site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
जीपीएस : हनुमान लँगौटी !

बाँच्नुपर्छ, अनेक भोगिन्छ !

यस्ता भनाइ पटकपटक सुनिन्छ । कसैले केही नयाँ अनुभव गर्‍यो कि यस्ता चर्चा चलिहाल्छ ।

केही वर्र्षअघि मैले कसैबाट सुनेको थिएँ– विदेशमा अचेल गाडीले घरको ढोकामै पुर्‍याइदिन्छ । ड्राइभरले यस्तो डिभाइस चलाउँछन्, जसले पुग्नुपर्ने अमूक टोल, अमूक घरमै पुर्‍याइदिने क्षमता राख्छ ।

Argakhachi Cement Island Ad

हाम्रा लागि यो सन्दर्भ आख्यानझैँ थियो, उहिलेउहिले परी र राजकुमारको कथा पढेझैँ । ‘हो र !’ भन्नुपर्ने ।

आजको समयमा भएका भौतिक विकासले सोच्दै नसोचेको सुविधा हाम्रो भागमा पनि पर्दै आएको छ ।

कुनै कथाको अंशजस्तो सुनेको प्रसंग गत वर्ष आफैँले भोगेँ । करिब साढे दुई महिनाको अस्टे«लिया बसाइमा यस्ता कतिपय विषयले मनलाई आनन्दित तुल्यायो ।

उताबाट फर्किएको पनि एक वर्ष हुन लाग्दै छ । तथापि, कतिपय विषय प्रसंगले बेलाबेला एक्लै मुस्काउनुपर्ने बनाइदिन्छ ।

०००

अस्ट्रेलियाबाट फर्किनुभन्दा आठ/दश दिनअघि । कान्छी छोरी रिया सिड्नीको होमबुशको फ्ल्याट छोडेर सेन्ट्रल कोस्ट जाँदै थिई । उसको काम उतै मिलेको थियो ।

सिड्नीबाट करिब सवा घण्टाको ड्राइभमा पुगिन्थ्यो, कान्छीले लिएको यो कोठा । उसको डेरा सर्ने काम हामी क्यानबेराबाट सिड्नी आएपछि मात्रै भयो ।

डेरा सर्ने दिन । एउटा मिनि कन्टेनरमा सारा सामान लोड भयो । हृपेश ढुंगाना, श्रृजल प्रधान, श्रेया प्रधान, श्यामलगायत छोरीका साथीहरूको सहयोगमा सारा काम सजिलै सम्पन्न भयो ।

म र सिशम श्रृजलको गाडीमा चढ्यौँ । कान्छी र हृपेश बाबु सानो ट्रक (कन्टेनर)मा । अरूहरू आ–आफ्नो सवारीमा ।

श्रृजलले जीपीएस म्याप सेट गरे । सेन्ट्रल कोस्टको घर नम्बर टाइप गरे । र, गाडी अगाडि बढाए ।

त्यहाँ हरेक गाडीवालाले जीपीएसकै आधारमा गाडी चलाउँदा रहेछन् । सिड्नी, क्यानबेरा, ब्रिसबेन जहाँ भए पनि पद्धति उही रहेछ ।

ब्रिसबेन जाँदा अनिल दाजु (डा. अनिलकुमार शर्मा)सँग दिनभरि घुमियो । दाजुले आस्कोटबाट घुम्न जाँदा र साँझ बहिनी निमिशा (बुनु)को बसोबास रहेको केनमोर जाँदा पनि जीपीएस सेट गरेर गाडी हाँकेको देखेँ ।

सविनले पनि आफ्नो थलो नर्थलेकबाट दाजुकहाँ आस्कोट आउँदा अर्थात् सधैँ आउजाउ गरिरहने ठाउँ भए पनि म्याप सेट गरेरै पुगेको थियो ।

यसरी नै सबै हिँड्ने रहेछन् । दाजु, अमृत बाबु, हृपेश बाबु, सुदर्शन बाबु, अनिस बाबु, सविन भाइ, प्रयुस भान्जा, उदय बाबु अथवा अरू कोही किन न होस्, हरेकले म्याप सेट गरेकै हुन्थे ।

ठिक त्यसैगरी म्याप सेट गरेका थिए यतिखेर श्रृजलले । उनको गाडीले सिड्नी छोडेर राजमार्ग समाएपछि रफ्तार लियो । गाडीले सेन्ट्रल कोस्टको बाटो समायो ।

गाडीमा उनी कुरा गरिरहेका थिएनन् । कुनैकुनै बेला केही सोधे जवाफ दिन्थे । हैन भने उनको ध्यान सडकमै रहन्थ्यो । सडकमा सबै गाडी तुफानी तीव्रतामा थिए ।

मेरो ध्यान भने हाइवेसँगै स्पीड मिटरमा पनि थियो । गाडीको गति कहिले ८० त कहिले १०० भन्दा माथि पुग्थ्यो ।

म्यापले देखाएको समय र स्थानमा श्रृजलले गाडी अडाए । ठ्याक्कै तोकिएको घर नम्बरअघिल्तिर हामी खडा थियौँ । मेरो मोबाइलको डिस्प्ले स्क्रिन लेखेको देखियो, ‘गोरोकन’ । सायद त्यो ठाउँको नाम थियो ।

न कसैलाई सोध्नुपर्‍यो न त कतै अलमलिनु नै पर्‍यो । त्यहाँ जेजति गरिरहेको थियो, त्यही जीपीएस सिस्टमले गरिरहेको थियो ।

यी यावत् भोगाइ मेरा लागि स्मरणीय रह्यो । किनभने, मैले त्यस्तो कहिल्यै भोगेकै थिइनँ ।

त्यसो त काठमाडौंमा पठाओ या इनड्राइभ नचढेको होइन, तर कतिपय अवस्थामा राइडर भन्छन्, “सरले ठाउँ देख्नुभएको छ नि ?”

अनि, ‘छुु’ भन्यो र उसको म्याप खुले पनि उसलाई बाटो देखाउँदै हिँड्यो । यो भोगाइ र त्यो भोगाइमा अन्तर त हुने नै भयो ।

केही साताअघि धार्मिक यात्रामा हामी पुनपुन, गया, बनारस, हरिद्वार र बद्रीनारायणतर्फ थियौँ ।

नेपालबाटै एउटा १२ सिटे भ्यान लिएर हिँडेका हामीले सयचोटिभन्दा बढी त जानुपर्ने ठाउँको बाटो सोध्यौँ, झ्यालबाट घाँटी तन्काई तन्काई, “भाइ साहब ! बनारसका रास्ता कौन सा है ! हरिद्वारका रास्ता कौन सा है !”

यही सोधाइ र गलत जानकारीले गर्दा हामीले दुई रात अनाहकमा राजमार्गछेउको लज–होटेलमा बिताउनुपर्‍यो । यदि, हाम्रो गाडीका चालक भाइ सुरेशले पनि म्यापलाई पछ्याएको भए दुई रात सायद खेर जान्थेन होला ।

गाडी राम्ररी चलाए पनि उनलाई नआउने हिन्दी भाषा, चलाउन नजान्ने म्याप सिस्टमले हामीलाई केही दुःख दिएकै हो ।

खैर, यो एक किसिमको भोगाइ थियो । त्यो पनि एउटा भोगाइ नै थियो ।

०००

एउटा अर्को भोगाइ, जुन मेरो मानसपटलमा आज पनि सिनेमाका दृश्यजस्तै घुमिरहेको छ ।

आजभन्दा चार दशकअगाडिको प्रसंग हो यो । त्यसबखत मेरो दौडाहा कहिले जलेश्वर त कहिले भलुवाही भइरहन्थ्यो । एकै ठाउँमा बस्न मलाई सायद चुट्टीले काट्थ्यो । त्यसैले कहिले कता त कहिले कता भौँतारिरहन्थे । टन्डेली मार्नु मेरो आदत भइसकेको थियो ।

“भोटु नानी के छौँडा कहियो कत रहैय, कहियो कत !”

सायद यस्तो टिप्पणी मलाई चिन्नेहरूका बीचमा हुन्थ्यो होला, मामाघरमा । यद्यपि, “कहिया एली बौवा ?” यसरी सोध्ने पनि हुन्थे ।

गाउँमा रहँदा पनि टन्डेली मारेरै बित्थ्यो दिन । साथीमा किरण र पुष्कर भएपछि अरू को चाहियो र !

