भक्तपुर । अरनिको राजमार्गअन्तरगत सूर्यविनायकदेखि काभ्रे साँगासम्म सडकको दायाँबायाँ ‘सर्भिस ट्रयाक’ निर्माण कार्य आजदेखि शुरु भएको छ ।
सांसद महेश बस्नेतले सो निर्माण कार्यको शिलान्यास गर्दै साँगादेखि सूर्यविनायकसम्म दैनिक हुने सवारी चाप हटाउन सर्भिस ट्रयाकले मद्दत पुग्ने बताउँदै दुर्घटना न्यूनीकरणसमेत हुने बताए । सांसद बस्नेतले आगामी फागुनदेखि जापान सरकारले अरनिको राजमार्ग ८२ फिट फराकिलो बनाउने कार्य शुरु गर्ने भएकाले पनि सर्भिस ट्र्याक खोल्नु अति आवश्यक रहेको बताए ।
सूर्यविनायकदेखि धुलिखेलसम्म जापान सरकारले आगामी फागुनदेखि ६ लेन सडक निर्माण गर्ने भएपछि यसअघि सूर्यविनायक नगरपालिका–८ ले जगातेसम्म र काभ्रेको बनेपा नगरपालिकाले साँगासम्म सर्भिस ट्रयाक निर्माण गरिसकेको छ । सूर्यविनायक नगरपालिका–९ र १० क्षेत्रमा पर्ने जगाती, भातेढिकुर, बाँसघारी, नलिन्चोक, पलासे हुँदै भक्तपुर र काभ्रेको सिमानाको साँगासम्म सर्भिस ट्र्याक निर्माण कार्य शुरु भएको हो । रासस