काठमाडौं । नेपाल उद्योग परिसंघले नोवल कोरोना भाइरस संक्रमण प्रकोप नियन्त्रण गर्ने प्रयासमा सघाउने कार्यलाई निरन्तरता दिँदै सरकारलाई सय थान निजी सुरक्षा उपकरण पीपीई र ७५ हजार थान मास्क प्रदान गरेको छ ।
परिसंघ अध्यक्ष सतिशकुमार मोरले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई नोवल कोरोना भाइरस संक्रमणको उपचारको क्रममा स्वास्थ्यकर्मिले प्रयोग गर्ने निजी सुरक्षा उपकरण पीपीई १०० थान तथा ७५ हजार थान मास्क हस्तान्तरण गरे । हाल विदेशबाट आयात गरिएका तथा नेपालमै निर्मित सामानहरु उपलब्ध गराईएको र निकट भविष्यमै विदेशबाट सामान आयात गरि थप आवश्यक सामग्रिहरु समेत उपलब्ध गराउने मोरले बताए । अध्यक्ष मोरले स्वास्थ्य संकटको यो घडीमा संक्रमणको रोकथाममा पहिलो पंतिमा रहने स्वास्थ्यकर्मीको सुरक्षा र हौसला बढाउन सवैमा अपिल समेत गरेका छन् ।
स्वास्थ्यकर्मिले प्रयोग गर्ने निजी सुरक्षा उपकरण मित्र राष्ट्रहरुमा संकलन गरि आयातको व्यवस्था मिलाई रहेको तथा मास्क नेपालमै उत्पादन भई रहेको परिसंघले जनाएको छ । त्यस्तै संकटको यस घडीमा सवैलाई संयमित हुन र सरकारले जारी गरेका सवै निर्देशनको पालना गर्न समेत अनुरोध गरेको छ ।