site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
जबजबारे विवाद टुंगियो, मदन भण्डारीको हत्यारा खोज्न प्रचण्डको आग्रह
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यदिशा विवाद टुंगिएको छ ।

पार्टी एकताको वर्षदिनपछि सत्तारूढ पार्टी मदन भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ मान्ने कि, एकताका बेला अन्तरिम राजनीतिक कार्यदिशाका रूपमा अघि सारिएको ‘जनताको जनवाद’ मान्ने भन्ने प्रश्नमा अलमलिएको थियो । र, विवादले पार्टीभित्र वैचारिक ध्रुवीकरणको निम्तो दिएको थियो ।

कार्यदिशा विवाद लम्बिँदै जाँदा शीर्ष तहमा सम्वादविहीनता र बैठक विहीनताको अवस्था विद्यमान थियो । तर, शनिबार मदन भण्डारीको ६८ औँ जन्मजयन्तीका अवसरमा आयोजित विचार गोष्ठीमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल एकै ठाउँमा उभिएपछि वैचारिक मतभेद तत्कालका लागि थामथुम लागेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

गएको शुक्रबारको बैठकमा एकवर्षदेखि नछापिएको राजनीतिक प्रतिवेदनमा जबज राखेर पुनर्लेखन गर्नुपर्ने तर्क अध्यक्ष ओलीले गरेपछि नेकपा भित्रको वैचारिक मतभेद सतहमा आएको थियो । र, नेता–कार्यकर्ता पक्षविपक्षमा खडा भएका थिए । शनिबार अध्यक्ष केपी ओलीले महाधिवेशनसम्मका लागि पार्टीको राजनीतिक कार्यदिशा जनताको जनवाद नै रहेको बताएपछि वैचारिक मतभेद साम्य भएको छ ।

प्रचण्डको काउन्टर अट्याक

Global Ime bank

पूर्वएमालेभित्र जबज मान्ने र नमान्ने स्पष्ट दुई धार छ । अध्यक्ष ओली जबजका पक्षपाती हुन् भने घनश्याम भुसाललगायत दोस्रो तहका नेता जबजले समाजवादको कार्यदिशा बोक्न नसक्ने तर्क गर्दै आएका छन् । र, यसमा प्रचण्डको साथ छ । जबज इतर पक्षले समाजवादी राजनीतिक कार्यदिशाकै खाँचो औँल्याएका छन् । अन्तरिम कार्यदिशाका रूपमा अघि सारिएको जनताको जनवादलाई विकास गर्नुपर्ने उनीहरूको तर्क छ ।

शनिबार मदन भण्डारीको जन्मजयन्तीमा बोल्दै प्रचण्डले मदनको हत्यारा को हो अब किटान गर्नुपर्ने बताए । तत्कालीन पार्टी महासचिवसमेत रहेका मदन भण्डारीको हत्या भएको प्रष्ट रूपमा थाहा हुँदाहुँदै पनि हत्या भएको किटान गर्न नसकेको र हत्यारा को हो भन्न नसकेको भन्दै पूर्वएमालेतिर औँला तेर्स्याए ।

“कमरेड मदन भण्डारीको रहस्यमय अवशान किन भयो ? भोलि त्यस्तै हुँदैन भनेर हामीले ग्यारेन्टी किन गर्न सकिराखेका छैनौँ ?,” उनको प्रश्न थियो ।

“मदन भण्डारीको हत्या जसरी भयो, त्यो रहस्यमय छ, नियोजित छ । तर हत्यारा कसले किन गर्‍यो ? हत्यारा फलानो (देश भित्र र बाहिरका) शक्ति नै हो भनेर किटेर प्रमाण प्रस्तुत गर्न सकेका छैनौँ,” उनले जोड दिएका थिए । मदन भण्डारी र जीवराज आश्रितको हत्यारा भयानक डिजाइनमा भएको तत्कालीन एमालेका नेता कार्यकर्तालाई लागे पनि दोषी किटान गर्न नसकेको उनको भनाइ थियो ।

हत्यामा बचेका एकमात्र साक्षी अमर लामालाई पनि बचाउन नसकेको उनको तर्क थियो । यद्यपि अमर लामालाई तत्कालीन नेकपा (माओवादी) कै कार्यकर्ताले कीर्तिपुरमा गोली हानी हत्या गरेको पुष्टि यसअघि नै भइसकेको छ । स्वर्गीय नेता भण्डारीले प्रतिक्रियावादीलाई खुलेआम चुनौती दिने गरेको सन्दर्भ कोट्याउँदै हत्यारा प्रतिक्रियावादीहरू हुनसक्ने औँल्याए । तर, पूर्वएमालेको नेतृत्वले छाला जोगाउन लागेको उनको बुझाइ थियो ।

“कहिलेकाहीँ मलाई चिन्ता लाग्छ– हामी कतै छाला जोगाउनतिर त लागेका छैनौँ, अलि नरम भाषा नगरेर नरिसाओ न प्रतिक्रियावादी धेरै भन्नेतिर जान थालेका त हैनौँ, नरिसाउनूहोला, यो मेरो आरोप होइन, विचारमात्रै हो । हामी त मारिएका त छैनौँ नि, आजसम्म । मदन भण्डारी ४१ वर्षमै मारिनुभयो । हामी ६५–६६ वर्षसम्म मारिएका छैनौँ,” उनको भनाइ थियो ।

“हामीले मदनको हत्यारा पत्ता लगाउन सकेका छैनौँ, यसर्थ त्यस्ता घटना दोहोरिँदैनन् भन्ने सुनिश्चितता गर्न सकेका छैनौँ । अर्को त्यस्तो घटना नदोहोरियोस् भनेर छाला जोगाउनतिर लाग्ने खतरा पैदा भएको छ । दोषी पत्ता लगाएर जनताको बीचमा ल्याउन सक्दा छाला जोगाउन पर्दैन । होइन भने प्रश्न उठ्छ । त्यसकारण यस्ता गम्भीर प्रश्नहरू छन् । हामीले घोत्लिन जरुरी छ,” उनले भने ।

उनले नेपालको राजनीतिमा यस्ता रहस्यमय घटना भएको र राजदरबार हत्याकाण्ड त्यसैको पछिल्लो कडी भएको बताए । कार्यक्रममा अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री हुँदा नारायणहिँटीछेउ उभिएर दरबार हत्याकाण्डबारे सत्य–तथ्य पत्ता लगाउने उद्घोष गरेको भए पनि नसकेको आत्मस्वीकारोक्ति गरे ।

“दोषी पत्ता लगाउन केले रोक्छ कुन्नी ? हामीले किन सक्दैनौ ? जनताले होइन,” उनले आश्चर्य व्यक्त गरे ।

मदन देखाउँदै जबज छाडेर अघि बढ्न आग्रह

गतिशीलता नस्वीकारेको र सङ्कृर्ण बनेको भए मुक्ति मोर्चाबाट आएको मदन भण्डारी नेकपा (माले)को महासचिव बन्नै नसक्ने जिकिर गरे । मार्क्सवादलाई गतिशील विज्ञानका रूपमा अङ्गिकार गरेकै हुनाले जबज प्रतिपादित भएको भन्दै अध्यक्ष प्रचण्डले बारबार पूर्वएमाले पंक्तिलाई मदनको विचार, राजनीतिक कार्यदिशाबाट अघि बढ्न आग्रह गरिरहे ।

मदन भण्डारीजस्तै देश, काल परिस्थितिअनुसार आफूलाई बदल्न तयार हुने नेता नै आजको कम्युनिस्ट आन्दोलनमा खाँचो रहेको औँल्याउँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले भने, “हामीले आग्रह, पूर्वाग्रह, उक्साहट र सङ्कृर्णतामाथि विजय हासिल गर्नैपर्छ । आजको परिस्थितिलाई बुझेर मिल्न सक्नेजति सबैसँग मिलेर अघि बढ्न तयार राख्नुपर्छ ।”

छाला नजोगाऔँ भन्दा केपी ओली चुप !

मदन भण्डारीको हत्यारा नखोजेर छाला नजोगाऔँ भन्दा ओली शान्त र एकाग्र देखिए । उनी लगभग प्रतिक्रियाविहीन थिए । मदन भण्डारीको रहस्यमय मृत्युको छानबिन गर्न पार्टीका तर्फबाट गठित समितिका संयोजक रहेका ओलीले प्रचण्डलगत्तै बोल्दा कुनै प्रतिक्रिया दिएनन् । बरु उनले पार्टी कार्यदिशाका बारे प्रचण्डकै विचारमा उभिएर पार्टीभित्रको विवाद तत्कालका लागि टुंगिएको संकेत गरे ।

तर, पार्टीको दीर्घकालीलन विचारबारे ओलीको अडान कायमै रहेको देखियो । सम्बोधनको पूवाद्र्धमै उनले जबज कुनै क्रान्ति केन्द्रित कार्यक्रम नरहेको बताए । “जबज २०४६ सालमा बहुदलीय व्यवस्था प्राप्त गन २०६२–६३को राजतन्त्र अन्त्यका लागि तयार पारिएको कार्यक्रम होइन । यसले समाजावादसम्म पुग्ने आधार तयार पारेको छ,” उनको अडान थियो ।

नेकपा फुट्ला भनेर आश नगर्न कांग्रेसलाई आग्रह

“हामी अलिकति पनि पार्टी एकतालाई सुदृढ बनाउने कुरामा, सरकारलाई सफल बनाउने कुरामा, जनआकांक्षालाई पूरा गर्ने कुरामा असफल भयौँ भने, हामी दुईजना नेताकोमात्रै असफलता हुनेवाला छैन, कम्युनिस्ट आन्दोलनको मात्रै असफलता हुनेवाला छैन । यो पटक हामीले साहस गर्‍यौँ, या दुस्साहस गर्‍यौँ, जे गर्‍यौँ, पार्टी एकता गर्‍यौँ । पार्टी एकता गरेर असफल भइसकेपछि कम्युनिस्ट आन्दोलन फेरि यो रूपमा उठ्न शायदै सम्भव हुन्छ । बरु दुईवटै पार्टी रहिराखेको भए कहिले को ठूलो कहिले को ठूलो हुने सम्भावना हुन्थ्यो, अब त्यो सम्भावना छैन । सिद्धियो भने दुवै एकैपटक सिध्धिन्छ,” उनी आफ्नो तर्कमा उभिए ।

उनले कम्युनिस्ट सकिएर कांग्रेस आउने अवस्था पनि नरहेको बताए । “कांग्रेसले कम्युनिस्ट पार्टीले झगडा गरेर फुटिदिएदेखि हाम्रो पालो आउँथ्यो भनेर सोच्दै नसोचे हुन्छ । सिस्टम नै जाने खतरा हुन्छ,” उनले भने । प्रचण्डले नेता कार्यकर्तालाई सकारात्मक उत्प्रेरणा जगाउन आग्रह गरेका थिए ।
“आएर खत्तम छ नि भनेर सुनाइदिनुभयो भने, हामी पनि मान्छे नै हो, दिमाग खराब हुन्छ,” उनले ठट्टा गरे ।
तस्बिरः रासस
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १४, २०७६  २०:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement