पाका साहित्यकारहरूले नभोगेको त्रासदी !

पाका साहित्यकारहरूले नभोगेको त्रासदी !

देश ‘लकडाउन’मा छ । गाउँ–सहर सुनसान छ । मानिस घरघरमै छन् । कोही घरै बसेर काम गरिरहेका छन् । कोही टीभीमा समाचार हेरेर सुसूचित हुँदै छन् । कसैले मोबाइल फोनलाई आफ्नो साथी बनाएका छन् । कोठामै बसे पनि फोन सम्पर्कमा निरन्तर छन्, कोही । 

अर्थात्, सरकारको लकडाउनको निर्णयलाई स्वीकारेर घरैमा बसी कोरोना भाइरसलाई आफ्नो नजीक आउन नदिन उद्दत छन् सबै । केही दिनको कठिनाइले विश्वव्यापी फैलिएको यो महामारीलाई पन्छाउन सकिने सोचकासाथ सबै आफ्नो र आफ्नो परिवार, समाज अनि देशको सुरक्षार्थ लागेका छन् । 

यतिबेला पाका साहित्यकर्मीहरू साहित्यिक पत्रकार तथा लेखक नगेन्द्रराज शर्मा, साहित्यिक पत्रकार तथा लेखक रोचक घिमिरे र साहित्यकार तथा अन्वेषक राप्रउ पोखरेलका दिन पनि घर कोठामै बितिरहेको छ । तर यी तीनै पाका साहित्यकारसँग कुरा गर्दा तिनले आफूले अहिलेसम्म पनि यस किसिमको त्रासदपूर्ण महामारी नदेखेको बताए । करिब आठ दशकको हाराहारीमा रहेका यी साहित्यकारले यो महामारीले विश्वलाई जकडेको देख्दा आफूहरू आश्चर्यचकित भएको बताउँदै थिए ।

वरिष्ठ साहित्यिक पत्रकार तथा लेखक नगेन्द्रराज शर्मा भन्छन्, “म छक्क परेको छु, यो स्थिति देखेर । ८३ वर्षको उमेरमा यसरी घरै बस्नुपर्ने गरी फैलिएको महामारी भोग्नु परेको मलाई थाहा छैन ! एकपटक कालेराको हल्ला चलेको थियो । तर यस्तो भयावह स्थिति थिएन ।”

लेखक पत्रकार नगेन्द्रराज शर्माको दिन घरमै बित्दो छ । उनका अनुसार उनको अधिकांश समय घरमै बित्छ । उनी घरबाटै काम गर्छन् । आवश्यकता परेको समयमा मात्र घर बाहिर निस्कछन् । ‘अभिव्यक्ति’ साहित्यिक द्वैमासिक पत्रिकाका सम्पादक शर्मा उक्त पत्रिकाका लागि रचना माग्नेदेखि सम्पादनसम्मका सबै काम घरमै बसेर गर्छन् । यो आफ्नो नित्यकर्म भएको बताउँछन् । 

तर यतिबेलाको घर बसाई करले बस्नु परेकोजस्तो भएको छ । त्यसैले पनि काममा उनको त्यति ध्यान गइरहेको छैन । काम गर्ने जाँगर पनि त्यति नभएको उनी बताउँछन् । टीभी, मोबाइल र कम्प्युटरमा समय बिताउँदा बिताउँदै पनि सकस् भएको छ ।

शर्मा भन्छन्, “घर भित्र चिसो हुन्छ, घाममा बस्यो । बाहिर घाममा चर्को हुन्छ, फेरि भित्र पस्यो । फेरि भित्र चिसो हुन्छ बाहिर आयो । अनि कुनैबेला टीभी हे¥यो त कुनै बेला कम्प्युटर चलायो । यसैगरी बितिरहेको छ, लकडाउनको समय ।” तर शर्मा द्वैमासिक ‘अभिव्यक्ति’को अर्को अंकको तयारी पनि गरिरहेका छन् । उनका अनुसार त्यो उनको नित्यकर्म भएकोले त्यसमा उनको केही समय बित्छ नै । 

कुराकानीका क्रममा उनले सम्झिए, विश्व प्रशिद्ध लेखक अल्वेयर कामुको ‘प्लेग’ उपन्यास । उनले आफूले त्यो उपन्यास पढेको बताउँदै भने, “अहिले त्यही उपन्यास सम्झिरहेको छु । त्यसमा घर बसेको कुरा त छैन । तर महामारी फैलिएको त्रासयुक्त कथा छ ।”

अर्का साहित्यिक पत्रकार तथा लेखक रोचक घिमिरेको कुरा पनि शर्मासंग मिल्दोजुल्दो छ । उनको लकडाउनको दैनिकी पनि घरमा टीभी हेरेर, समाचार हेरेर र फोन आउँदा फोनमा कुरा गरेर बित्ने गरेको छ ।
उनका अनुसार समय नै घरमा बस्ने भएकाले घरमै बिते पनि कोरोना भाइरसको संक्रमणको यस त्रासद्पूर्ण वातावरणमा आफ्नो लेखपढ गर्ने जाँगर हराएर गएको छ । रोचक भन्छन्, “हुनत मेरो काम नै साहित्यिक पत्रिका ‘रचना’का लागि आएका लेख–रचनाको माँग गर्नु, आएका लेखहरूको सम्पादन गर्नु नै हो । यो काम घरै बसेर गर्दै आएको हुँ । तर यतिबेला खै जाँगर हराएको छ !” 

यस किसिमको त्रासको वातावरण उनी आजसम्म नभोगेको बताउँछन् । ७९ वर्षका रोचक घिमिरे महामारीकै कारण यसरी घरमै त्रसित भएर बस्नुपरेको यसअघिको अर्को कुनै घटना आफूलाई थाहा नभएको बताउँछन् । 

घिमिरे भन्छन्, “यस्तो अवस्था भोगेको मलाई थाहा छैन । बेलाबेलामा कर्फ्यु भोगिएको हो । कहिले काँही बन्दा–बन्दीमा पनि नपरिएको होइन । तर सरुवा रोगको महामारीको कारण लकडाउनको स्थिति जीवनमा पहिलो पल्ट भोग्दैछु ।”

घिमिरेका अनुसार उनले प्लेग रोगको चर्चा सुनेका हुन् । कहिले अन्य सरुवा रोगका विषयमा पनि सुनेका नै हुन् । तर हरेकलाई आश्चर्यचकित बनाउने गरी एकै चोटी विश्वका धेरै मुलुक लकडाउनको स्थितिमा रहेको उनी पहिलोपटक भोग्दै गरेको बताउँछन् । 

अहिलेको वातावरणकै कारण उनले ‘रचना’को आगामी अंक प्रकाशन नगर्ने मनस्थिति बनाएका छन् । उनी भन्छन्, “धेरैले समयको सदुपयोग गर्दै किताबहरू पढ्छु भनेर सामाजिक संजालमा लेखेको देखेको छुँ । तर अहिलेको समयमा पढाइ लेखाइमा मन जाला भन्ने मलाई लाग्दैन !”

अर्का साहित्यकार तथा साहित्यिक अन्वेषक राप्रउ पोखरेल पनि घरमै बसेर साहित्यिक कार्य तथा घरायसी काम गरेर दिन बिताउँदैछन् । उनी यतिबेला घरैमा बस्दा आफ्नो र समाज अनि देशलाई कोरोना भाइरसबाट बचाउन सक्ने भएकोल सबैले यसतर्फ विशेष ध्यान दिनुपर्ने बताउँछन् । 

पोखरेल भन्छन्, “म सामान्यतः घरै बसेर लेखपढ गर्ने मानिस हुँ । अहिले त सरकारले नै घरमा बस भनेको छ । यो बाध्यात्मक स्थितिमा सिंगो नेपालका जनता छन् । र, यो समयको माग पनि हो । कोरोना भाइरससँग जुध्ने यो नै उत्तम उपाय पनि हो ।”

आज पनि साहित्यकार राप्रउ पोखरेलको समय किताबहरूसँगै बितिरहेको छ । कुनैबेला दिक्क लागे करेसाबारीमा यसो अलमलिन्छन् । फेरि लेखपढमै लाग्छन् । उनी आफ्नो दैनिकी सधैको यस्तै भएको बताउँछन् । टेलिभिजन सकेसम्म कम हेर्ने पोखरेल रेडियो सुन्छन् । किनभने रेडियोले आफ्नो सिर्जनकर्मलाई कुनै असर नगर्ने उनको ठहर छ । टीभी हेर्दा लेखन रोकिन्छ । भडकिन्छ ! 

आज ७८ वर्षको उमेरसम्म आइपुग्दा उनले यस्तो डरलाग्दो अवस्था भोग्नु परेको थिएन । पोखरेल भन्छन्, “घरै बस्नुपर्ने किसिमको महामारी मैले आजसम्म भोगेको छैन । द्वितीय विश्वयुद्ध ताकाको भय र त्रासको अवस्थाका बारेमा मेरा अग्रजहरूबाट सुनेको हुँ । ‘हडकम्प’ त्यसबेलामा व्यापक थियो रे । ९० सालको भैँचालोका विषयमा पनि सुनेकै हुँ । प्रत्यक्ष देखेको थिइनँ, यस्तो महामारीको अवस्था र लकडाउनको स्थिति । त्यसबेला सुनेको यस्ताखाले अवस्था हामी अहिले भोगी रहेका छौ !”

देशको आर्थिक सामाजिक र दैनन्दिनीका सबै कार्य रोकिएको लागिरहेको यस समयमा दैनिक ज्यालादारीमा काम गरेर खाने श्रमिकहरू तिर राज्यले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।

कुराकानीको क्रममा साहित्यकार राप्रउ पोखरेल भन्छन्, “यतिबेला आफ्नो र आफ्नो परिवार, समाज र मुलुकको सुरक्षार्थ घरमै बस्नु श्रेयस्कर भएकोले सबैले घरमै बस्दा सबैको हित हुने निश्चित छ । सरकारबाट भएका निर्देशनको अनुपालन सबैबाट होस् ।”

साहित्यिक पत्रकार रोचक घिमिरे पनि घरमै बसेर यतिबेला सहयोग हुने भएकाले सबैलाई घरमै बस्न र सरकारले थालेको कदममा सहयोग गर्न आग्रह गर्छन् ।  उनी भन्छन्, “अहिले बाहिर निस्केर गफगाफ गर्ने समय होइन । बाहिर निस्कनु, भीडभाडमा जानु र गफगाफ गर्नु, आत्मघात हो ।”

अर्का साहित्यिक पत्रकार तथा लेखक नगेन्द्रराज शर्मा पनि सबैले घरै बस्नुपर्ने बताउँछन् । उनी भन्छन्, “अहिले त सन्त्रास मात्रै आएको छ, विपत्ति नै आएको छैन । तशर्थ, विपत्तिलाई रोक्न हामीले आफूलाई बचाउन जरुरी छ यतिबेला । हामीले घरमै बस्दा यो विपत्ति टरेर जानसक्छ ।” 
 

राजेश खनाल

प्रतिकृया दिनुहोस
ad