site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
सस्तो सरकारी चटक
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

सरकार सञ्चालनलाई चटकेको खेल बनाउने क्रम बढ्दो छ । यस्तो चटक जनताका हितमा भने गरिएको हुँदैन । सामान्य जनतालाई सजिलो र छरितो सेवा दिन प्रविधिको प्रयोग खासै भएको छैन । तर, उपचारका लागि विदेश गएका प्रधानमन्त्रीले सोमवार अस्पतालबाटै भिडियो कन्फरेन्स गरेर मन्त्रिपरिषद्को बैठक सञ्चालन गर्ने चटक भने देखाइयो । यसभन्दा पहिले मन्त्रिपरिषद्को बैठक निजी कम्पनीहरूको प्रायोजनामा सगरमाथाको आधार शिविरमा गरेर संसारैलाई एउटा चटक देखाइएको थियो । त्यस बैठकपछि नेपालमा जलवायु परिवर्तनप्रति संवेदनशीलता बढेको भने देखिएन । त्यसको खर्चमा अनियमितता भएको चर्चा भने उति बेलै भएको थियो । यसपटक प्रधानमन्त्री केपी ओली उपचारका लागि सिंगापुर जाँदा नै भिडिओबाटै मन्त्रिपरिषद्को बैठकसमेत चलाउन मिल्ने कानुनी व्यवस्था गरेको जानकारी पहिले नै दिइएको थियो ।    

कुनै निर्णय नगरिएको मन्त्रिपरिषद्को बैठक सिंगापुरबाटै सञ्चालन गरेर प्रधानमन्त्री ओलीले आफू सिकिस्त बिरामी नभएको सन्देश दिन खोजेको हुनुपर्छ । तर, जनसाधारणले भने उनको स्वास्थ्य निकै गम्भीर भएकाले लामो समय सिंगापुर बस्ने लख काटेको देखिएको छ । प्रधानमन्त्रीको अनुपस्थितिमा मन्त्रिपरिषद्को बैठक सञ्चालनलगायतका आवश्यक कामकाज गर्नैका लागि त कार्यवाहक प्रधानमन्त्री तोकिएका हुन्छन् । यसरी प्रधानमन्त्री स्वयंले मन्त्रिपरिषद्को बैठक चलाउँदा कार्यवाहक तोकिएका व्यक्तिको अप्रत्यक्ष मानमर्दन हुन्छ । प्रदर्शन नगरे पनि प्रधानमन्त्रीले आवश्यक भए कुनै पनि मन्त्री वा सरकारी कर्मचारी वा कसैसँग पनि प्रत्यक्ष सञ्चार सम्पर्क कायम गर्न सक्छन् । तर, त्यसको अर्थ उनले विदेशबाट बिरामी अवस्थामा पनि सक्रियता देखाउनै पर्छ भन्ने त होइन । यस प्रकारको व्यवहारले प्रधानमन्त्री ओलीमात्र हैन मन्त्रिपरिषद्कै साख कमजोर बनाउँछ ।  

प्रविधिको प्रयोगबाट विश्वको कुनै पनि कुनामा तत्काल सम्पर्क हुनसक्छ । यस सुविधाको प्रयोग शासन सञ्चालनमा पनि हुनु नराम्रो हैन । तर, त्यस्तो प्रयोग आवश्यक र उपयुक्त भएमात्र गरिनुपर्छ । प्रधानमन्त्रीले विश्वविद्यालयका उपकुलपतिहरूको नियुक्तिजस्ता विषय टुंग्याउन यस्तो अभ्यास गरेका भए सम्भवतः सबैले सराहना नै गर्ने थिए । प्रधानमन्त्रीकै निर्णय नहुँदा रोकिएका विषय टुंग्याउन उनले यस्तो क्रियाशीलता देखाएका भए त्यसको आलोचना हुने थिएन । जनतालाई देखाउन गरिने यस्ता अभ्यासले प्रधानमन्त्री र उनका भारदारहरूको आत्मतुष्टि त होला तर राज्यको साख गिर्नेछ । राज्य सञ्चालनलाई चटक र चमत्कारको मञ्च बनाउँदा सम्बन्धित पात्रमात्र हैन सिंगै राज्यका लागि महँगो पर्न सक्छ । यस्तो अभ्यास न नेपालले आविष्कार गरेको हो र न संसारमा पहिलो प्रयोग नै हो । गोपनीयताको प्रश्न आजको युगमा सान्दर्भिक पनि नहोला तर प्रधानमन्त्रीले गर्ने सार्वजनिक अभ्यासको औचित्य र उपादेयता भने सिद्ध हुनुपर्छ । यसैले यस्तो चटके प्रदर्शनमा भन्दा प्रधानमन्त्री ओलीले उपचारमै ध्यान केन्द्रित गर्नु उचित हुने देखिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १०, २०७६  १२:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC