आउनुस् न–
कमकसेकम मर्ने बेला ती आमाबुबालाई हाम्रो काख दिऊँ, जसले हामीलाई सानैदेखि हुर्कायो
पुष्पन प्रधानका यी पंक्तिसँगै नेपाल आइडलको मञ्चबाट पुष्पन र अमित बरालले ‘बाउको जुङ्गो...’ बोलको गीतको इन्क्ल्याप गर्छन् । प्रस्तुति उत्कृष्ट हुन्छ । निर्णायक आ–आफ्नो कुर्सीबाट उठेर ताली बजाउँछन् । पर्दामा ‘रेस्पेक्ट पर्फर्मेन्स’ लेखिन्छ ।
‘विशेषगरी आज म एकदमै भावुक बने । आज मेरो जिन्दगीमा एक जना मान्छे विधाता बनेर आयो, अमित बराल । उसको लागि एक पटक जोडदार ताली लगाइदिनुस् । (निर्णायक र दर्शकदीर्घाबाट तालीको फोहरा छुट्छ ।)
शीरमा कफन बाँधेका पुष्पन फेरि बोल्न थाल्छन्, कृपा अनप्लग्ड शोपछि ‘पन्छी...’ गीत धेरै हिट भएको थियो । सायद त्यो गीत जसरी हिट हुनुपथ्र्यो, भएन । सायद मभित्र केही कमजोरी थियो होला । यो गीतलाई टपक्क टिपेर यो मञ्चबाट गाइदिएर आज तपाईंहरु समक्ष म उपस्थित छु । नेपाल आइडललाई धेरैधेरै धन्यवाद ।
चितवन घुम्न गएको थिएँ । सलम भाइले मलाई देवद्दाट घुमाउन लैजानु भएको थियो । म अलिकति अध्यात्ममा विश्वास गर्ने मान्छे । नारायणीको पानीले शरीर सिञ्चित गर्ने साह्रै इच्छा थियो । त्यहाँ रहेका धेरै वृद्धाश्रमहरुमा म गएँ । जहाँ धेरै आमाहरुलाई देखेँ, जो निकै धनी परिवारबाट हुनुहुन्थ्यो सायद । त्यहाँ मैले यस्ता आमाहरुलाई देखेँ जो लठ्ठी टेकेर हिँडिरहेका थिए । यसरी मानौं त्यो लठ्ठीलाई थिच्नु उनीहरुको उद्देश्य हो । अनि मलाई सोध्न मन लाग्यो । बाहिर निस्किएर मैले पाले दाइलाई सोधेँ– दाइ, यी आमाहरुलाई यहाँ ल्याएर कसले राखेको ? उहाँले भन्नुभो, धनी–धनी मान्छेहरुले ल्याएर राख्नुहुन्छ । प्रायः त उहाँहरुकै छोराछोरी हुनुहुन्छ ।
‘उहाँहरुलाई हेर्न आउनु हुन्छ बेलाबेला ?’
भाइ, तपाईं भन्नुहुन्छ, मर्दाखेरि किरियासमेत गर्न आउँदैनन् । पाले दाइको कुरा सुनेपछि... मेरो सामुन्नेमा तुलसीको पात थियो, मैले त्यसलाई टिपेँ र उहाँलाई दिँदै भने– जिन्दगीमा कहिले केही भएछ भने म आउँछु । अनि म फर्किएँ, मनभरी त्यो घटना लिएर । त्यसले मलाई सबैभन्दा धेरै कहाँ क्लिक गर्यो भने, मेरी श्रीाती प्रशव पीडामा थिइन् । श्रीमतीलाई प्रशव गृहमा लगियो । मैले मेरी श्रीमतीलाई मेरो आँखा अगाडि कहिले पनि धरधरी रोएको देखेको थिइनँ । यस्तो कहालिन् कि मैले सोचें, मेरी श्रीमतीको प्राण गयो ।
(पुष्पन आफ्ना कुरा राखिरहन्छन्, पृष्ठभूमिमा सुमधुर बाँसुरीको धुन बजिरहन्छ । जज इन्दिरा जोशीकोे आँखामा आँसु टल्पलाइरहेको देखिन्छ । न्ह्यू बज्राचार्यका पनि आँखा रसाउँछन् र कालीप्रसाल बास्कोटाका पनि । क्यामेराले घरी नेपाल आइडलका प्रतिस्पर्धीका भरिएका आँखा जुम गर्छ त घरी पिलपिलाइरहेका दर्शकका आँखा खिच्छ । सबै मौन, सबै स्तब्ध)
पुष्पन कथा सुनाउँदै जान्छन्– जब त्यो कहालिएको आवाज आयो, त्यति नै बेला उताबाट एउटा मान्छे खुर्र कुदेर आयो र भन्नुभयो, पुष्पन, तिम्रो छोरा भयो ।
बच्चालाई जन्म दिन आमा त मर्नुपर्दोरहेछ । त्यही नानी ठूलो भइसकेपछि आमासँग कसरी बोल्छौं हामी ! ती जम्मै कुरा रि–कल भयो मलाई । त्यहाँबाट मलाई लाग्यो– आमाबुबालाई १० जना, २० जना कहिले पनि बाँडेर पालौं भन्दैनन् । तर तीनै छोराछोरी जब ठूला हुन्छन् नि, बाउआमालाई बाँडेर पाल्छन् । बूढा भएका ती आमाबाबालाई साँच्चै एकअर्काको खाँचो हुन्छ । सायद यो सन्देश संसारभरका वृद्धाश्रममा पुग्ला र ती वृद्ध आमा बुबाकोमा पुग्ला, ती छोराछोरीकोमा पुग्ला । आफ्ना आफन्तकोमा पुग्ला । आमा र बाबाकोमा मात्रै पुग्नुपर्छ भन्ने लाग्दैन । सम्बन्ध जुनै पनि सोच्यो भने ईश्वर हो जस्तो लाग्छ मलाई । यो मञ्चबाट यही एउटा आग्रह गर्न चाहन्छु ।
अन्यथा नसोचिदिनु होला । म कुनै पनि प्रतियोगितामा जान्न भनेर बसेको मान्छे । यो भाइ (अमित बराल) साँच्चै विधाता बनेर आयो । र, म आज यो मञ्चमा यसरी उभिएर बोल्दैछु ।’
मनमा उकुसमुकुस भएर बसेको भावना पुष्पनलाई आम दर्शक तथा स्रोतामाझ सुनाउनु थियो । उनले फेरि आफ्नो ‘पन्छी’ गीत रेकर्ड गर्दाको तीतो यथार्थ सुनाए–
‘पन्छी...’ गीत रेकर्ड भइरहेको थियो । म अहिले ती संगीतकारको नाम लिन चाहन्न । उहाँले भन्नुभएको थियो, शब्द कसको हो ? मेरो । पुष्पन ! गाउनेलाई गीत लेख्छु जस्तो लाग्छ कि, तर गीत हुँदैन । संगीत कसको ? मेरो । गाउनेलाई संगीत पनि गर्छु जस्तो लाग्छ कि, तर संगीतकार हुँदैन । म आफूले आफैंलाई गायक त ठान्दिनथें । त्यही बेला मैले एन्सर पाएँ । म सोच्थें, के होला म ? एक जना दाइले नाम दिनुभयो ‘गीताङ्गे’ भनेर । म एउटा गीताङ्गेकै तर्फबाट सादर नमन टक्र्याउन चाहन्छु– जसको गीत सुनेर हामी हुर्कियौं । नेपाली सांगीतिक क्षेत्रको काया पल्टाइदिनु भएको छ, आदरणीय न्ह्यू बज्राचार्य सर । अनि हाम्रो काली दाइ । म मेरो श्रीमती र आफ्ना आफन्तलाई पनि देखाउँछु, नेपाली कलाकारले पनि यो लेवलको पर्फर्मेन्स देखाउन सक्छ भनेर । इन्दिराजीको भिडियो र तस्बिर देखाउने गर्छु । आज तपाईंहरु प्रत्यक्ष अगाडि हुनुहुन्छ । त्यो ठाउँ जहाँ नेपालीभाषी गोरखाली बस्छन्, ती सबैको तर्फबाट तपाईहरुलाई कोटीकोटी नमन टक्र्याएँ ।’
निर्णायक न्ह्यूँग सायद पुष्पनलाई दिने जवाफ केही थिएन । उनले मञ्चमै गएर पुष्पनलाई अंकमाल गरे ।
आफ्नो कुर्सीमा फर्किएपछि उनले भने, ‘वानिका प्रधानसँग पुष्पनका बारेमा मेरो कुरा हुन्थ्यो । उहाँले पुष्पन त कथा सुनाउँदै गीत गाउने गायक हो नि भनेर भन्नुहुन्थ्यो । जब मैले पुष्पनको गीत सुनें, त्यही बेलादेखि पुष्पनलाई भेट्ने रहर लागेको थियो मलाई । आज तिमी यहाँ आइदियौ । तिमी सच्चा कलाकार हौ ।’
पुष्पन त्यस्ता गायक हुन् जसलाई अरुले राम्रो भनिदिए पनि ठिकै छ । कुरा काटेर हिँडे पनि ठिकै छ । उनी केवल आफ्नो बाटो आफैँ कोर्छन् र त्यसमा अविराम सके लम्किन्छन्, नसके घिस्रिन्छन् ।
जिब्रोमा ट्वाक्क लाग्ने पानीपुरी र चटपटे जस्ता गीत बजारमा चलिरहेका छन् । तर उनी कहिले वृद्धाश्रमको कथा बोकेको गीत सुनाउँछन् त कहिले विदेशिएका नेपालीको व्यथा बोेकेको गीत बनाउँछन् ।
समयको बहाव एकातिर छ तर उनी अर्कैतिर हिँडिदिन्छन् । त्यसैले त उनको गीत पानी पुरी र चटपटे जस्तो जिब्रोले ट्वाक्क थाहा पाउँदैन । उनको गीतले सीधै मन छुन्छ । पुष्पनका गीत सुन्न सायद दुःख पाएको वा त्यसको अनुभूत गर्न सक्ने कोमल मन चाहिन्छ । त्यसैले उनका गीत हप्तामा युट्युबमा करोड क्लबमा प्रवेश गर्दैनन् । बुझ्ने मन पनि चाहिन्छ ।
पुष्पनको गीत ‘पन्छी...’ अमित बरालले अक्टोबर ११ मा नेपाल आइडलमा गाए–
पैसा हैन पासो छ परदेशमा
बोलाउँदैछन् आफन्तले स्वदेशमा
पन्छी फर्केर स्वदेशमा आऊ
शान्तिको गुँड सानो देशमै बनाऊ...
परदेशिएको आफ्नो भाइलाई सम्झिएर निर्णायक इन्दिरा घुँक्कघुँक्क रोइन् । अमितले गाएको यो गीतको भिडियोको क्लिप सामाजिक सञ्जालमा भाइरल भयो ।
पुष्पनलाई लाग्थ्यो– गीत त मैले गाइ नै रहेको छु, त्यो पनि राम्रै छ । तर पनि किन हुन्न सोचे जस्तो ? पुष्पनको मनमा यही प्रश्न बारम्बार उठ्थ्यो । र, लपेटिरहन्थ्यो ।
अध्यात्ममा विश्वास गर्ने पुष्पन भगवानलाई भन्थे– खोइ मेरो गीतले न्याय पाएको ? “मैले मेरो भगवानसँग कति पटक दंग्याएको छु, घुर्क्याएको छु,” आइतबार दिउँसो थापाथलीमा उनले गुनासो गरे, “म त फेसबुक डिएक्टिभ गरेर बसेको थिएँ । मलाई म्यासेज आयो । तर पनि मैले रेस्पोन्स गरेको थिइन । तर मेरो एउटा साथीले भन्यो– पुष्पन हेर त तिम्रो गीत पन्छीका बारेमा कति धेरै राम्रा–राम्रा प्रतिक्रिया आएका छन् । यसरी हुँदैन तिमीले रेस्पोन्स गर्नुपर्छ ।”
साथीको आग्रहपछि पुष्पनले फेसबुक एक्टिभ गरे । फेसबुकमा हजारौं म्यासेज थिए । हजारौं रिक्वेस्ट थिए । कति राम्रा–राम्रा सन्देश र प्रतिक्रिया थिए । “त्यसैले हो, मैले भनेको मेरा लागि अमित विधाता बनेर आयो भनेर । भगवान मान्छेमै हुन्छ । र मेरो भगवान अमितमार्फत् आउनुभयो,” उनी भन्छन्, “यो गीतले जसरी अहिले रेस्पोन्स पाइरहेको छ, त्यो त्यही बेला पाउनुपथ्र्यो । तर आज पाउँदैछ । सायद भगवानले मलाई आजसम्म पर्खाउनु भएको थियो ।”
‘पन्छी...’ मा एउटा हरफ छ ।
हातको मैलो सुनको थैलो के गर्नु धनले
साग र सिस्नु खाएको बेस आनन्दी मनले ...
महाकवि लक्ष्मीप्रसाद देवकोटाले खण्डकाव्य ‘मुना मदन’मा उल्लेख गरेका यी हरफ पुष्पनले आफ्नो गीतमा राखे । तर यसका लागि उनले अनुमति माग्नुपर्ने थियो ।
उनी देवकोटा अध्ययन तथा अनुसन्धान केन्द्रमा पुगे । त्यहाँ पद्मप्रसाद देवकोटा र एक जना महिला थिइन् । “मैले त्यहाँ रहनुभएकी आन्टीलाई सबैकुरा भन्न सक्तिन होला भनेर एउटा पत्र लेखेर ल्याएको छु भनेर दिएँ । पत्र पढ्दै रुँदै गर्नुभयो उहाँ,” पुष्पन त्यो क्षण सम्झन्छन्, “चिठ्ठी पढेर उहाँले भन्नुभयो, खुसी लाग्यो मेरो बाउबाजेलाई त्यो ठाउँबाट पनि यति धेरै माया गर्नुहुँदोरहेछ । हुन्छ, प्रयोग गर्नुस् ।”
के थियो त्यो चिठ्ठीमा ?
हुबहु त पुष्पन पनि सम्झन सक्तैनन् तर सार यस्तो थियो, मैले एउटा गीत लेखेँ । गीत लेख्दै जाँदा महाकविज्यूको यो हरफ स्वतः आयो । अरुको सिर्जना चोर्नु हुँदैन भनेर मैलै धेरै प्रयत्न गरेँ निकाल्न, तर निकाल्नेबित्तिकै आत्माबिनाको शरीर जस्तो हुन्छ, त्यसैले मिल्छ भने प्रयोग गर्ने अनुमति चाहन्छु ।’
‘बाउको जुङ्गो’को कथा उनले नेपाल आइडलको मञ्चबाटै सुनाए । ‘पन्छी...’ को कथा पुष्पन बाह्रखरीलाई सुनाए । यो गीत उनले परदेश गएका नेपालीको पीडा र आफ्नो सन्तान तथा आफन्तसँग छुट्टिएर स्वदेशमा बसेका परिवारका सदस्यलाई सम्झिएर लेखेको होइन, जो आउने दिनगन्ती गरेर बसिरहेको छ ।
पुष्पन संगीतका साधक त हुन् नै, त्यससँगै उनी राम्रो स्रोता पनि हुन् । भारत उत्तर प्रदेश पश्चिम बंगालको डुअर्समा उनको घर छ । खल्तीमा भारतीय नागरिकता छ । तर, पनि उनको मनचाहिँ नेपाली छ । नेपालीप्रति माया छ । नेपाली भाषा, साहित्य र संस्कृतिप्रति आस्था र श्रद्धा छ । त्यसैले उनी नेपाली गीत सुनेरै हुर्किए । नेपाली गीत गुनगुनाएरै बाल्यकाल बिताए ।
कर्ण दास, सपनाश्री, राजु लामा जस्ता गायकगायिका नेपाल छोडेर गएको खबर उनको कानमा पर्यो । अनि उनको मनमा प्रश्न उठ्यो, “यस्तो मीठो गीत गाउने कलाकार नेपाल छोडेर बाहिरिएपछि अब हामीले कसरी सुन्न पाउँछौं राम्रा गीत ? कसले गाइदिन्छ उहाँहरुको जस्तो मीठा गीत ?,” उनी भन्छन्, “त्यसैले मैले उहाँहरुको सम्झनामा, उहाँहरुका गीत सुन्न नपाइने भयो भन्ने दुःखमा लेखेको गीत हो यो ।”
गीत रेकर्ड भयो । रेकर्ड गर्दागर्दै पाएको एक श्रष्टाको रुखो प्रतिक्रिया त मनमा खिल बनेर गडी नै रह्यो । त्यसपछि गीतले सोचेजस्तो सफलता नपाएपछि मन अमिलो भइरहेको थियो । तरपनि उनले हार खाएका थिएनन् । कहिले ‘बाउको जुङ्गो...’ त कहिले ‘ठूल्दाजु...’ जस्तो गीत निकाली नै रहे ।
० ० ०
पाँच वर्ष अगाडि फर्किन्छन् पुष्पन । सिवाज लामिछानेको ‘कृपा’ अनप्लग्ड शो ले उनलाई गीत गाउनका लागि निमन्त्रणा दियो । उनी काठमाडौं आयो । गीत गाउने दिन पनि आयो । ‘हु इज हु’ गायकगायिकाले मात्रै प्रस्तुति दिएको कार्यक्रममा उनले गाउनु पर्ने थियो । मनमा डरले ठूलो डेरा जमाइरहेको थियो । उनका गुरुले पुष्पनको अनुहारमा डरका लाभाहरु प्रष्टै देखे ।
निर्मल गुरु जो सिक्किम बस्छन् । उनलाई पुष्पन आफ्नो सबैभन्दा ठूलो गुरु ठान्छन् । निर्मल गुरुका एक भक्त जो सिन्धुपाल्चोकमा छन् । सिन्धुपाल्चोकका ती भक्त काठमाडौंमा बस्छन् । निर्मल गुरु सधैं एउटा सल बाँध्छन् । त्यसलाई पुष्पन दिव्य सल भन्छन् । त्यस्तै एउटा सल निर्मल गुरुले सिन्धुपाल्चोकका ती भक्तलाई दिएका थिए । तिनै भक्त जसले ‘कृपा’ अनप्लग्ड शोमा जानुभन्दा अगाडि पुष्पन डराइरहेको देखेका थिए । उनले भने, “भाइ यो सल लिएर जाऊ, तिमीलाई केही हुँदैन ।”
दिव्य सल पाउन त पाए तर त्यसलाई कहाँ लगाउनु ? गुरुको चिनो भनेको सल नै हो म शीरमा राख्छु भनेर टाउकोमा बाँधेर गीत गाए । अहिले बाँध्ने सल उनले सिक्किम पुगेर गुरुलाई छुवाएर ल्याएको सल हो । जुन सल उनी गीत गाउने बेलामा शीरमा लगाउँछन् ।
आइतबार थापाथलीस्थित बाह्रखरी कार्यालयमा आउँदा सल उनको झोलामै थियो । संगीतका लागि खर्चिने शब्दमा राखिने तस्बिर खिच्ने बेलामा उनले झोलाबाट आफ्नो सल निकाले, ढोगे र तस्बिर खिचाए । फेरि उसैगरी गुरुको चिनो सल मायाले झोलामै राखे ।
बुबाआमा चियाबारीमा काम गर्थे । चियाका बुट्यानमा लुकामारी गर्दै उनको बालवय बित्यो । पढाइमा अब्बल पुष्पन साइन्सका विद्यार्थी थिए । कि डक्टर बन्छु नभए शिक्षक बन्छु भन्ने उद्देश्य थियो ।
कक्षा ११ मा साइन्स पढिरहेका थिए । स्कुलको फाउन्डेशन डे थियो । साइन्सलगायत अन्य संकायका विद्यार्थीले एक्स्ट्रा इक्टिभिटिजका लागि अडिसन दिए । अरु संकायका विद्यार्थी छनोट भए तर साइन्सबाट कोही पनि छानिएन । शिक्षक आएर गाली गरे, “तिमीहरु पढ्ने मात्रै हो, एक्स्ट्रा एक्टिभिटिज केही पनि छैन ?”
याकुव भन्ने साथीले कठालो समातेर यसले गीत गाउँछ भनेर शिक्षकको अगाडि लगिदिए पुष्पनलाई । पुष्पनले सोधे– कसको गीत गाउँ सर ? मलाई किशोर कुमारको गीत मन पर्छ । पुष्पनले गाए । पुष्पनले गीत गाउँदा हल सुनसान भयो । गीत गाइसकेपछि हलमा तालीको फोहरा छुट्यो ।
ध्रुव नामका एक शिक्षकले ‘खुबसुरत’ फिल्मको सञ्जय दत्त भएको गीत मलाई खुब मनपर्छ, गाऊ ?’ भनेर सोधे । पुष्पनले यही गीत गाउनु भनिदिए । अडिसनमा सेलेक्ट गर्न बसेका जजको कुर्सीमा राखेर ‘कस्ता कस्ता आउँछन्, सुनेर राम्रोलाई छान है’ भन्दै निर्णायकको जिम्मेवारी पो दिए ।
“त्यो दिन मलाई थाहा भयो, मैले राम्रो पढ्दा मेरो स्कुल र गाउँले मात्रै चिन्थ्यो तर गीत गाउँदा त सबैले एकैपटक चिन्दोरहेछ भन्ने भयो,” पुष्पन कक्षा ११ पढ्दाको घटना सम्झँदै नोस्टाल्जिक हुँदै सुनाउँछन्, “त्यही दिनबाट हो म गीतसंगीततर्फ लागेको ।”
तस्बिरहरू : सरिता खड्का