काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बुद्धको देशमा हिंसा कदापि स्वीकार्य नहुने बताएका छन् । काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घको ४०औँ साधारणसभालाई आज बनेपामा सम्बोधन गर्दै उनले भने, “बुद्धको देशमा हिंसा अस्वीकार्य छ ।” जसले हिंसा गर्छ अन्तिममा त्यही शिकार बन्ने उनको दाबी थियो ।
मन्त्री बाँस्कोटाले विभिन्न स्थानमा लुकेर जनतालाई आतङ्कित पार्ने ‘जङ्गली राज’ वर्तमान अवस्थामा नचल्ने बताए । उनले भने, “यो प्रजातन्त्र हो, प्रजातन्त्रमा विचार चल्छ, बहस हुन्छ ।” खुला राजनीतिमा आएर राष्ट्रपतिसम्म बन्न सकिने अवस्थामा कसैले कसैलाई नरोकेको उनको भनाइ थियो ।
मन्त्री बाँस्कोटाले जनताका सामुन्ने हिंसा भड्काएर आतङ्क मच्चाउने, स्कूल र उद्योगीलाई दुःख दिने, स्थानीय निकायमा चन्दा आतङ्क मच्चाउनेजस्ता गतिविधि गलत भएको बताए । “अब यस्ता गतिविधि चल्नेवाला छैन, यो देशका निम्ति घातक सावित हुनेछ”, उनले भने ।
कसैले हिंसा भड्काउँदा सरकार झुक्ला भन्ने ठान्नु गलत हुने उल्लेख गर्दै सरकार कुनै पनि हालतमा कमजोर नहुने मन्त्री बाँस्कोटाले दाबी गरे । “मुलुकलाई पुनः अस्थिरतातर्फ धकेल्ने नौटङ्की कसैले पनि नगर्दा हुन्छ”, उनले भने ।
“तपाईंहरु (उद्योगी) सडकमा आउनु पर्दैन, छलफलबाटै समस्या समाधान हुन्छ”, मन्त्री बाँस्कोटाले भने । देशमा आन्दोलन, झडप भैदिए आफ्नो स्वार्थसिद्ध गर्न खोज्ने एकथरि भए पनि तिनको चाहना पूरा नहुने उनले बताए ।
फरक प्रसङ्गमा मन्त्री बाँस्कोटाले देश निर्माणका लागि विदेशीको सहयोग पूँजी प्रविधिमा लगानी गर्न लिइने बताए । उनले भने, “विदेशीको सहयोग पनि लिन्छौँ तर हाम्रो हितमा लिन्छौँ, उनीहरुको हितका लागि हैन ।” उनले उद्योगको क्षेत्रमा केही कमी कमजोरी भए छलफल गरेर अगाडि बढ्ने बताए । रासस