चितवन । लायन्स क्लब अफ बागेश्वरीको आयोजनामा चितवनमा हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । लायन्स क्लब इन्टरनेशनका फाउण्डर मेल्भिन जोन्सको जन्मोत्सवको अवसरमा पुस २८ गते भरतपुरमा हाफ म्याराथन प्रतियोगिता गर्न लागिएको हो ।
‘मधुमेह सचेतनाका लागि दौड’ भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगितामा सहभागीहरुले २१ दशमलब एक किलोमिटरको दूरी पार गर्नुपर्ने आयोजकले जनाएको छ ।
भरतपुर महानगरपालिकाको गेष्ट हाउस चौरबाट सुरु हुने दौडको रुट हाकिम चोक, पारसनगर, चोकबजार, नारायणपुर, प्रेमबस्ती हुँदै पुनः गेष्ट हाउस चौर रहेको प्रतियोगिता संयोजक हरिशरण श्रेष्ठले जानकारी दिए । लायन्स क्लब इन्टरनेशनल ३२५ बी टु का चिफ डिष्ट्रिक्ट एडभाइजर रामप्रसाद भट्टका अनुसार प्रतियोगितामा सहभागी सबैको बीमा गरिनेछ ।
प्रतियोगितामा प्रथम हुनेले ४० हजार रुपैयाँ, दोस्रो हुनेले २५ हजार रुपैयाँ, तेस्रो हुनेले १५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । चौथो हुने टोलीले सात हजार रुपैयाँ तथा पाँचौँ हुनेले पाँच हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले बताएको छ ।