site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
किन बेचैन छन् माधवकुमार नेपाल ? भन्छन्– मनमा चैन भइराख्या छैन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल सत्ता गठबन्धनमा सन्तुष्ट देखिँदैनन् । गठबन्धन लामो समय नटिक्ने उनको अभिव्यक्ति निरन्तर छ ।

“मनमा चैन छैन,” बुधबार पार्टीको चितवन जिल्ला अधिवेशनमै उनले भने, “हामी यो गठबन्धनमा छौं, तर मनमा अल्ली चैन भइराख्या छैन । केही विमति छन् । कहिले के हुन्छ ? म भन्न सक्ने अवस्थामा छैन ।”

विशेषगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारप्रति नेपाल आक्रोश पोखिरहेकै छन् ।  उनले नेताहरूले नमिलाए राजनीति दुर्घटनामा जान सक्ने चेतावनीसमेत दिँदै आएका छन् । 

वैशाख १७ गते पार्टी कार्यालय आलोकनगरमा अखिल नेपाल महिला संघको कार्यक्रममा उनले देश गलत दिशामा नजाओस् भन्नेमा सचेत रहेको बताए । 

“देशको राजनीति गलत दिशामा नजाओस् भन्ने कुरामा हामी सजग छौँ । कताबाट बाटो घुम्छ विचार गरिरहेका छौँ,” उनले भने, “घुम्ती बाटोमा हिँड्दा दुर्घटनामा नपरोस् भन्नेमा विचार गरिरहेका छौँ ।”

एकीकृत समाजवादी सरकारमा सामेल हुने बेलामा नै रोचक बनेको थियो । 

०७९ फागुन २१ गते एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीबीच आठबुँदे सहमति भयो । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेससहितका दलको गठबन्धन तोड्दा एकीकृत समाजवादीलाई सामेल गराएका थिएनन् ।  

तर, त्यही दिन दाहालले नेपालको निवास कोटेश्वर पुग्दै सरकारमा सामेल हुन आग्रह गरेका थिए । नेपालले गठबन्धन बनाउँदा बेवास्ता गरेको भन्दै सरकारमा सहभागी हुन अस्वीकार गरे । 

फागुन २२ गते प्रधानमन्त्री, एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेतासहित फेरि नेपाल निवास कोटेश्वर पुगे, फकाउने उद्देश्य बोक्दै । फागनु २३ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अर्को गठबन्धन बनाउने प्रयास पनि गरेका थिए । अर्थात्, माधव नेपाल तानातानमा परेका थिए । 

देउवासहितका नेता सहकार्यको प्रस्ताव लिएर कोटेश्वर पुगेका थिए ।

तर, एकीकृत समाजवादीले कांग्रेसको प्रस्ताव अस्वीकार गरी दुई मन्त्रालय लिँदै प्रचण्ड सरकारमा सामेल भयो । भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासन र धनबहादुर बुढालाई सहरी विकास मन्त्री बन्ने अवसर मिल्यो ।

सरकारमा सामेलयता एकीकृत समाजवादीका नेताहरू सन्तुष्ट सुनिएको छैन । राष्ट्रियसभाको अध्यक्षको निर्वाचन र प्रधानमन्त्रीको विश्वासको मत लिने बेलामा पनि रस्साकस्सी चलेको थियो ।  एकीकृत समाजवादीले विगतका सहमति कार्यान्वयन नभएको अडानसहित लिखित सहमति नगरी विश्वासको मत नदिने निर्णय गरेको थियो । 

त्यसपछि फागुन २९ गते एकीकृत समाजवादीसहित पाँच दलबीच सात बुँदे सहमति भएको थियो । उक्त सहमतिपछि एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने पक्षमा उभिएको थियो ।

एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे, प्रमुख सचेतक मेटमणी चौधरी पनि गठबन्धन प्रति सन्तुष्ट देखिँदैन । प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा नै पाण्डेले प्रतिपक्षीलाई सघाउन पुग्ने अभिव्यक्ति दिएपछि प्रधानमन्त्री आक्रोशित बनेका थिए । 

त्यस्तै, प्रदेशका मन्त्री र मुख्यमन्त्री नियुक्तिमा पनि एकीकृत समाजवादीको विमति छ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जीता श्रेष्ठ पक्षका कैलाश चौधरीलाई बनाउने निर्णयविरुद्ध एकीकृत समाजवादी उभिएको थियो ।

आफ्नो पार्टीलाई मुख्यमन्त्री दिने सहमति उल्लंघन भएको जिकिरसहित एकीकृत समाजवादी नागरिक उन्मुक्ति पार्टीकै लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेको थियो । जसमा कांग्रेसको साथ थियो । तर, पार्टीले मुख्यमन्त्री पाउने सहमति भएपछि हस्ताक्षर फिर्ता लिइएको थियो ।

तर, एमालेले सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ सोडारीबाहेकलाई मुख्यमन्त्री स्वीकार गर्ने अडान लियो । मुख्यमन्त्रीमा एमालेले समर्थन नगर्ने संकेत पाएपछि नेपालले वैशाख ५ गते कांग्रेस सभापति देउवासँग गोप्य भेटवार्ता गरेका थिए ।

एमालेले सोडारीलाई मुख्यमन्त्री बन्न नसघाए कांग्रेसलाई सघाउने र दीर्घकालीन रुपमा सहकार्य गरी जाने सहमति उनीहरूबीच बनेको थियो ।

तर, एमालेले सोडारीलाई समर्थन गरेपछि गठबन्धनको संकट टरेको थियो । केन्द्रीय सरकारमा दुई मन्त्री, सुदूरपश्चिममा मुख्यमन्त्री र प्रदेश सरकारहरूमा सहभागी रहे पनि नेताहरूले विमति प्रकट गर्न छाडेका छैनन्  । 

प्रतिपक्षी दल नेपाली कांग्रेस माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने गरी गठबन्धनको तयारीमा जुटिरहेको चर्चा पनि राजनीतिक वृत्तमा हुँदै आएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले वैशाख १७ गते पार्टी कार्यालय आलोकनगरमा भएको कार्यक्रममा आफू प्रधानमन्त्री बन्ने हो कि भनेर कतिपयलाई पोल्न थालेको टिप्पणी गरे ।
 
“हामी प्रधानमन्त्री बन्छौँ कि भनेर कतिपयलाई पोल्न थालेको छ,” उनले भनेका थिए, “तिनीहरूलाई पोले पोलोस् । दनदनी आगोले पोलोस् । त्यस्ता प्रवृत्ति बोक्नेलाई धिक्कार भन्नुपर्छ !”

बेचैन किन ?

एकीकृत समाजवादी प्रदेशको भागबण्डा असन्तुष्ट थियो । अब यतिखेर प्रदेशको भागबण्डाको विवाद सतहमा छैन । तथापि, अध्यक्ष नेपालको असन्तुष्टिको अभिव्यक्ति आउनुकापछाडि कारणबारे नेताहरू पनि अनभिज्ञता प्रकट गर्छन । 

“यसअघि सम्मानजनक भागबण्डा नहुँदा असन्तुष्टि थियो । यतिखेर त ठीकै छ । हिजो अध्यक्षले किन त्यस्तो अभिव्यक्ति दिनुभयो बुझ्न सकिएन,” एक नेताले बाह्रखरीसँग भने । पार्टीका उपाध्यक्ष केशवलाल श्रेष्ठले भने प्रधानमन्त्रीकै कारण गठबन्धन लामो समय जानेमा विश्वस्त हुन नसकिने बताए । 

“गठबन्धन कहिलेसम्म जान्छ भन्ने अवस्था नै छैन । त्यो प्रधानमन्त्रीकै कारण हो नि त । प्रधानमन्त्रीज्यूले आफू अनुकूल गठबन्धन बदलिरहनुभएको छ,” उनले भने ।

माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्षले तत्काल पार्टी एकताको सम्भावना नरहेको अभिव्यक्ति दिएपछि एकीकृत समाजवादीका नेताहरू झस्किएका छन् । 

भदौ १० गते गोदावरीमा आयोजित कार्यक्रममा दुई नेताले पहिले जस्तो हतारमा पार्टी एकता नगर्ने र सहकार्य गर्दै जाने सन्देश दिएका थिए ।

उपाध्यक्ष श्रेष्ठ सरकार गठनका बेलामा गरिएको अपेक्षामा तुषारापात भएको बताउँछन् । 

“गठबन्धनमा वामपन्थीहरूको बाहुल्यता छ । तर, प्रधानमन्त्री र एमाले अध्यक्षले वामपन्थी एकता हुन सक्दैन भनेर सार्वजनिक रुपमा बोल्नुभयो । यो गठबन्धनले वामपन्थीलाई बलियो बनाउने, वामपन्थी एकतातर्फ अघि बढ्छ भन्ने अपेक्षमा उहाँहरूको अभिव्यक्तिले तुषारापात भएको छ । त्यसैले गठबन्धन कति जान्छ भन्न सकिँदैन,” श्रेष्ठ भन्छन् । 

देशभित्र र बाहिरका चलखेलले गठबन्धनको आयु लामो नरहेको भनाइ उनको छ । 

“राजनीतिक अस्थिरता नभएको अवस्थामा विभिन्न ढंगले चलखेल भइरहेकै छ । देशभित्रै पार्टी पनि यो वा त्यो वाहनामा लाग्ने र बाह्य शक्तिले नेपालको राजनीतिलाई अस्थिर बनाउने प्रयत्न अनवरत भइरहेको छ,” श्रेष्ठ भन्छन् ।
 
राजनीतिक विश्लेषक श्याम श्रेष्ठको भने नेपालको अभिव्यक्ति र वेचैनीलाई ‘बार्गेनिङ टुल्स’का रुपमा हेर्छन् । 

“माधव नेपालको बार्गेनिङ टिप्स जस्तो लाग्छ । आफ्नो हैसियतभन्दा बढी लिन च्याँखेदाऊ थापे जस्तो देखिन्छ । न उनले गठबन्धन छाड्छन्, न त धम्की,” श्रेष्ठको ठम्याइ छ । 

पार्टीका नेताले पनि पार्टीका नेताहरू पनि यसअघिको असन्तुष्टि बार्गेनिङ नमिलेकै कारण भएको स्वीकार गर्र्दै आएका छन् ।  देशमा गठबन्धन संस्कृति नभएको र नेताहरूको अभिव्यक्तिले अस्थिरतालाई मलजल गरिरहेको विश्लेषक श्रेष्ठ बताउँछन् । 

“यस्तो अविश्वासको वातावरण नबन्नुपर्ने हो । नेपालमा गठबन्धन संस्कृति नै भएन,” उनले भने, “देशलाई राजनीतिक स्थिरता चाहिएको छ । यी नेताहरू हमेशा राजनीतिक अस्थिरताका कुरा गर्छन् । यसले देशको, नेताको भलो हुँदैन ।”
 

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १५:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro