राष्ट्रियताका पक्षमा मनोवैज्ञानिक रूपमा तयार पार्न ‘ग्रेटर नेपाल’ को पनि केही योगदान रहेको मनोजको बुझाइ छ । चलचित्र भनेको मनोरञ्जनको साधन मात्रै हो भन्ने न्यारेटिभ बदल्दै यसले समाज रूपान्तरण गर्न मान्छेलाई मनोवैज्ञानिक रूपमा तयार पार्छ भन्ने मनोजले ‘ग्रेटर नेपाल’ पछि महसुस गरे । “चलचित्रमार्फत मेकरले समाजको यथार्थ भन्न सक्नुपर्छ । जसलाई युवा पुस्ताले आत्मसात् गर्दै समाज परिवर्तनमा आफूलाई समाहित गर्न सकून्,” उनी भन्छन्, “चलचित्रप्रतिको बुझाइ सीमित थियो । मसालेदार चलचित्र बनाइन्थ्यो । तर मैले राष्ट्रपतिको मनोविज्ञान निर्माण गर्ने मसला भेटाएँ । जसले नेपाली चलचित्रप्रति रहेको सीमित सोच भत्काएर फराकिलो बनायो ।” 

देशमा राजनीतिक समस्या ठूलो र यसलाई आमजनताले बुझ्ने गरी चलचित्रको माध्यमबाट भन्नुपर्छ भनेर उनले ‘दासढुङ्गा’ र ‘वधशाला’ बनाए । मनोजलाई सिनेमाका लागि राजनीतिक जस्तो सशक्त विषय अर्को विषय छैन भन्ने लाग्छ र विद्यमान राजनीतिलाई सिनेमाले बदल्नुपर्छ भन्ने उनको धारणा छ । जनजिविका र राष्ट्रियता जोडिएको विषयले जनतालाई छुने उनले महसुस गरेका छन् । 

सरकारले अघिल्लो साता कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गर्यो । छुटेको भूभाग समेटियो । तर के यति मात्रै हो भारतले नेपाली भूमि मिचेको जति अहिले समावेश गरियो ? मनोज सरकारसँग प्रश्न गर्छन् । 

“भारतले नयाँ नक्सा जारी गर्यो भन्दैमा नेपालले पनि हतार–हतारमा नक्सा जारी गर्ने होइन, कहाँ कति भूमि मिचिएको छ, त्यो सबै समेटेर एकैपटक जारी गर्नुपर्छ,” अन्य थुप्रै ठाउँमा भारतले नेपाली भूमि मिचेको भन्दै उनी भन्छन्, “मेरो बुझाइमा सुस्ताको धेरै भाग समेटिएको छैन । ८० भन्दा धेरै ठाउँमा मिचिएको भूभाग समेटिएको छ ? मलाई शंका लागेर सम्बन्धित निकायलाई मैले सोधिरहेको छु । मैले देखेको नेपाल यो नक्साले समेट्दैन ।”

सुगौली सन्धिसँगै नयाँ मुलुक (बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) फिर्ता गरेपछि गाडिएको जङ्गे पिलरलाई सीमा मानेर तयार पारिएको हाते नक्सा नेपालको आधिकारिक नक्सा भएको भन्दै मनोज त्यही सीमालाई आधार मान्नुपर्ने सुझाउँछन् । 

“१८६० को नक्सासँग अहिलेको नक्सा तुलना गर्दा त्यो धेरै भित्र खुम्चिएको छ । यसबारे निडर भएर आधिकारिकता खोज्नुपर्छ,” मनोज कुराकानीको बिट मार्छन्, “देशको नक्सा पटकपटक जारी गर्ने विषय होइन । आफैं पछि पर्ने काम गर्नु हुँदैन ।”
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १४, २०७७  ११:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro