site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
खुसीका धरातलहरू
Argakhachi Cement Island Ad

हाँस्दा, रमाउँदा
उन्मुक्तिले हाँस्नुपर्छ
हो,
फूल खिलेजस्तै हुन्छ
स्वच्छन्दताको हाँसो र खुसी
कति सुन्दर
र त भन्छन् नि–
हाँसो होस् त
यस्तो
सम्पन्नताले चुलिएका नेताको जस्तो
मायाले झुलेको प्रेमीजस्तो
कसैको शिरमाथि गिर खेलेर
समाजको अगाडि
नवधनाढ्यको पगरी पाएकाको
महलजस्तो
तर...तर... थाहा छ ?
तिम्रा, मेरा र उनका
बाआमाहरू
दिनभरि खेतबारीमा पसिना रोपेर
वा चिया पसल 
वा भट्टी पसलमा
भाँडा माझेर
वा घर, गल्ली र चौतारीमा
भारी बोकेर
अथवा आफ्नै कर्ममा उभिएर
पीरहरू सँगालेर
व्यथाहरूलाई अँगालेर
आँसुका घुट्का पिएर
सारासारा व्यथाहरूलाई
पोथी कुखुराले
चिङ्नाहरूलाई छोपेजस्तै
फगत सन्ततिका लागि
मुस्कानसहित बाँचेका
धन्य सृष्टि
उज्यालोमा, अँध्यारोमा
जुनेली रातमा
र, अमावास्याको रातमा पनि
निदाएका, सुस्ताएका
र, तन्द्रामा
(सपना देखिरहेका अबोध सन्तानहरूलाई,
बाटो बिराएका मदहोस तन्नेरीहरूलाई पनि)
सुम्सुम्याएर
एक झमक निद्रामा
चित्त बुझाएर
आँखा रुझेका प्रभातहरूमा पनि
हाँसिरहेका हुन्छन्
आमाहरू–बाहरू
ती आमाबाका
बिँडो थाम्ने
नयाँ पुस्ताहरूलाई चुनौती छ
कान खोलेर सुन्नुहोस्,
प्रतिकूलतामा उभिएर
बाँच्नु त छँदै छ
हाँस्ने सम्भावनाको
आकाश छ कि छैन ?
इतिहासको कठघरामा उभिएर
बाआमाका रसिला आँखाहरूले
चियाइरहेछन् चियाइरहेछन्
चुलो, चौका र बार्दलीहरूबाट
मठ, मन्दिर र दोबाटोहरूबाट
तिमीहरू सुतेका
कोक्रो, झुला वा
खाटहरूबाट
साँच्चै उनीहरूले चियाइरहेछन्
साँच्चै उनीहरूले चियाइरहेछन् ।

प्रकाशित मिति: शनिबार, जेठ २४, २०८२  ०७:०६
प्रतिक्रिया दिनुहोस्