site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

कास्कीको उपनिर्वाचनलाई प्रभावित गर्न फिर्के खोला अतिक्रमण गरेर बनाइएका संरचना हटाउने गरी बनाइएको मापदण्ड खारेज गर्ने सहमतिमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा पोखरा महानगरपालिकाका अधिकृतसमेतले हस्ताक्षर गरेका छन् । महानगरपालिकाले ठाउँ हेरी खोलाकोे १० देखि ६ मिटरसम्म संरचना बनाउन नपाइने मापदण्ड बनाएको थियो । मापदण्ड अतिक्रमण गरेर बनाएका संरचना हटाउन महानगरपालिकाले सक्रियता देखाउन थालेकै बेला उपनिर्वाचनमा स्वतन्त्र उमेदवारी दिएका एक व्यक्तिलगायतको घर, जग्गा जोगाउन मापदण्ड नै संशोधन गर्ने सहमतिको कागज गरिएको छ । निर्वाचन आचार संहिता उल्लंघन हुने सहमति पत्रमा नेकपाबाट प्रतिनिधित्व गर्ने सांसदलगायत नेताका साथै महानगरपालिकाका कानुन अधिकृतले समेत सही गरेका छन् । महानगरपालिकाको अधिकार क्षेत्रमा समेत अतिक्रमण गर्दै उनीहरूले नयाँ मापदण्ड तोक्ने सहमति पनि गरेका छन् ।

महानगरपालिकाका प्रमुखले भने मापदण्ड हटाउन आफ्नो सहमति नभएको र त्यस्तो कागज मान्य नहुने प्रतिक्रिया दिएका छन् । नेकपाका नेताले आफूहरूलाई अनुचित आश्वासन दिएर ‘थाङ्नामा सुताइएको’ त्यहाँका जनताले पनि थाहा पाउनु पर्ने हो । हुन पनि अहिले सञ्चार प्रविधिको प्रगतिका कारण यस्ता ढाँटछल, प्रपञ्च धेरै बेर लुकाउन सकिँदैन । गर्नै नहुने काम गरेकाले महानगरपालिका प्रमुखले पहिले सहमति नै दिएका भए पनि सार्वजनिकरूपमा स्वीकार गर्न मिल्ने अवस्था थिएन । तर पोखरा महानगरपालिकाका नाममा मतदातालाई झुक्याउने गरी गरिएको सहमतिका सम्बन्धमा महानगरपालिकाका प्रमुखले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्छ । नत्र, उनी पनि शंकाको घेराभित्रै हुनेछन् । अझ मापदण्ड घटाउने सहमतिमा महानगरपालिकाकै कर्मचारीले हस्ताक्षर गरेकाले पनि प्रमुखको दायित्व थपिएको छ । महानगरपालिकाले या त त्यस्तो व्यक्तिमाथि कारबाही गर्नुपर्छ नभए त्यसको नैतिक जिम्मेवारी लिनुपर्छ । 

यस प्रकरणले चुनावमा जस्तोसुकै धाँधली गर्न पनि राजनीतिक दलका नेताहरू नहिचकिचाउने प्रवृत्तिको पोल खोलेको छ । विशेषगरी सत्तारुढ दलका नेताहरू चुनावका बेला मतदातालाई हुँदो नहुँदो आश्वासन दिने गर्छन् । त्यतिमात्र हैन विकास योजना स्वीकृत गराएर लोभ्याउने पनि गर्छन् । त्यसले निर्वाचन स्वच्छ र निष्पक्ष रहन सक्तैन । यसैले, उजुरी परुन्जेलसम्म पर्खनुको साटो निर्वाचन आयोगले यस्ता घटनामा आफैँ अग्रसर भएर कारबाही गर्नुपर्छ । फिर्के खोला मापदण्ड संशोधन गर्ने सहमतिमा हस्ताक्षर गरिएको पत्रले केही कानुनी र नैतिक सबाल उठाएको छ । पहिलो, चुनावका बेलामा त्यस्तो निर्णय गर्नु निर्वाचन आचार संहिताको उल्लंघन हो । दोस्रो, दलगत स्वार्थका लागि खोलाको सार्वजनिक जमिन मिचिने गरी मापदण्ड घटाउनु पोखरा नगरलाई नै धोका दिनु हो । तेस्रो, चुनावमा मतदातालाई लोभ्याउन मापदण्ड संशोधन गर्नु अख्तियारको दुरुपयोग पनि हो । यसैले कानुनको शासन कायमै रहेको प्रमाणित गर्न राज्यका सम्बन्धित निकायहरूले यसमा संलग्न राजनीतिक नेतृत्व र कर्मचारीमाथि निर्वाचन आचार संहिता उल्लंघन गरेकोमा कारबाही तथा अख्तियार दुरुपयोग गरेकोमा मुद्दा चलाउनुपर्छ । निर्वाचन आयोगका प्रमुख आयुक्त सरकारको ‘कठपुतली’ हैनन् भने यस विषयलाई गम्भीरतापूर्वक लिऊन् !

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ५, २०७६  १०:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC