site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
पर्चा उक्काउँदा पक्राउ


ती दिनहरू मेरा लागि रमाइला नै थिए । भोजपुरको सानु बजारमा कहिले सिद्धकालीको दर्शन गरी जंगल घुम्न गयो, कहिले टक्सार बजार ।

२००९–१० साल बेलाको भोजपुर, सातसाले क्रान्तिपछि एक नयाँ क्षितिजतिर उन्मुख भइरहेको थियो । म त्यहाँको विद्योदय हाईस्कुलमा पाँच–छ कक्षाको विद्यार्थी थिएँ । सानै उमेरदेखि मलाई साहित्यप्रति शोख थियो । कथा कविता अत्यन्त मन गरेर पढ्थेँ र जानी नजानी केही लेख्थेँ ।

स्कुलमा दिएका गृहकार्यहरू पूरा गर्नुका साथै कविता कथा पनि लेख्ने मलाई कागजको धौ–धौ नै पथ्र्यो । तर त्यसको समाधानको बाटो मैले निकालेको थिएँ ।

Dabur Nepal
NIC Asia

त्यसबेला दलीय व्यवस्था थियो र विभिन्न पार्टीहरूले दिनहुँ जस्तो आफ्नो पर्चा निकाल्थे । कतिपय पर्चाहरू दिउँसै टासिन्थे भने कतिपय पर्चाहरू राति ।

मेरोचाहिँ एउटै लक्ष्य थियो– टाँसिएका ती सबै पर्चाहरू उक्काएर जम्मा गर्ने । यसका लागि दिउँसो अरू व्यक्तिहरूले देख्ने हुँदा रातको समय नै उपयुक्त हुन्थ्यो । साँझ पर्नासाथ मौका पारी म भित्तामा टाँसिएका पर्चाहरू उक्काउन थाल्थेँ ।

यस्तै एक रातको कुरा हो । म एक घरमा टाँसिएको पर्चा उक्काउँदै थिएँ । यौटा पुलिसको आँखा ममा परेछ । ऊ समात्न आइपुग्यो र ठूलो स्वरमा हप्कायो– “क्या हो ? पर्चा टाँस्ने ?”

“होइन, म त पर्चा उक्काउँदै छु,” मैले डराउँदै जवाफ दिएँ ।

“अझ ढाँटने ? ल हिँड थानामा ।” पुलिस कड्क्यो । मेरो मुटु लुगलुग काम्न थाल्यो ।

मैले निवेदन गरेँ, “सत्य हो पुलिस दाइ । म पर्चा टाँस्न आएको होइन, सबै उक्काएर जम्मा गर्छु र त्यसलाई कापी बनाएर एकापट्टी हिसाब गर्छु ।”

“साँचो हो ? त्यस्तो कापी मलाई देखाउन सक्छौ ?” पुलिसले केही बुझेजस्तो गरी भन्यो ।

“सक्छु । भोलि देखाउँछु ।” म त्यहाँबाट उम्केँ ।

पर्चाहरू जम्मा गरी बनाएको कापीमा हिसाब गरेको देखाउन पुलिस थाना जाने कुरा थिएन । गइनँ ।

तर अहिले लागिरहन्छ, मैले त्यसरी हिसाब गरेको पर्चाको कापी पाए कसैले ल्याएर मलाई बुझाए म कत्ति खुशी हुन्थे हुँला ? कत्ति धेरै कृतज्ञ हुने थिएँ ! कति धेरै  आनन्दको क्षण हुने थियो ? अपशोच । ती कापीहरू म सँग अहिले छैनन् र शायद मैले हिसाब गरेकै केही महिनामा भोजपुरको कुनै पसलमा मसला पोको पार्न काम लागे होलान् वा रछ्यानमा मिल्किए होलान् !

०००


पिखुवाले बगाएको भए...!

सुप्रसिद्ध आख्यानकार दौलत दाइ (दौलतविक्रम विष्ट)को यो वाक्य सम्झेर म आफ्नो किशोरवयको संस्मरण लेख्दैछु ।

“कठै ती दिनहरू पनि थिए !” साँच्ची, ती दिनहरू पनि थिए ! म थिएँ र त्यो वि.सं. ०१५ साल थियो ।

वि.सं. २०१४ सालमा काठमाडौं पुगी एस.एल.सी. जाँच दिएपछि म आफ्नै घर भोजपुर बजारमा यसै हल्लिरहेको थिएँ । एस.एल.सी. पास त हुन्छु होला भन्ने थियो तर त्यसपछि अगाडि जानका लागि मेरा अगाडि थुप्रै प्रश्न चिह्नहरू थिए ।

कलेज पढ्न धरान वा धनकुटा जानु पर्थ्यो । त्यहाँ गएर पढ्ने मेरो आर्थिक क्षमता थिएन । कुनै जागिरको खोजीमा थिएँ तर पहुँचबिनाको परिवारमा हुर्केको म फुच्चेले कहाँ जागिर पाउनु ?

