काठमाडौं । निलम्बन फुकुवापछि नेपाल क्रिकेट संघ (क्यान) को पहिलो कार्यसमिति बैठक आइतबार बस्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट यसैसाता सशर्त निलम्बन फुकुवा भएपछि क्यान कार्यसमितिको पहिलो बैठक बस्ने भएको हो ।
क्यान अध्यक्ष चतुरबहादुर चन्दले बैठकमा आईसीसीलाई धन्यवादसँगै आगामी दिनमा क्यानका गतिविधि कसरी अगाडि बढाउने र अफिस सञ्चालन गर्ने लगायतका विषयमा छलफल गर्ने जानकारी दिए । उनका अनुसार पारस खड्काको कप्तानबाट राजीनामा दिएको आधिकारिक जानकारी नआएकाले राजीनामाबारे भने बैठकमा छलफल हुने छैन ।
आईसीसीको शर्तबारे पनि आधिकारिक जानकारी नआएको अवस्थामा अब कसरी अगाडि बढ्ने विषयमा छलफल हुने अध्यक्ष चन्दले बताए । केही दिनमा आईसीसीको पत्र आएपछि सोही अनुसार अघि बढ्ने उनको भनाइ छ ।
असोज ११ गते आईसीसीकै रोहबरमा भएको निर्वाचनबाट नयाँ नेतृत्व चयन भएपछि साढे ३ वर्षदेखिको निलम्बन सशर्त फुकुवा भएको थियो । शर्तबारे आईसीसीको आधिकारिक जानकारी आइनसकेको क्यानले जनाएको छ ।