मानवीय शक्तिद्वारा जुन काम गरिन्छ, त्यसलाई श्रमिक या मजदुर भनिन्छ । चाहे त्यो काम शारीरिक या बौद्धिक प्रयासबाट काम गर्ने ब्यक्तिलाई श्रमिकको रूपमा बुझ्ने गरिन्छ । अर्को राजनीतिको भाषामा आफनै पुरुषार्थबाट बाँच्ने जनशक्तिलाई सर्वहारावर्ग भन्ने गरिन्छ ।
यस्ता वर्गसंग आफ्नो दुई पाखुराबाहेक अन्य बाँच्ने आधार नहुने वर्गलाई बुझिन्छ । यस्ता वर्ग अत्यन्तै धारिलो र निर्णायक भूमिकामा रहेता पनि हाम्रो दुषित राजनीतिका कारण यस्ता वर्गको न त वर्तमान हास्न सकेका छन्, न त भविष्य नै सुरक्षित हुन सकेका छन् । आज श्रमिक दिवस यस्ता श्रमशक्तिको सम्झना र सम्मान गर्ने एउटा उत्सव दिन हो ।
आजको तीतो यथार्थ
हाम्रो समाजको एउटा ठूलो हिस्सा यस्तो वर्गको छ, जो अभावमा जन्मन्छ र जीवनभरि ज्याला मजदुरी गरेर आफ्नो भाग्यसँग लडिरहेका हुन्छन् । खेतमा अन्न उत्पादन गर्छन्, तर भोकभोकै सुत्छन् । सबैको घर बनाउँछन् तर आफू आकाशमुनि रात बिताउँछन् । कपडा फ्याक्ट्रीमा काम गर्छन्, तर आङमा लुगा हुँदैन । सडकमा जन्मन्छन् र सडकमै बित्छ जिन्दगी । काम पायो भने खान पायो, काम नपाएको दिन भोकभोकै सुत्नेको जमात बढ्दो छ ।
न त यिनका छोराछोरीले स्कुलको मुख देखेका हुन्छन्, न त औषधि–उपचारका लागि अस्पताल नै धाउँछन् । यस्ता गरिखाने वर्गलाई मौसम परिवर्तनले पनि छेक्दैन । श्रममा आश्रित परिवारलाई चिसो, गर्मी या वर्षा आदिले कुनै असर पुर्याएको हुँदैन । उनीहरू बाह्रै महिना बाह्रैकाल आफ्नो ज्याला मजदुरीसँग मात्र सरोकार राख्छ्न । सधैंभरि विकास निर्माणका कार्यहरूमा श्रम खर्चिरहेका हुन्छन्, तर पनि सुख शान्तिले खान र बस्न पाउँदैनन् ।
अझ उल्टै यस्ता वर्गलाई अर्धसामन्ती तथा दलाल पुँजीपतिहरूले उनीहरूका उद्योग कलकारखाना तथा कम्पनीहरूमा न्यूनतम ज्यालाको साथै हप्कीदप्कीको भरमा ८ घण्टाको साटो १६–१८ घण्टासम्म काममा दलाएर श्रमको चरम शोषणबाट शोषकहरू मालामाल हुने तर शोषितहरू आजको २१औं शताब्दीमा पनि दासदासी झैँ बाँच्नुपर्ने बिडम्वनापूर्ण राजनीतिको अन्त हुन नसक्नु राज्यले श्रमिकलाई हेर्ने दृष्टिमा दृष्टिदोष देखिन्छ ।
प्रायः घरेलु कामदार, इँटा भट्टा, गलैंचा, साडी एम्ब्रोडिंग, छापाखाना, अटोमोबाइल, होटल, गिट्टी बालुवा ढुङ्गा तथा कृषि जस्ता अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरू शिकार बन्ने गर्छन् । यस्ता क्षेत्रमा दैनिक ज्यालादारी, बाल श्रमिक या बधुँवा मजदुरहरू असंगठित क्षेत्रमा रहेको हुनाले यिनीहरूको अवस्था डरलाग्दो र जोखिमयुक्त रहेको हुनाले अत्यधिक सास्ती भोग्न बाध्य छन् । यस्ता मजदुरहरूको न त बालापन हुन्छ न त जवानी नै । श्रम गर्दागर्दै आफू बित्छन्, तर पनि मुलुकको सर्वाङ्गिण विकासमा टेवा पुर्याइरहने श्रमिक वर्ग राजनीतिक दल र अर्थतन्त्रको मेरुदण्ड मानिएका छ्न ।
मजदुर दिवसको इतिहास
त्यसो त, विश्व मजदुर आन्दोलनका विविध पाटा र घुम्तीहरू छन् । जसमा रुसको अक्टोबर क्रान्ति, फ्रान्सको पेरिस कम्युन, बेलायत जर्मन लगायत थुप्रै मजदुर आन्दोलनका गाथाहरूले भरिपूर्ण भएतापनि अमेरिकाको शिकागो मजदुर आन्दोलनको एउटा विशिष्ट अवस्था र योगदानलाई बिर्सन सकिन्न ।
४ मे १८८६ का दिन अमेरिकाको शिकागो शहरको हे मार्केटमा विभिन्न कपडा कारखानाका झण्डै चार लाख मजदुरहरूले ८ घण्टा काम, ८ घण्टा आराम ८ घण्टा मनोरन्जनको माग राखेर विशाल हडतालको आयोजना भइरहँदा उक्त आन्दोलनमा बम बिस्फोट हुन्छ । गोली चल्छ अनि थुप्रै मजदुरहरू घाइते भएर रगताम्मै हुन्छन् । जसमा केही प्रहरी र मजदुरहरूको समेत मृत्यु भएको थियो भने धेरैलाई गिरफ्तार गरिएको थियो ।
तत्कालीन शासकले आन्दोलनमा हिंसा भडकाएको आरोपमा अल्बर्ट पार्सन, अगस्त स्पिस, जर्ज एंगल्स, लुइस लिंगलाई फाँसीमा झुण्ड्याएका थिए भने एडल्फ फिस्चर प्रहरी यातनामा मारिएका थिए । तत्कालीन शासकले दमनको नीति लिएपनि अन्ततः मजदुरहरूले ती शासकहरूलाई घुँडा टेकाएर विजयको रातो झण्डा फहराएको उक्त दिन एउटा उत्सव, एउटा प्रेरणाका रूपमा मजदुर दिवसलाई लिने गरिन्छ ।
यसै सम्बन्धमा सन् १८८९ मा फ्रान्सको पेरिसमा दोश्रो विश्व मजदुर संगठनका नेता एंगल्स नेतृत्वको बैठकले हरेक वर्षको १ मे तारिखलाई अन्तराष्ट्रिय मजदुर दिवस भब्यताका साथ मनाउने निर्णय गरिएको हुनाले सन १८९० देखि मात्र नियमित रूपमा अन्तराष्ट्रिय मजदुर दिवस मनाउन थालिएको हो ।
नेपालमा पनि पहिलो मजदुर दिवस सन् १९४० मा नैनलाल बोहराको अध्यक्षतामा विराटनगरमा मनाइएको थियो । नैनलाल बोहरा उक्त जुट मिलका मजदुर भएका नाताले उनको चर्चा ओझेलमा पर्न गएको हो । त्यसपछि २००९ सालमा वीरगन्जमा ६३ औं अन्तर्राष्ट्रिय मजदुर दिवस साहना प्रधानको अध्यक्षता मनाइएको थियो । राणा शासन र पंचायती ब्यवस्थामा प्रतिबन्ध हुँदा हुँदै पनि मजदुर दिवस मनाइने गरिन्थ्यो ।
यसपटक पनि आज (१९ बैशाख २०८१) १३५ औं अन्तराष्ट्रिय मजदुर दिवस विभिन्न दलका ट्रेड युनियन, मजदुर संघ संगठनलगायत सरोकारवाला निकायहरूले धुमधामका साथ मनाउने तैयारीमा जुटेको देखिन्छ । यसपालिको श्रमिक दिवसले श्रम पसिनाको उचित मूल्य पाउन सकुन् र विगतको झैँ ठूल्ठूला वाचा गरेर उदास बस्ने सरकारी प्रवृत्तिको निरन्तरता मात्र नबनोस् ।
नेपालमा मजदुर आन्दोलन
देशको आर्थिक विकास होस् या संसारको आधुनिक विकास र वैभवादिको सम्पूर्ण श्रेय श्रमिक वर्गमा जाने कुरा निर्विवाद छ । आज भन्दा ७५ वर्षअघि नेपालमा उद्योग धन्दाहरू भर्खर बामे सर्दै थिए । विराटनगर जुट मिल, राइस मिल, तेल मिल, कल फ्याक्ट्री, सलाई फ्याक्ट्रीहरूमा काम गर्ने कामदारहरू ठूलो संख्यामा थिए ।
