site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपाल जलस्रोतमा दोस्रो धनी देश होइन ?
Sarbottam CementSarbottam Cement

तनहुँस्थित मादी नदी । तस्बिरः रासस


काठमाडौं । नेपालमा दाबी गरिँदै आएको एउटा विषय हो– नेपाल जलस्रोतमा विश्वमा दोस्रो धनी राष्ट्र हो । विद्यालय तहदेखि नै 'नेपाल जलस्रोतका हिसाबमा दोस्रो ठूलो राष्ट्र' भनेर सिकाइन्छ । अहिले पनि अधिकांश पुस्तकहरुमा नेपाल जलस्रोतमा धनी राष्ट्र भनेर उल्लेख गरिएको पाइन्छ । यस विषयमा धेरैलाई सोध्यौं भने पनि स्वभाविक जवाफ आउँछ - जलस्रोतमा दोस्रो ठूलो राष्ट्र नेपाल । तर, अब यो जवाफ गलत हुनेछ र 'नेपाल जलस्रोतको दोस्रो ठूलो राष्ट्र' भन्‍ने वाक्यांश एकादेशको कथाजस्तै बनेको छ ।

करिब १८ घण्टासम्म लोडसेडिङ हुँदा राजनीतिज्ञको आलोचना गर्नै निकै बढी प्रयोग गरिएको वाक्यांश हो - 'नेपाल जलस्रोतको दोस्रो ठूलो धनी देश तर राजनीतिज्ञ तथा राजनीति खिचातानीका कारण लोडिसेडिङ बढिरहेको छ ।'  यो वाक्यांशमा कत्तिको सत्यता थियो भन्‍ने क्रसचेकसमेत गरिएन । एकोहोरो रटानले नीति र निर्णयहरु प्रभावित भएको हेक्कासमेत गरिएन । जनता, नागरिक समाज, बुद्धिजीवी तथा विज्ञहरुलेसमेत यस विषयमा वेवास्ता गर्दै राजनीतिज्ञ र राजनीतिक प्रणालीलाई नै दोषी बनाइरह्यो र लोडसेडिङ अन्त्य हुन नसकेको दोष थोपरिरह्यौं । 

Prabhu Bank
Agni Group
NIC Asia

लोडसेडिङ अन्त्य नहुनुमा जलस्रोतमात्र नभएर अन्य विषयहरु पनि कारक हुन्छन् । जसको चर्चा यहाँ गरिएको छैन । तर, यहाँ नेपाल जलस्रोतको दोस्रो धनी मुलुक भनेर फैलाइएको भ्रमका विषयमा चर्चा गरिएको छ । 

सन् २०११ मा गरिएको एक अध्ययनअनुसार जलस्रोतका हिसाबमा कुन राष्ट्र धनी भनेर सूची सार्वजनिक गरिएको छ ।  जसअनुसार ब्राजिल पहिलो नम्बरमा छ भने दोस्रो भनिएको नेपाल ४३ औं नम्बरमा छ । दोस्रो नम्बरमा रुस छ भने तेस्रो नम्बरमा अमेरिका रहेको छ । 

Global Ime bank

नेपाल विश्वको एसिया र दक्षिण एसियामासमेत जलस्रोतको हिसाबमा चीन र भारतभन्दा पछाडि छ । विश्‍वमा जलस्रोतका हिसाबमा शीर्ष १५ मुलुक अन्तर्गत पहिलो नम्बरमा ब्राजील, दोस्रोमा रुस र क्रमश: अमेरिका, क्यानडा, चीन, कोलम्बिया, युरोपियन युनियन, इन्डोनेसीया, पेरु, भारत, कंगो, भेनेजुएला, बंगलादेश, म्यानमार र नाइजेरिया छन् ।

तर, नेपालकै पहिलो र ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले सन् २०१५ मा प्रस्तुत गरेको एक प्रतिवेदनमा समेत नेपालको परिचय दिनेक्रममा जलस्रोतका हिसाबमा नेपाल विश्वकै धनी राष्ट्र भएको उल्लेख गरिएको छ । त्रिविले समेत यस्तो पुरानो तथ्यांकलाई नयाँ बनाएर प्रस्तुत गर्दा मानिसमा थप भ्रम र संशय उत्पन्‍न हुन्छ 

जलस्रोतविद् हरी शर्माका अनुसार पहिलेदेखि नै अध्ययन अनुसन्धान नगरेरै दोस्रो धनी देश भनिएको हो । उनले भने, "विना अध्ययन दोस्रो भनेर हुँदैन । वास्तविक तथ्य र अनुसन्धान गर्न आवश्यक छ । तर, नेपाल दोस्रो भने होइन । त्यो कहानी बनाएर हामीले रटान लगाएको पाइयो । यसलाई तथ्यका आधारमा पाठ्यक्रमहरुमा समेत सुधार्नुपर्छ ।" 

नास्टका सदस्य तथा जलस्रोतविद् डा. लक्ष्मीप्रसाद देवकोटाका अनुसार विश्वमा आन्तरिक र कुल नवीकरणीय जलस्रोतमा ब्राजील सबभन्दा धनी देखिन्छ भने नेपालको स्थान क्रमशः ३६ औं र ४३ औं मा पर्दछ । तर प्रतिवर्ग किमी क्षेत्रफलमा उपलब्ध पानीलाई हेर्दा भने आन्तरिक रुपमा उपलब्ध जलस्रोतमा नेपालको स्थान २२ औं र कुल जलस्रोतमा ३२ औं देखिन्छ । यसबाट नेपाल जलस्रोतमा धनी देश भए पनि कुल होस् वा आन्तरिक, प्रतिव्यक्ति प्रतिवर्ष उपलब्ध हुने जलस्रोत होस् वा प्रति इकाई क्षेत्रफलको आधारमा निकालिएको होस्, नेपाल जलस्रोतमा भन्दै आइएको विश्वको दोस्रो धनी देश भने होइन भन्ने स्पष्ट हुन्छ । 

उनले भने, "भूमिगत जलश्रोतको स्तर घट्न सक्छ तर विश्वमा पानी घट्‍ने भन्‍ने हुँदैन । जमिनमा भएको पानी वाष्पीकरण भएर बादल बन्‍ने र त्यही वर्षाको रुपमा पृथ्वीमा झर्ने हो । तर, कुनै वर्ष नेपालमा बढी पानी पर्ला र जलुस्तर बढी होला कुनै वर्ष खडेरीका कारण पानी कम परेर स्तर घट्न सक्छ । निश्चित अवधिमा यसको अध्ययन र अनुसन्धान गरिरहनुपर्छ ।" 

स्वच्‍छ पानी कहाँ बढी ?

पृथ्वीको ७१ प्रतिशत भूभागमा पानी छ । जसले गर्दा पृथ्वीलाई निलो ग्रहसमेत भन्‍ने गरिन्छ । पानी जमिनमाथि मात्र नभएर जमिनमुनि पनि छ र वाफका रुपमा बादलमा समेत पानीको मात्रा छ । जम्मा ७१ प्रतिशत पानीमा स्वच्‍छ पानी केवल २.५ प्रतिशत मात्रै छ । जसमा पनि मानिसले प्रयोग गर्ने भनेको जम्मा पानीको ०.३ प्रतिशत मात्रै हो । बाँकी ९९.७ प्रतिशत पानी महासागर, सागर र बादल, माटोमा छ । जुन प्रयोगमा आउँदैन ।

विश्‍वमा मानिसको प्रयोजनमा आउने स्वच्‍छ पानीको मात्रा ४३ हजार क्युबिक किलोमिटरमात्र छ । जसमा नुनको मात्रा निकै कम हुन्छ र ताल, नदीहरू, झरनाहरू, चट्टानहरुको काँप, पोखरीहरू, हिमशिलाहरू र हिमनदीहरूमा पाइन्छ । भूमिगत जल पनि स्वच्‍छ हुनसक्छ । समुद्रको पानीमा नुन तथा अन्य अनिजको मात्रा बढी हुन्छ । विश्वमा सबैभन्दा बढी स्वच्‍छ पिउने पानी ब्राजीलमा पाइन्छ ।

जहाँ विश्‍वको १२ प्रतिशत स्वच्‍छ पिउने पानी छ । आठ हजार २३३ क्युबिक किलोमिटर पानी रहेको ब्राजिल जलस्रोतको धनी राष्ट्रको एक नम्बरमा छ । ब्राजीलको एमेजोनमा ७० प्रतिशत स्वच्‍छ पिउने पानी पाइन्छ भने बाँकी ३० प्रतिशत ब्राजीलका विभिन्‍न ताल, तथा पोखरीमा पाइन्छ । विश्‍वकै धनी राष्ट्र भए पनि करिब एक करोड जनसंख्या भएको ब्राजिलको मुख्य सहर साओ पउलोमा भने खडेरीको समस्या हुने गरेको छ । 

दोस्रो धनी राष्ट्रमा रुस पर्छ । जहाँ चार हजार ५०८ क्युबिक किलोमिटर स्वच्‍छ पानी पाइन्छ । विभिन्‍न नदी, ताल, पोखरीहरु तथा मानवसिर्जित जलश्रोतहरु स्वच्‍छ पिउने पानीका मुख्य स्रोतहरु हुन् । विश्वकै ठूलो र गहिरो ताल बैकाल ताल पनि रुसमै पर्छ । अमेरिकामा नविकरणीय स्वच्‍छ पिउने पानीको मात्रा बढी पाइन्छ । अमेरिकामा तीन हजार ६९ क्युबिक किलोमिटर स्वच्‍छ पीउने पानी पाइन्छ । जसमा २३ प्रतिशत भूमिगत पानी छ भने ७७ प्रतिशत जमिनमाथि छ । 

दुई हजार ९०२ क्युबिक किलोमिटरसहित स्वच्‍छ पानी पाइने मुलुकको चौथो नम्बर क्यानडा पर्छ । क्यानडामा करिब ८० लाख जनसंख्याका लागि स्वच्‍छ पिउने पानी तालहरुबाट प्राप्त हुन्छ । दुई हजार ८४० क्युबिक किलोमिटरसहित स्वच्‍छ पिउने पानी पाइने मुलुकको सूचीको पाँचौं नम्बरमा चीन पर्छ ।  ज्याङ्सी प्रान्तमा पर्ने पोयाङ ताल चीनको जलको मुख्य श्रोत हो । नेपालमा १९८ क्युबिक किमी पानी रहेको छ । यो मात्रा विश्वको प्रयोजनमा आउन सक्ने पानीको ०.४५% हुन आउँछ । 

विश्वमा पानीको संकट सन् २०२५ देखि

विश्व खाद्य तथा कृषि संस्था (डब्लुएफएओ) का अनुसार प्रतिव्यक्ति वार्षिक १७०० क्युबिक मिटरभन्दा कम पानी भएको अवस्थामा पानीको संकट भएको मानिन्छ । 

सन् २००१ मा संयुक्त राष्ट्र संघको जनसंख्या गतिविधि कोषले गरेको अध्ययनअनुसार सन् १९६० मा विश्वमा प्रतिव्यक्ति स्वच्‍छ पानीको मात्रा १२ हजार मिटर क्युब थियो भने सन् १९९० मा आठ हजार मिटर क्युब थियो । त्यस्तै सन् २०२५ मा उक्त तथ्यांक चार हजार मिटर क्युबसम्म झर्ने बताइएको छ । यस तथ्यांकअनुसार सन् २०२५ सम्ममा विश्वका एक तिहाइ जनसंख्यामा पानीको संकटमा पर्नेछ ।

भुटानी जनता एकजनाको भागमा प्रतिवर्ष करिब ४३ हजार मिटर क्युब पानी पर्न आउँछ । जबकि सार्क देशको औसत १,२०० मिटर क्युब प्रतिव्यक्ति मात्र छ । आन्तरिक रुपमा प्रतिव्यक्ति पानी उपलब्ध हुनेमा भुटानपछि नेपाल (७,३०० मी क्युब प्रतिबर्ष) पर्दछ भने कूल उपलब्ध जलस्रोतमा चाँहि बंगलादेश, जसको कूल उपलब्ध जलस्रोत प्रतिव्यक्ति ८,५०० मिटर क्युब रहेको छ । जलस्रोतविद् डा. देवकोटाका अनुसार बंगलादेश नेपालभन्दा अलिकति मात्रै अगाडि रहेको देखिन्छ । 

उनले भने, "यस क्षेत्रमा आन्तरिक जलस्रोतमा २०५० सम्म सबल रुपमा रहने देश भुटान र नेपाल मात्र देखिन्छन् भने कुल जलस्रोतको कुरा गर्दा बंगलादेश समेत आउँछ । चीन भने उपलब्ध जलस्रोतमा सामान्य स्थितिमा रहेने देखिन्छ ।"  विश्वमा पानीको यस्तो संकटको अवस्था सिर्जना हुनुमा जनसंख्यामा वृद्धि, प्रदुषण र वातवरणीय परिवर्तनहरु मुख्य कारक रहेका छन् ।

नेपालको हकमा औसतमा विभित्र प्रयोजनका लागि चाहिने पानी प्रसस्त देखिए पनि नदी बहावमा आउने समयगत विषमताले गर्दा नेपालको पानी वर्षायाममा त्यसै खेर गइरहेको छ भने हिउँदेयाममा सिंचाइ, खानेपानी, जलविद्युत उत्पादनजस्ता विभित्र प्रयोजनको लागि पानी पुगिरहेको छैन । अझ वर्षायाममा त बाढी, पहिरोजस्ता जल उत्पत्र प्रकोपहरुबाट नेपाल पिडितसमेत भइरहेको छ । 

डा. देवकोटाका अनुसार जल उत्पन्‍न प्रकोपबाट हुने क्षति कम गर्न र वर्षभरी चाहिने जति पानी उपलब्ध गराउनका लागि नदीहरुमा बाँध बाँधेर वर्षाको पानी सञ्‍चय गर्ने र पानीको अभाव हुने हिउँदमा त्यसको प्रयोग गर्नुपर्छ । उनले थपे, "साथै कृषि पोखरी, वन पोखरी, बाढी पानी पोखरी जस्ता जल संकलनका उपायहरु घनीभूत रुपमा प्रयोगमा ल्याएर मात्र वर्षामा हुने बाढी, पहिरोको समस्या र हिउँदमा हुने जल अभावको समस्यालाई कम गर्न सकिन्छ ।" 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २७, २०७६  ०९:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement