एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा यो समय सबैतिर आगोले जलिरहेको जस्तो गन्ध आउने गर्दछ । वास्तवमा शहरको तीन चौथाइ गाडीले प्रयोग गर्ने कार्सिनोजेनिक डिजेल, ऊर्जा उत्पादन गर्ने फोहोर कोइला, नजिकैका किसानहरुले बारी खालि गर्न जलाउने गरेका खोस्टा, फोहोरका थुप्रा, अन्तिम संस्कारका लागि वार्षिक जलाइने शहरका चार लाख रुख जस्ता कुराले नै दिल्लीको प्रदुषण यति भयानक बनाइदिएको छ कि मानिसहरुले एक दिनभर सास फेर्दा त्यहाँको हावाले आधा बट्टा चुरोटको धुँवा बराबर असर गर्ने गरेको छ । अझ खराब मौसममा त मानिसहरुले दुई बट्टा चुरोटको धुँवामा सास फेरिरहेको अनुभूति गर्ने गरेको बताइएको छ । यसरी त्यहाँ बेइजिङमा भन्दा दुई गुना बढी धुँवाधुलो रहेको छ ।
हावा मात्र नभएर त्यहाँको ७० प्रतिशत पानीका श्रोत पनि दूषित रहेका छन् । यसरी विश्व स्वास्थ्य संगठनको अत्याधिक प्रदूषणयुक्त क्षेत्रहरुको सूचीमा भारतका १४ शहरहरु शिर्ष स्थानमा पर्दछन् । नेपालको काठमाडौँ भने सो सूचीमा २०३ औँ स्थानमा रहेको छ । यसैकारण यस्तो हावाले सर्वसाधारणहरुलाई असहज मात्र नबनाएर तिनीहरुको ज्यान समेत लिने चेतावनी धेरैपटक दिइएको छ । यसले दिल्लीका स्थानीयको औसत आयु १० वर्ष घटाइरहेको युनिभर्सिटी अफ सिकागोको अध्ययनले देखाएको छ । त्यस्तै फोहार पानी सेवन गर्दा त्यसले पनि वार्षिक २ लाख मानिसको ज्यान लिने गरेको पनि तथ्याङकमा उल्लेख छ ।
दिल्लीमा मात्र नभएर देशभरका उद्योगबाट उत्पन्न हुने विषाक्त पदार्थ लापरबाहीपूर्ण जथाभावी फाल्न थालिएपछि यस्ता रसायनहरु स्थानीय कुवामा मिसिन पुग्दा अपांगता जस्ता गम्भीर समस्या देखा परिरहेको बताइएको छ । त्यस्तै भारतको अर्को प्राविधिक क्षेत्र ब्याङलोरमा पनि अधिकांश पोखरी र खोलाहरुमा फिँजै फिँज देख्न सकिन्छ । त्यस्तै हायद्रावादमा पनि नदिहरुमा एन्टिबायोटिक रसायनहरु फालिने गरिएको पाइन्छ । यसरी शहरमा मात्र नभएर ग्रामीण क्षेत्र पनि दिल्ली बराबरकै धुँवा, धुलो र प्रदूषणले व्याप्त रहेको छ । त्यसैगरी हिन्दु धर्ममा अत्यन्तै पवित्र मानिने गंगा नदि समेत २५०० किलोमिटर सम्म नुहाउन वा पिउन लायक छैन । यता अत्याधिक कोइलाको उपयोगले पनि सबै जंगलहरु नास भइरहेका छन् भने सास फेर्न नमिल्नेगरी हावा कालो हुने गरेको छ ।
वास्तवमा सरकारले गंगा नदि सफाइको कार्यक्रम १९८६ मा सुरु गरेको थियो भने दिल्लीका सार्वजानिक सवारी प्राकृतिक ग्यासयुक्त बनाउने अभियान पनि २० वर्ष अगाडि सुरु गरिएको थियो । त्यस्तै अहिलेको सरकारले पनि पुनः प्रयोग गर्न मिल्ने ऊर्जा उत्सर्जनमा जोड दिँदै किसानहरुलाई खेतका फोहार नजलाउन प्रोत्साहन राशि राखेको छ । यसका साथै प्रधानमन्त्री मोदीले सुरु गरेको शौचालय अभियान अन्र्तगत भारतमा ९ करोड शौचालय निर्माण भएका छन् जसलाई धेरै सकारात्मक रुपमा लिइएको छ । तरपनि भारत अझै सफा भएको छैन । किनकी त्यहाँका नदि, हावा, सडक लगायत सबै क्षेत्रले यस्तैगरी प्राथमिकता नपाएसम्म अहिलेको अवस्थामा कहिल्यै सुधार आउन नसक्ने बताइएको छ ।
यस प्रकार भारतले पूरै अफ्रिका र दक्षिण अमेरिका बराबर फोहोर उत्पादन गरिरहँदा यसले बाँकी विश्वमा पनि उत्तिकै नकारात्मक प्रभाव पार्ने विज्ञहरुको भनाइ छ । रसायनयुक्त औद्यागिक फोहोर नदिमा फालिँदा र कार्बन डायक्साइडको उत्सर्जन बढ्दा विश्वमा ग्रीन हाउस ग्यास लगातार वृद्धि भइरहेको छ ।
यस विषयमा पहिले भारतले गरिबीका कारण आफूहरु फोहोर नियन्त्रणमा असफल भएको र अहिलेका विकसित देशहरु पनि कुनैसमय यस्तै समस्याबाट गुज्रिसकेको बताउने गर्दथ्यो । तर अहिले भने भारत विकासको स्तरमा धेरै माथि पुगेपनि गरिब मुलुकहरु मध्येकै सबैभन्दा फोहोर र दूषित देशमा परिणत भइसकेको छ । वास्तवमा ऊर्जा निकाल्न कोइलाको प्रयोग गर्नाले भारतलाई धेरै आत्म निर्भर बनाइरहेको सरकारको मान्यता छ तर यसैले त्यहाँका आकाश झन् कालो बनाइरहेको छ । तरपनि भारतले यसै महिना पोल्यान्डमा भएको बैठकमा भने २०३० सम्ममा प्रदूषण पूर्ण रुपमा नियन्त्रण गर्ने प्रतिबद्धता जनाएको छ । – द इकोनोमिस्ट