त्यहाँका उद्योगहरूमा बढ्दो श्रम शोषण, आवासको खराब स्थिति, खानेपानीको समस्या, विमा बोनस आदि माग राखेर ४ मार्च १९४७ का दिन मजदुरहरूले आफ्नो हक अधिकार प्राप्त गर्न गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा मनमोहन अधिकारी, युवराज अधिकारी, तारणी कोइराला, गहेन्द्र शर्मा लगायत नैनलाल बोहरा, नरबहादुर लिम्बु, पंचादास र दार्जीलिङका रत्नलाल ब्राह्मण आदि नेताहरूको आह्वानमा बृहत सहभागिता थियो ।
९ मार्च १९४७ का दिन विश्वेश्वरप्रसाद कोइरालाको उपस्थितिले उक्त आन्दोलनलाई थप उर्जावान बनाएर अघि बढेको थियो, उक्त आन्दोलनमा सेनाद्वारा दमन गर्न थाल्यो । राष्ट्रिय कांग्रेसका प्रमुख नेताहरूलाई गिरफ्तार गरेर काठमाडौं ल्याइयो । केही भूमिगत हुँदै भारतको जोगबनीतिर लागे । त्यस दिनको दमनविरुद्धमा दुई दिनपछि पुनः मजदुरहरूको विशाल विरोध सभामा गोली लागेर तुलाराम तामाङ शहिद भएका थिए । बिराटनगरको उक्त आन्दोलन सल्किदै जनकपुर र बीरगंजमा सत्याग्रह आन्दोलनले क्रमशः ठूलो आकार लिदै गएको थियो ।
मजदुर संगठनको औचित्य
“संघे शक्ति कलौ युगे’’ केवल कलियुगमा मात्र होइन, हरेक देशकाल परिस्थिति र समाजमा संगठन सहराको सूचक मानिन्छ । सहारा तब पाइन्छ, जब नेतृत्व जनहितमा हुन्छ, न्याय सबैमा समर्पित हुन्छ तथा संगठन अनुशासित हुन्छ ।
राज्यको विभेदविरुद्ध लडेर आफ्नो हक अधिकार प्राप्त गर्न सहायक शक्ति संगठन हो । एउटा आदर्श संगठन त्यो हो, जो सामान्य ब्यक्तिको असमान्य कार्यमा तत्परता एबं सहयोग पुर्याउँछ, त्यो सच्चा संगठन मानिन्छ । हुन त, संगठन आफैँमा साध्य होइन र पनि सांगठानिक शक्तिले बडेबडेलाई घुँडा टेकाउने ल्याकत राख्ने भएकाले आशा र विश्वास दिलाएको हुन्छ । फेरि पनि संगठनको क्षमताको जाँच त्यसको संरचना विकास, अनुशासन, नीति, कार्यशैली आदिमा निर्भर गर्ने विषयले धेरै कुराहरूको निर्कौल गर्छ ।
देशभरि च्याउ उम्रेसरी संघ–संगठन हुँदा पनि श्रमजीवी वर्गको जीवनले कहिले काँचुली फेर्न सकेन । जबकि मजदुर नेताहरूको जीवन समृद्धिले फेरिने तर मजदुर सधैं अभावमा बाँच्नुपर्ने बिडम्वनापूर्ण स्थितिको अन्त अझै हुन नसक्नु अत्यन्तै दुःखद पक्ष हुन् ।
विगतमा यस्तै विभेद र असमानताविरुद्ध लडेर प्राप्त गरेको ब्यवस्थामा पनि देशको आधा जनसंख्या प्रति सरकारको सौतेला व्यवहार मौलिक अधिकार तथा श्रम ऐनविरुद्ध छन् । सरकारले श्रम ऐन २०७४ र सामाजिक सुरक्षा ऐन २०७५ श्रमिक वर्गको हितमा रहेपनि त्यसको कार्यान्वयन भए नभएको, अनुगमन नगर्ने, कमी कमजोरी नसच्याउँदा श्रम ऐन आदि हात्तीको देखाउने दाँत र चपाउने दाँत जस्तै बेग्ला भएका छन् ।