तिनताक पुण्डरी मामा (पुण्डरी बाँस्कोटा, आमाको जेठो भान्दाजु) भलुवाहीमै कुटानी पिसानी मिल लगाएर बस्नुभएको थियो । मिल राम्रो चलिरहेको थियो ।

गाउँमा मिल नहुँदा पहिले धान/गहुँ कुट्न/पिस्न कि त सारश्वर बजार पुग्नुपर्थ्यो कि त पुकपुकिया मिल भएको अर्को कुनै गाउँ । भलुवाहीमा मिल थिएन ।

बिजुली नै थिएन, मिल हुने कुरा पनि भएन ।

एकपटक कुमुद मामासँग धान कुटाउन भनेर बैलगाडामा म पनि सारश्वरतिर हिँडेको थिएँ । गडीबान सायद गोथे थिए । म धानको बोरामाथि मस्तले बसेको थिएँ । 

केही बेरपछि मामाको हातमा बैलगाडाको डोरी आयो । गोथे पछाडि धानको बोरामाथि उक्लिए ।

दुवै बैल सरपट् दौडिन थाले । त्यसैबीच खै के मिलेन, बैलगाडा लिकबाट एकातिर कोल्टे पर्‍यो । गोरुहरू थचक्क बस्यो । डगहरमा हामी तीन तीनतिर उछिट्टियौँँ । हाँस्ने कि रुने, अवस्था त्यस्तो आइपर्‍यो ।

पछि गोथेले बैलगाडाको कमान आफ्नो हातमा सम्हाले । मामाको आसन धानको बोरा बन्यो ।

अब भने कसैले सारश्वर पुग्नुपर्ने थिएन । घरमै थियो मिल । रातदिन चलिरहन्थ्यो । मानिसको भीड भइरहन्थ्यो ।

त्यसपछि त सात/आठ बजे नै सुत्ने हामी छौँडाहरू १०/११ बजेसम्म मिल वरिपरि नै रहन्थ्यौँ ।

अचानक मिल चल्न छोड्यो । के बिग्रियो थाहा भएन । पुण्डरी मामा कामविशेषले विराटनगर यात्रामा हुनुहुन्थ्यो । मिल बन्द भएपछि बाबा (हजुरबा)लाई छटपटी भयो ।

त्यतिखेर म भलुवाहीमै थिएँ । बाबाले मलाई ‘तँ विराटनगर जा, पुण्डरी भानिजलाई लिएर आइज’ भन्नुभयो । भोलिपल्ट बिहानै एउटा सानो झोला र एक–आधा सय रुपैयाँ बोकेर म विराटनगरका लागि हिँडे ।

म दोस्रोपटक विराटनगर जाँदै थिएँ । त्यसअघि ०३३ सालतिर गएको थिएँ, हनुमाननगरमा हुँदा । त्यतिखेर एउटा विशाल कम्पाउन्ड भएको घरमा बसेको मलाई धमिलो सम्झना छ । त्यो घरको कम्पाउन्डमा विभिन्न फलफूलका रुखहरू (फूलबारी) थिए । त्यो घर कसको थियो, थाहा छैन ।

पहिलोचोटि जाँदा एकदुईजनाको साथ थियो । यसपटक एक्लो यायावर थिएँ । 

बाबाले भन्नुभएको थियो, “पुण्डरी अञ्जु बाबुकै घरमा छन् । विराटनगरको अस्पताल चोक पुगेपछि डाक्टर मामाको नाम लिएर घर सोध्नू, बताइदिन्छन् । तलाईं गाह्रो हुँदैन ।”

कैयन्पटक भलुवाही–जलेश्वर–भलुवाही गरिसकेको मेरा लागि अचानक जुरेको यो यात्राले मलाई झनै रोमाञ्चित बनाएको थियो ।

म भलुवाहीबाट चोहर्वा पुगेँ । त्यहाँबाट विराटनगरको बस समातेँ । अनि, गोलबजार, लहान, रुपनी, भारदह, कोसी ब्यारेज, भन्टाबारी, इनरुवा, इटहरी हुँदै विराटनगर पुगेँ ।

बसपार्कमा उत्रिएपछि पुग्नु थियो कोसी अञ्चल अस्पताल रहेको चोक । त्यसका लागि रिक्सा चढ्नु नै पर्थ्यो । नौलो ठाउँ, हिँडेर कुन बाटो जाने ! त्यसैले रिक्सा चढेँ ।

अस्पताल चोकमा पुगेर ओर्लिएँ । आठ आनाजति लिएर रिक्सा अर्कोतिर लाग्यो ।

एउटा पान पसलेलाई सोधेँ, “डा. अञ्जनीकुमार शर्माके घर केम्हर है ?”

