काठमाडौं । भूकम्पले भत्किएको काष्ठमण्डप पुनर्निर्माणले गति लिएको छ । काष्ठमण्डप पुनर्निर्माणमा तराईको काठ र धरहराको माटो प्रयोग गरिएको छ ।
तराईको काठ, धरहरा, ताहचल र बाफलको माटो तथा दक्षिण–बाराही इँटा उद्योगको इँटाले काष्ठमण्डप निर्माण भइरहेको पुनर्निर्माण समिति सचिव गौतम डंगोलले जानकारी दिए । “काठको अभाव नभए तोकिएको समयअघि पुनर्निर्माण भइसक्थ्यो,” उनले भने ।
समितिका अनुसार पुनर्निर्माणको काम झन्डै ५० प्रतिशत पूरा भएको छ । काष्ठमण्डप पुनर्निर्माणमा १७ हजार क्यु फिट काठ लाग्ने बताइए पनि अहिलेसम्म ४ हजार ३८ दशमलव १८ क्यु फिट मात्र काठ ल्याइएको छ । ‘‘ती पनि महोत्तरी र चितवनबाट ल्याइएको हो,’’ गौतमले भने । उनका अनुसार दक्षिण बाराही इँटा उद्योगबाट माः अप्पा (ठूलो) ३३ हजार ३५८ वटा र माः अप्पा (सानो) २१ हजार ५३० वटा इँटा ल्याइएको छ ।
समितिका अनुसार काष्ठमण्डपका लागि आवश्यक काठ टिम्बर कर्पोरेसन अफ नेपालसँग लिखित सम्झौतासमेत भएको र चरणबद्ध उपलब्ध गराउने सहमति भएको थियो । तर सहमति भए पनि आवश्यकताअनुसार काठ नआउँदा पुनर्निर्माणमा समस्या भएको समितिको भनाइ छ । यसअघि गत कात्तिकमा पनि समितिले काठ अपुग भएको भन्दै सरकारसँग काठ आपूर्तिका लागि आग्रह गरेको थियो ।
काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकाले प्रदेश सांसद राजेश शाक्यको अध्यक्षतामा ०७५ वैशाख १८ गते समिति गठन गरेको थियो । २०७५ माघ २७ गते श्रीपञ्चमीका दिनमा पुरोहित राखेर सबैको अपनत्व हुनेगरी पूजा, संकल्प गरी चारवटा मूल थाम राखिएको थियो । झाँकीसहित थाम उठाइएको थियो । हाल पहिलो तलाको पाखा हाल्ने तयारी भइरहेको छ ।
समितिले दिएको जानकारीअनुसार थाममा प्रयोग हुने ४ थाममध्ये ३ वटा नयाँ प्रयोग गरिएको छ । एउटा पुरानै प्रयोग गर्न मिल्ने विज्ञहरूले सुझाएपछि पुरानै थाम प्रयोग गरिएको छ । ४ मूल थाममध्ये एक थाम (१०औं शताब्दीमा प्रयोग गरिएको पाइएको) पुरानो राखिएको छ । त्यस्तै १०० थान मेथमध्येमा २९ वटा सातौं शताब्दीमा प्रयोग गरिएको छ ।
सचिव डंगोलका अनुसार पहिलो र दोस्रो पंक्तिमा १०–१० मेथ प्रयोग गरिएका छन् । तेस्रो पंक्तिमा ९ वटा मेथ प्रयोग गरिएका छन् । समितिका अनुसार परम्परागत सामग्री र प्रविधि प्रयोग गरी पुरानै स्वरूपमा ल्याउने गरी पुनर्निर्माण भइरहेको छ । काष्ठमण्डप पुरानै शैली (तीन तला) को बन्नेछ ।
समिति बनेपछि साउनसम्म पूर्वाधार विकास र जनशक्ति खोज्ने र भदौमा निर्माण क्षेत्र सफा गर्ने काम भएको थियो । गत कात्तिक २२ गते शुभारम्भ पूजा गरी पुनर्निर्माण सुरु गरिएको थियो । तोकिएकै तीन वर्षभित्र पुनर्निर्माण सक्ने गरी काम भइरहेको समितिले जनाएको छ ।
त्यस्तै, बुट्टा भएको १६ मूल मेथमध्ये १० वटा पुनःप्रयोग गर्न सकिने बताइएको छ । पुनर्निर्माणमा प्रयोग भएका सबै सामग्री पुरातत्त्व विभाग र युनेस्कोको मापदण्डअनुसार प्रयोगशालामा परीक्षण गरिएको थियो । काष्ठमण्डपको नक्सा पुरातत्त्व विभागबाट गत मंसिर १६ गते स्वीकृत भएको थियो ।
काठमाडौं महानगरपालिकाले पुनर्निर्माण समितिलाई हालसम्ममा ५ करोड ५० लाख रुपैयाँ प्रदान गरिसकेको छ । काष्ठमण्डप पुनर्निर्माणका लागि १९ करोड खर्च लाग्ने अनुमान गरिएको छ । अहिलेसम्म ३ करोड रुपैयाँ खर्च भएको समितिको दाबी छ ।