काठमाडौं । नागरिकतासम्बन्धी विधेयकमा रहेको वैवाहिक अंगीकृतको प्रावधानलाई मतदानमा लैजान सांसदहरूले माग गरेका छन् । बिहीबार प्रतिनिधिसभा राज्यव्यवस्था समितिमा नागरिकता विधेयकमाथिको छलफलका क्रममा केही सांसदहरूले मतदानबाटै यो विषय टुंग्याउनुपर्नेमा जोड दिएका हुन् ।
नेमकिपाका सांसद प्रेम सुवालले नागरिकता सिनेमाको टिकटजस्तो बाँड्ने विषय नभएको भन्दै वैवाहिक अंगीकृतको व्यवस्थामा मतदान गरेर टुंग्याउन माग गरे । नेपाल सिक्किम हुने गरी नागरिकता वितरण गर्न नहुने भन्दै उनले विवाह गरेर आएका बुहारीलाई १५ वर्षपछि नागरिकता दिने व्यवस्था राख्न माग गरे ।“भारत ठूलो देश हो । ठूलो देशको ठूलै छाती हुन्छ । उसले ७ वर्षको व्यवस्था राखेको छ । हामी सानो देश भएकाले वैवाहिक अंगीकृतका लागि १५ वर्षको व्यवस्था गरौं,” सुवालले भने । विवाह गरेर आउनासाथ कुनै परिचयपत्र भने दिन सकिने उनले बताए ।
त्यस्तै, नेकपाका सांसद नवराज सिलवालले बिहे गरेर आउनासाथ राजनीतिक अधिकार बाहेक सामजिक, आर्थिक अधिकार हुनेगरी पीआरको व्यवस्था गर्नुपर्ने बताए । उनले वैवाहिक अंगीकृतका लागि ७ वर्षको व्यवस्था राख्नुपर्ने सुझाव दिए । सांसद सिलवालले भने, “दुई ठूला देशको बीचमा भएको मुलुक नेपाल उदार बन्ने अवस्था छैन । आउनासाथ पीआरको व्यवस्था गरौं बुहारीलाई । आर्थिक, सामाजिक अधिकार दिउँ । आउनासाथ राजनीतिक अधिकार दिएर भोलि नै नेतृत्व गर्न दिन सम्भव छैन । अब एउटा निर्णयमा समिति पुग्नुपर्छ । मतदानमा जाउँ ।”
नेकपाकी सांसद रेखा शर्माले विवाह गरेर आउनासाथ विदेशीलाई राजनीतिक अधिकार दिन नहुने बताइन् । उनले पनि आर्थिक, सामाजिक अधिकार दिनेगरी परिचयपत्र दिइए पनि राजनीतिक अधिकार दिन नहुनेमा जोड दिइन् । नागरिकाताका लागि ७ देखि १० वर्षको व्यवस्था राख्नुपर्ने उनको भनाइ थियो ।