वासिङ्टन । बिजुली अब आमआवश्यकताको साधन बनिसकेको छ । कतिपय अवस्थामा यो वस्तुबिना जीवनको कल्पना पनि गर्न सकिन्न । दुई-चार मिनेट बिजुली नहोस् त हामी छटपटिन थालिहाल्छौं ।
तर दुर्भाग्य, अहिलेकै गतिमा विद्युत् आपूर्ति हुने हो भने २०३० सम्ममा ६५ करोड मानिस अन्धकारमा जीवन गुजार्न बाध्य हुनेछन् । यी मानिसमध्ये ९० प्रतिशत उपसहारा अफ्रिकाका हुनेछन् ।
विश्वमा १५ करोडभन्दा बढी मान्छेलाई प्रत्येक वर्ष बिजुली आपूर्ति गरिँदै आएको छ । यसले बिजुलीबिना बाँच्ने मान्छेको सङ्ख्या घटाउँदै लगेको छ । तर विश्वको विकासका निम्ति यो पर्याप्त छैन ।
विश्व बैङ्क तथा अन्य अन्तरराष्ट्रिय संस्थाहरुले बुधबार जारी गरेको एक रिपोर्टले मान्छेलाई बिजुली नपुगेको स्पष्ट पारेको छ । रिपोर्टले भनेको छ- खानेकुरा पकाउँदा हुने प्रदूषण कम गर्ने तथा नवीकरणीय ऊर्जालाई प्रोत्साहित गर्ने प्रयास स्वरुप २०१५ मा तय गरिएको लक्ष्य प्राप्तिभन्दा निकै टाढा छ ।
यो रिपोर्ट संयुक्त रुपमा पेस गर्ने अन्तरराष्ट्रिय ऊर्जा एजेन्सीका कार्यकारी निर्देशक फतिह बिरोल भन्छन्, ‘‘म दुनियाँका केही हिस्सा, खासगरी उपसहारा अफ्रिकामा विश्वसनीय, आधुनिक तथा सहज ढङ्गमा ऊर्जामा पहुँचलाई लिएर निकै चिन्तित छु ।’’ संयुक्त राष्ट्र सङ्घका सदस्य रास्ट्रहरुले सन् २०३० सम्ममा ऊर्जा, शिक्षा, पर्यावरण, लैङ्गिक समानताका क्षेत्रमा समान र सहज विकास गर्नका लागि २०१५ मै १७ लक्ष्य पारित गरेको पनि रिपोर्टमा स्मरण गरिएको छ ।
यो लक्ष्य हासिल गर्नका लागि अब केवल ११ वर्ष बाँकी छ । तर लक्ष्य प्राप्तिको दिशामा कतिपय देश अझै निकै पछाडि छन् । विद्युत्सम्मको जनताको पहुँचमा वृद्धि नभएको चाहिँ होइन, तर सम्बद्ध देशका सरकारले विद्युत् आपूर्तिको गति भने बढाउन सकेका छैनन् । - एएफपी