श्रम ऐनले सबै प्रतिष्ठानहरूमा श्रम ऐन लागू गर्ने, एक लाखको स्वास्थ्य विमा, सात लाखको दुर्घटना विमा, स्थायी अस्थायीबीचको विभेद अन्त गर्ने, श्रम अदालतमा न्यायाधीशको ब्यवस्था, काम थालेको दिनदेखि संचयकोष तथा उपदानको ब्यवस्था, मजदुर र रोजगारदाताबीचको सुमधुर सम्बन्ध स्थापित गर्ने विषयहरू हेर्दा सुन्दर र आकर्षक रहे पनि कार्यान्वयनमा लागू गर्न नसक्ने नियम कानुन कदापि जीवनोपगी हुन सक्दैनन् ।
यत्रो परिवर्तनपश्चात् पनि श्रमिक वर्गका आधारभूत विषयहरूलाई अझैसम्म सम्बोधन गर्न नसक्नु सरकारको नियतमै खोट देखिन्छ । जसकाकारण सामाजिक सुरक्षाअन्तर्गत पेन्सन पाउने अधिकार धरापमा छ । ‘नो वर्क, नो पे’, ‘हायर एण्ड फायर’ जस्ता श्रमविरोधी प्रावधान अघि सारेर सरकारले पूँजीपति वर्गको तावेदारी गरेको प्रष्ट झल्कन्छ ।
यसबाहेक घरेलु यातायात, होटल, निर्माण, सिलाइ बुनाइ, चिया बगान, कृषि, रिक्सा ठेला, भरिया आदि क्षेत्रमा कार्यरत दैनिक ज्यालादारी श्रमिकहरूका न्युनतम मागहरू पनि पूरा गराउन नसक्नु लज्जाका विषय हुन् । पटक पटकको मजदुर आन्दोलनलाई बीचैमा तुहाउन खोज्ने कारण धेरै छन् । सरकार स्वयं दलाल पुँजीपति वर्गको पक्षपोषणमा लाग्नु, दलगत राजनीतिमा मजदुर शक्ति विभाजित हुनु, मजदुर संगठनका नेताहरू आ–आफ्ना दलका नेताहरूको चाकडी गर्ने र झोला बोक्ने प्रवृत्ति आदिले मजदुर आन्दोलन दिनानुदिन कमजोर बन्दै गएको छ । त्यहीकारण श्रमजीवी वर्गको जीवनले कहिले काँचुली फेर्न नसक्नु दुर्भाग्यपूर्ण मानिन्छन् ।
अन्तमा : जुन वर्गले विकास र समृद्धिमा आफ्नो श्रम खर्चियो, सबैको हक अधिकारका लागि लड्यो आज त्यही वर्गको वर्तमान पिडादायक छ । भबिष्य अन्धकारमय छ । अझै पनि यहाँ श्रम र पसिनाको कुनै मूल्य र सम्मान छैन । श्रमजीवी वर्गप्रति राज्यको दोश्रो दर्जाको व्यवहार समस्या समाधानमा तगारो बनेर उभिएको पाउँछौं । जबकि हरेक मजदुर आन्दोलन परिवर्तनको बाहक बनेर थुप्रै राष्ट्रियस्तरका नेताहरू जन्माए, सत्तामा पुर्याएर देशको कार्यकारी प्रमुखको कुर्सी बिराजमान गराउँदासम्म पनि श्रमजीवी वर्गका जल्दाबल्दा मुद्दाहरूले कहिले महत्व पाएनन् ।
यस्तो परिस्थितिमा मजदुर स्वयंले आफ्नो वर्गीय संघर्ष गर्नुको अर्को विकल्प देखिँदैन । आज अन्तराष्ट्रिय मजदुर दिवस एउटा अधिकार प्राप्तिको दिनमा शहिदप्रति सम्मान प्रकट गर्ने र श्रमजीवी वर्गका बाँकी अधुरा माग प्राप्ति लागि एकता र प्रतिबद्धता व्यक्त गरेर देशी बिदेशी प्रतिक्रियावादीका विरुद्धमा संघर्षको बिगुल फुक्दै काम र मामको दिगो आधार तैयार पार्न आजैबाट प्रण गरौं र लागौं ।
स्मरण रहोस्, सरकारले कागजमा विकासका योजना बनाउँछ भने मजदुरहरूले उक्त योजनालाई आफ्नो श्रम पसिना बगाउँदै मूर्तरूप दिने महान मजदुरहरूलाई विश्व मजदुर दिवसको शुभकामना ! शुभकामना ! शुभकामना !