उसले एउटा दिशा देखाउँदै ‘सिधे चैलजाऊ’ भन्यो । मैले त्यही बाटो समाएँ र दायाँबायाँ नजर दौडाउन थालेँ ।

केही बेरपछि नै एउटा सुकिरहेको रातो हनुमान लँगौटीमा नजर पर्‍यो । तला थपिँदै गरेको घरको माथ्लो भागमा बाहिर निस्केको फलामे रडमा हनुमान लँगौटी हावाले फिरफिर गरिरहेको थियो ।

हठात् गाडीले थाकेको मेरो आँखामा चमक आयो ।

पुण्डरी मामा रातो हनुमान लँगौटी नै लगाउनुहुन्छ भन्ने मलाई थाहा थियो । तिनताक कतिपयले भित्री पोसाकका रूपमा हनुमान लँगौटी नै लगाउने गरेका थिए । पुण्डरी मामा पनि त्यसैमा पर्नुहुन्थ्यो ।

त्यसैले पुण्डरी मामा बस्नुभएको घर यही हुनुपर्छ भन्ने अनुमान गर्न मलाई गाह्रो भएन ।

म गेट खोलेर सिधै माथि गएँ । यो अरू कसैको घर पनि हुनसक्छ । अरूको भए तिनले यसरी निर्बाध घरमा छिर्नेलाई दुलत्ती दिएर गलहत्याउन सक्छन् भन्ने मेरो दिमागले रत्ति पनि सोचेन !

त्यतिखेर मेरा लागि जीपीएस म्याप भनेकै पुण्डरी मामाको हनुमान लँगौटी भइदिएको थियो ।

माथि तला थपिँदै थियो । मिस्त्रीहरू काम गर्दै थिए । ‘कि छै ?’ भनेर सोध्दै थिए । म भने तिनलाई बेवास्ता गर्दै माथि उक्लिएँ । नभन्दै पुण्डरी मामा चारपाईमा सुतिरहनुभएको देखेँ ।

मैले ‘मामा’ भन्नासाथ उहाँ हड्बडाएर उठ्नुभयो । मलाई विनाकुनै खबर आफ्नो अगाडि देखेर छक्क पर्नुभयो । यो स्वाभाविक थियो ।

“हैन, कसरी घर पत्ता लगायौँ तिम्ले भैगना ? कि पहिले आएका थियौ ?,” मामाले आश्चर्यमिश्रित स्वरमा सोध्नुभयो ।

मैले पनि सिधै भनेँ, “तपाईंकै रातो लँगौटी देखेर घरभित्र घुसेँ र माथि चढेँ ।”

तत्काल पुण्डरी मामाको अट्टाहस गुन्जियो । काम गरिरहेका मिस्त्रीहरू पनि मेरो कुरा सुनेर हाँसे । मामाले परिचय गराउनुभयो, “भैगना है ।”

त्यसपछि मैले ‘मिल बिग्रिएर बन्द भएको र मामालाई लिन आएको’ बताएँ । अनि, पर्सिपल्ट मामाभान्जा दुवै भलुवाहीतिर हिँड्यौँ ।

त्यसपछि जीपीएस हनुमान लँगौटीको त्यो प्रसंग पुण्डरी मामा आफैँले बाबा, डाक्टर मामालाई सुनाउनुभयो ।

आजको सन्दर्भमा भन्ने हो भने यो प्रसंग त्यस बेला ‘भाइरल’ नै बनेको थियो । भेटमा सबलाई मैले लँगौटी महात्म्य सुनाउनै पर्दथ्यो !

०००

आज जीपीएस म्यापका केही सन्दर्भहरूले मलाई फेरि पुर्‍यायो पुण्डरी मामाको हनुमान लँगौटीतिर । वास्तवमा त्यो लँगौटी मेरा लागि जीपीएस ट्र्याकर नै थियो भनिदिँदा गलत नहोला, जसले आज पनि मलाई विराटनगरको त्यो क्षणमा पुर्‍याइरहन्छ ।

प्रकाशित मिति: शनिबार, जेठ २४, २०८२  ०५:४४
प्रतिक्रिया दिनुहोस्