site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लगन भए नाम र दाम पोट्रेटमै 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपालमा जन्मिए पनि भारतको मुम्बईमा हुर्किएका भरत सिंह विगत १५ वर्षदेखि पोट्रेट पेन्टिङको कला प्रस्तुत गर्दै आएका छन् । भारतीय हस्ती अमिताभ बच्चनदेखि, बाल ठाकरे, रतन टाटा, शरद पवार, सचिन तेन्दुलकरलगायतका घरमा सिंहको कला सजिएका छन् ।

उनले भारतका अधिकांश चर्चित हस्तीहरूको पोट्रेट बनाइसकेका छन् । सानैदेखि चित्र कोर्ने रहर पालेका भरतले सानो छँदा पनि निकै चित्र बनाए । विद्यालयबाट फर्किएपछि झोला थन्क्याएर उनी कापी–कलम समाएर चित्र बनाउन थालिहाल्थे । “मलाई खाना नदिए पनि चल्थ्यो तर चित्र नकोरी बस्नै सक्दैनथें,” उनले विगत सम्झिए ।

हामी बिहान उठेर झ्याल खोली हेर्दा आफ्नो वरिपरि भएका सुन्दर प्रकृतिदेखि मोहित हुँदै आहा... भन्छौं । कसैकसैले त सधैं देखिरहेकै भएर त्यति वास्ता पनि नगर्ला । तर उनी जहिल्यै आफ्ना वरिपरि चित्र मात्रै देख्थे । जसलाई देख्दा पनि उनले ब्रस र रङ लिएर क्यानभासमा उतारिहाल्थे । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

धनगढीमा जन्मिएका उनी १२ वर्ष हुँदै आमाबुबाको साथ लागेर मुम्बई पुगे । यहीं चुनौती र अवसर खोजी गर्दै उनी हुर्किए । कक्षा १२ सम्मको नियमित पढाइसँगै उनले मुम्बईमा हुने चित्रकला प्रदर्शनीहरू भने कहिल्यै छुटाएनन् । 
चित्र प्रदर्शनी हेर्दै गर्दा उनले आफ्ना चित्रहरूले पनि कुनै दिन ग्यालरीमा स्थान पाओस् भन्ने सोच्थे । उनले आफ्ना चित्र ग्यालरीमा सजाएर हजारौं व्यक्तिले अवलोकन गरोस् भन्ने सपना पनि बुन्न थाले । 

Royal Enfield Island Ad

०००
चित्रहरू त धेरै कोर्थे तर उनले मनमा बुनेको त्यो सपना पूरा कसरी गर्ने भन्नेमै मग्न हुन्थे । चित्रकलाका विभिन्न विधामध्ये उनको विशेष रुचि भने पोट्रेटमै थियो । त्यही भएर उनी अरू कलाकारको प्रदर्शनी हेरेर यस विषयका किताबहरू अध्ययन गर्न थाले । सिक्दै गए अनि अहिले स्थापित पनि हुँदै छन् । 

उनी यस विधामा आफूलाई स्थापित गराउने पोट्रेट भारतका चर्चित राजनीतिज्ञ बाल ठाकरेको मान्छन् । “एकदिन मैले बाल ठाकरे साहबलाई भेटेर उहाँको पोट्रेट उहाँलाई नै दिने मौका पाएँ । त्यसबखत उहाँले राम्रो गर्नुभएछ, यसमै अघि बढ्दै जाऊ भनेर सुझाउनुभयो । उहाँको त्यो कुराले मेरो मनमा यसरी छाप बनायोे कि अबदेखि म पोट्रेटमै लाग्छु भन्ने अठोट लिएँ ।” 

भारतीय अब्बल कलाकारहरूको भीडमा आफूलाई उभ्याउन सफल हुनुको खुराक उनी मिहिनेत, लगन र धैर्यसँगै आफ्नो भाग्यलाई पनि जस दिन्छन् । यद्यपि आफूसँग खुबी र कला भएर पनि उनलाई यो परिचय बनाउन भने लामो समय लाग्यो । उनी अहिले पनि आफू संघर्षकै दौडमा रहेको बताउँछन् ।

भरत सिंहले बनाएका भारतीय हस्तीहरुका पोट्रेट ।  

०००
अरूभन्दा (पोट्रेट) मा चुनौती बढी हुने उनी बताउँछन् । पोट्रेट बनाउनु चुनौती हुने भन्दै उनले सुनाए, “मैले रतन टाटाको पोट्रेट बनाए भने त्यो गहिराइमा जानुपर्छ । रतन टाटा नै देखिनुपर्‍यो ।”
पोट्रेटमा हुबहु मान्छेको अनुहार देखिन उसको स्वभाव, छालाको रङको प्रकृतिबारे पनि अध्ययन गर्नुपर्ने उनको बुझाइ छ । यसका लागि पनि १–२ दिन अध्ययन पनि गर्नेपर्ने हुन्छ । हुन त कोही कलाकारले एकचोटि देखेकै भरमा पोट्रेट बनाउँछन् । तर अध्यय नगरी बनाएको पोट्रेट र देखेकै भरमा बनाएकोमा धेरै फरक हुने उनको भनाइ छ । उनका अनुसार यथार्थपरक पोट्रेट बन्न ६ महिना लाग्नसक्छ । 
तर, सतहमै बसेर चित्र हेर्नेबित्तिकै यो चित्र फलानोको हो भन्ने तवरमा मात्र बनाउने भए बढीमा २ दिन र कममा २–३ घण्टामा पोट्रेटलाई क्यानभासमा उतार्न सकिने उनी बताउँछन् । 

०००
उनले आफ्नो पहिलो एकल पोट्रेट प्रदर्शनी ‘आर्ट लभर्स अफ भारत’ शीर्षकमा गरिसकेका छन् । यो प्रदर्शनीमा उनले भारतीय हस्ती टिन अम्बानी, हर्ष गोयंका, गौतम सिंघानीयालगायतको अनुहारलाई क्यानभासमा उतारेका थिए । उनलाई यो पहिलो प्रदर्शनीले आगामी यात्रा उक्लने खुट्किलो बनाइदियो । लगत्तै उनले एकपछि अर्को गर्दै अहिलेसम्म १०औं एकल पोट्रेट प्रदर्शनी गरिसकेका छन् । 

कलाको कुनै मूल्य हुँदैन । तर यही क्षेत्रलाई जीवन जिउने सहाराका रूपमा अघि बढाउँदा आर्थिक कुरा पक्कै आउँछ । उनी व्यक्तिको कलासम्बन्धी ज्ञान र उसको क्षमताअनुसार मूल्य निर्धारण गर्छन् । तर पनि उनको न्यूनतम मूल्य ४–५ लाख रुपैयाँ राख्छन् ।

००० 
आजसम्म उनले हजारभन्दा बढी पोट्रेट बनाइसकेका छन् । उनी यो क्षेत्रबाट पाएको उपलब्धि भनेको रतन टाटा प्रदर्शनीमै आएर उनको कलाको प्रशंसा गरेको क्षणलाई सम्झन्छन् । “रतन टाटा साहबलाई मेरो चित्रकला प्रदर्शनीमा बोलाउने ठूलो रहर थियो । जब त्यो रहर पूरा भयो अनि बल्ल मलाई लाग्यो कि अब भने म साँच्चै कलाकार बनिसकेको छु ।” आफूले बनाएका हजारौं चित्रमध्ये टाटाको पोट्रेट उनलाई निकै मन परेको छ । 

०००
उनले ११औं प्रदर्शनीका लागि आफ्नो जन्मथलो नेपाललाई चुनेका छन् । भोलि मंगलबार बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा ४ बजेदेखि उनको ११औं एकल पोट्रेट चित्रकला प्रदर्शनी हुँदै छ । जसमा उनले नेपालका चर्चित हस्ती अनुराधा कोइराला, रविभक्त श्रेष्ठ, अनिलकेशरी शाह, हिमानी शाह, सुरज वैद्यलगायत १४ हस्तीका पोट्रेट प्रदर्शनीमा समावेश गर्दै छन् । यसका लागि उनले झन्डै एक वर्षदेखि तयारी गरेका थिए । प्रदर्शनी पाँच दिन चल्नेछ ।

नेपालमा पहिलोपटक हुन लागेको प्रदर्शनीप्रति उनी केही ‘नर्भस’ पनि छन् । “मुम्बाईमा त मैले धेरै प्रदर्शनी गरिसकें तर नेपालमा पहिलोपटक गर्न लाग्दा भने म संघर्षको अवस्थामै छु जस्तो लागिरहेको छ । यो पहिलो प्रदर्शनी होजस्तो महसुस भइरहेको छ ।” तर यति हुँदा–हुँदै पनि उनी यो प्रदर्शनीबाट प्रशंसा पाउनेमा ढुक्क छन् ।

कर्मथलो भारत बनाए पनि उनले नेपालमा कला क्षेत्रमा भएका गतिविधि चासोपूर्वक नियालिरहेका छन् । नेपालको कला क्षेत्रको बारेमा जानकारी पनि राख्छन् । नेपालमा राम्रा कलाकार थुप्रै भए पनि कलाको विकास भने सुस्त भइरहेको उनको अनुभव छ । भलै मुम्बाई जस्तो ठूलो नहोला तर निराशाजनक पनि नभएको उनले सुनाए । र, कुराको बिट मार्दै उनले ‘पोट्रेट आर्टिस्ट’ हुन लगन, धैर्य र मिहिनेत उत्तिकै खाँचो हुने उनी सुझाउँछन् । अनि भन्छन्, “आफ्नो मिहिनेत अगाडि बढाउँदै लैजाने हो भने यसमै भविष्य, नाम र दाम कमाउन सकिन्छ ।”
तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६  १८:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro