खोकनामा न टीका न जमरा

खोकनामा न टीका न जमरा

चारैतिर हरियाली, रङ्गीचङ्गी फूल र पारिलो घामसँगै सुरु हुने मन्दमन्द  चिसो हावाले शरद ऋतु आएको सङ्केत गर्छ । शरद ऋतु आएसँगै हिन्दूहरुको चाड दसैं सुरु हुन्छ । घटस्थापनाको दिन हरेक नेपालीको घरघरमा जमरा राखेसँगै दसैं भित्रिन्छ । फूलपातीसम्म आइपुग्दा दसैंंले छपक्कै छोइसकेको हुन्छ । 

हिन्दू नेपाली दसैंमा रमाइरहँदा ललितपुरको पुरानो नेवार बस्ती खोेकनावासी भने आफ्नै पर्व सिकाली जात्रामा उन्मुक्त भेटिन्छन् । ललितपुर जावलाखेलबाट ७ किलोमिटर दक्षिण भैंसेपाटी हुँदै पुगिन्छ खोकना ।

विजयादशमीको दिन हरेक नेपाली आफन्तकोमा गएर टीका थापी, मीठामीठा परिकार खाएर रमाइरहेका हुन्छन् । तर डङ्गोल र महर्जनको बाहुल्यता रहेको खोकनामा भने दैनिकी सामान्य चलिरहेको हुन्छ । 

खोकनावासीको घरमा न घटस्थापनाको दिन जमरा राखिन्छ न त दसैंको दिन टीका नै थाप्ने चलन छ । मुख्य पेशा कृषि रहेको खोेकनामा विजयादशमीको दिन पनि अरु सामान्य दिन जस्तै खेतीपातीको कामको चटारो चलिरहेकै हुन्छ । अर्थात् खोकनावासी दसैं मनाउँदैनन् । दसैंको विकल्पमा खोकनावासी सिकाली जात्रा मनाउने गर्छन् । फूलपातीदेखि सुरु हुने सिकाली जात्रा विजयादशमीको अघिल्लो दिन महानवमीसम्म चल्छ । 

दसैंको दिन के गर्छन् त खोकनावासी (विशेषगरी) महर्जन र डङ्गोल ? स्थानीयवासीका अनुसार उनीहरु त्यो दिन बिहानै स्थानीय मन्दिरहरुमा गएर पूजाआजा गरेपछि  दिउँसो भने अरुदिन जस्तै साधारण काममा व्यस्त हुन्छन् । 

सिकाली जात्रा खोकनामा दसैं नमाउनुको मुख्य कारण नभएको नेपाल सांस्कृतिक पुनर्जागरण अभियानका केन्द्रीय सदस्य र स्थानीयवासी अशोजकुमार महर्जन बताउँछन् । “आदिवासीसँग दसैं हुँदैन र आदिवासीसँग कुनै लिखित दस्तावेज पनि हुँदैन । तर उनीहरुले विकास गरेको चिह्न, शब्द र उनीहरुको आफ्नै बेग्लै संस्कृति र परम्परा हुन्छ,” उनी भन्छन् । उनका अनुसार खोकनाको संस्कृति र परम्परा अरु नेवार समुदायसँग मिल्दैन । काठमाडौं उपत्यकाको नेवारसँग पनि मिल्दैन । खोकनाकै केही व्यक्ति र काठमाडौंमा बसाइ सरी गएका नेवारसमुदायले अन्य समुदायसँग बसेर चाडपर्व मनाउन थालेको उनको भनाइ छ । 

तर मूल आदिवासीहरु भएको खोकनामा भने अरु चाडपर्वहरुको ‘फ्युजन’हुन सकेन । फलतः त्यहाँ दसैं होइन आज पनि सिकाली पर्व नै मनाइन्छ । “सिकाली देवीको पहिचान नै खोकनाबाट भएकोले हामीले सिकाली जात्रालाई विशेष महत्व दिएर मनायौँ र दसैंलाई ग्रहण गरेनौं,” महर्जन भन्छन् ।

दसैं पृथ्वीनारायण शाहले गोर्खाबाट नेपाल एकीकरण गरिसकेपछि मनाउन थालेको उनको जिकिर छ । गोर्खाबाट फूलपाती टुँडिखेलमा ल्याइसकेपछि मात्रै काठमाडौंमा दसैं सुरु हुन्छ । 
“दसैं पृथ्वीनारायण शाहले मनाउन लगाएको नयाँ संस्कृति हो । नयाँ संस्कृति भए पनि राई, तामाङ, नेवारलगायत सबै जनजातिको भाषा र संस्कृति संरक्षण गर्न सकेको भए नयाँ संस्कृति बन्थ्यो । तर यो नयाँ संस्कृति बन्नै सकेन । हामीले त दसैं मानेनौं,” उनी भन्छन् ।

इतिहासलाई पल्टाएर हेर्ने हो भने खोकनावासीले दसैं नमाउनुको मुख्य कारण पृथ्वीनारायण शाह नै रहेको उनी बताउछन् । महर्जन भन्छन्, “पृथ्वीनारायण शाहले खोकना लिँदा, त्यो समयको खोकनाका नायकले शाहसँग एउटा लिखित सहमति गराएका थिए । पृथ्वीनारयणलाई दस औंलाको सहीछाप गर्न लगाई यहाँको संस्कृति, जग्गाजमिन र स्थानीयवासीको मामिलामा हस्तक्षेप गर्न पाइँदैन भनेर सहमति गराइएको थियो,” महर्जन भन्छन् ।

खोकनावासीको मूल देवता भनेकै श्रीः काली (सिकाली) देवी हुन् । र, सिकाली देवीलाई कुनैखालको हिंसा चल्दैन । साथै, गुठी परम्पराअनुसार हरेक चाडपर्व र रीतिथिति अगाडि बढाउने खोकनावासीको गुठीमा कुनै पनि किसिमको हिंसा चल्दैन । 

“दसैंमा विशेषगरी मारकाट गर्ने चलन छ । तर हाम्रोमा हिंसा नै चल्दैन भनेपछि हामीले कसरी दसैं मनाउन सक्छौं ?” महर्जन प्रतिप्रश्न गर्छन् ।

महर्जन र डङ्गोलको बाहुल्यता रहे पनि खोकनामा नेवार समुदायकै केही अन्य जातिले भने दसैं मनाउने गर्छन् । राणकालमा श्रेष्ठाचार्य अर्थात् जात परिवर्तन गरी श्रेष्ठ बनेका एक–दुई परिवारले खोकनामै बसे पनि दसैं मनाउने गर्छन् । तर राणकालअघि ती परिवारले पनि दसैं मनाउने नगरेको महर्जन बताउँछन् ।

खोकनासँगै कीर्तिपुर, पाँगालगायतका स्थानमा बसोबास गर्ने सिपामी जातिले दसैं नमनाउने महर्जनको भनाइ छ । सिपामी अर्थात् सिकालीको अगाडि रहेको बस्ती र समुदाय जो सिकाली जात्रा मनाउँछन् उनीहरुले दसैं मनाउँदैनन् ।

मोह्नी

हिन्दू धर्मावलम्बीले दसैं मनाइरहँदा उपत्यकाका नेवारहरु भने यसैलाई ‘मोह्नी’ को नाममा चाड मनाउने गर्छन् । नेवार समुदायको मुख्य पेशा भनेको कृषि हो । वर्षैभरि खेतीपातीमा लागिरहने नेवारहरु मोह्नीको दिन धान रोपाईं सकेर केही आराममा हुन्छन् । 

धान भित्राउने समय पनि भैसकेको हुँदैन । असोजको अन्तिम या कात्तिकको सुरुआतदेखि फेरि बाली भित्राउनेलगायत खेतीको काम सुरु हुन्छ । यहीबीचमा केही समय खेतीको काम पनि नहुने र धान काट्न प्रयोग हुने हँसियालगायत अन्य खेतीको लागि चाहिने औजारहरु एकै ठाउँमा राखेर पूजा गर्ने गर्छन् । 

लामो समय थन्काएर राखिएका औजारहरु खिया लागेको छ भने पनि सफा गरेर पूजा गर्ने गरिन्छ यो दिन । यो दिन हिन्दू नेपालीहरुको घरमा जस्तै नेवारहरुले पनि जमरा राखेर औजारहरुमा जमराको फूल चढाएर पूजा गर्ने गर्छन् । औजारमा पूजा खोकनावासीले पनि गर्छन् । जसलाई खोकनावासी मुः ज्या भन्छन् । मु को अर्थ मुख्य र ज्या को अर्थ काम हो । तर पूजा गर्दा जमरा चढाउने चलन अहिलेसम्म खोकनावासीमा नभएको महर्जन बताउँछन् ।

खोकना (खोना)

खोकना नेवारी शब्द खोनाबाट बनेको हो । खोनाको अर्थ ‘रुँदै भन्दै’ । महर्जनका अनुसार खोकनामा कुनै बेला एकदमै चिसो ताल थियो । जहाँ कुखरा पाल्न सम्भव थिएन र हाँसको लागि भने उचित ठाउँ भएकोले सबैले हाँस पाल्थे । परापूर्वकलादेखि नै हाँसमात्रै पाल्ने र कुखुरा नहुने भएकोले पछि यसलाई धार्मिक पक्षसँग जोडिन थालेको उनी बताउँछन् । 

बिजुली बलेको नेपालकै पहिलो गाउँ पनि खोकनालाई मानिन्छ । सन १९११ मा चन्द्र शमशेर राणाको पालामा खोकनाको एक घरमा नेपालमै पहिलो पटक बिजुली बत्ती बलेको थियो । 
समयसँगै अरु नेवारी र जनजातिको बसोबास बढ्दै जाँदा आफ्नो पर्व, संस्कृति, खानपान र रहनसहनमा परिवर्तन आएको खोकनावासी स्वीकार्छन् । तर पनि केही पुराना वासिन्दाले खोकनाको संस्कृति र शैलीलाई बचाइरहेका छन् । यही कारण पनि, खोकना अहिलेसम्म आन्तरिक तथा वाह्य पर्यटकको गन्तव्य बनिरहेको छ  । 

वर्षा महर्जन

प्रतिकृया दिनुहोस
ad