कहिले सिद्धकालीका डाँडाहरू चहार्थें, कहिले सुन्तलेको लेक पुग्थेँ । टक्सारको टङ्गटङ्ग आवाज सुन्न पुग्थेँ, तीनधारेको पानी र डबलीको चौतारो पनि धाउँथेँ ।

अर्थात्, त्यो बेला म यौटा सानो अल्लारे केटो थिएँ, आँखामा सपनाहरू लिएर दौडिरहेको, सानो भोजपुर बजारमा ।

एकदिन अचानक हतुवाका बमबहादुर राई आइपुग्नुभयो मेरो घरमा । उहाँ त्यो बेला नेपाली कांग्रेसका सम्मानित नेता हुनुहुन्थ्यो । पछि राष्ट्रियसभामा मनोनीत पनि हुनुभयो ।

आफ्नो गाउँको स्कुलका निमित्त उहाँ मास्टरको खोजीमा हुनुहुँदो रहेछ । मासिक रु. १५० (एकसय पचास) तलब, खान र बस्नको सुविधा दिने शर्त उहाँले राख्नुभयो ।

घरमा सरसल्लाह भयो बाआमासँग । भाइ बहिनीहरू स–सानै थिए । हतुवा क्षेत्र भोजपुरको पिछडिएको गरिबी र पीडायुक्त ठाउँ भए पनि मैले कम्मर कसेँ ।

नभन्दै मलाई लिएर बमबहादुर राईजी हिँड्नु भयो–म पछि लागेँ । पैयाँपानी पुग्दा नपुग्दै पानी दर्कन थाल्यो । जेनतेन दुःख गर्दै पिखुवाखोलाको किनारसम्म पुगी बास बसियो ।

भोलि बिहानै हिँडेर खाना खान राईजीको गाउँ होमताङ्ग पुगियो । बिहानको खाना त्यहीँ खाइयो ।

त्यसपछि उहाँले स्कुल देखाउन लैजानु भयो । उहाँकै घरछेउमा साधारण स्कुल रहेछ । दुई जना मास्टर रहेछन् स्थानीय धर्मशेर राई र अर्काएकजना जस्को नाम अहिले बिर्से ।

बाहिरका शिक्षक बस्ने यौटा कोठा स्कुलभित्रै रहेछ, भात–भान्साको ठाउँ पनि त्यहीँ ।

त्यहाँका विद्यार्थीहरूले पालैपालो हेडसरको खाना पकाइदिने चलन रहेछ । विद्यार्थीले साँझको खाना पनि खुवाएर सुत्न आफ्नै घर जाने परम्परा रहेछ । अहिले सम्झन्छु विद्यार्थी थिए होलान् १५–२० जना ।

दुई चार दिन रमाइलै लाग्यो । नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ अनुहारहरू–आफूलाई पनि ‘फ्रेस’ भएको अनुभूति भयो । दिनभरि पढाउँथेँ, बिहान बेलुका कविता लेख्थेँ ।

कहिलेकाहीँ बाख्रीको मासु र नियमित टाँकीका मन्टा खाइन्थ्यो । यताउति घुम्ने डुल्ने न साथीहरू थिए, न ठाउँ नै । पूर्वमा टाढा कतै विशाल अरूण नदी देखिन्थ्यो । नत्र जहाँतहीँ पहिराले खाएका उराठ लाग्दा पाखाहरू ।

केही दिन नबित्दै मेरो जोश हावा भएर सेलायो । एक–दुई दिन यसै उसै काटेँ– पुस्तकहरूमा अल्झेर । तर, बिहान र स्कुलपछिको समय म एक्लै पर्थें र टाढाटाढा आफ्नो गाउँको क्षितिजलाई हेर्थें ।

कताकता त्यो डाँडा नजिक भएर आइरहेको अनुभव हुन्थ्यो । र, आमाको अनुहार सम्झेर डाँको छोडेर रुन्थेँ ।

मेरा लागि अझ दुःखको दिन त बिदाको दिन हुन्थ्यो । विशेषतः शनिबार । त्यो दिन न केही काम, न कोही साथी, न इष्ट मित्र, न भेटघाट । दिनभरि त्यो स्कुलको डाँडामा बस्नु र घरतिरको आकाश हेर्नु अनि भक्कानो छाडी रुनु सिवाय म केही गर्दिनथेँ ।

खानाको उस्तै दुःख थियो । मकैको चामल र टाँकीको मुन्टाको तरकारी । खाए पनि त्यही, नखाए त्यही । गाउँमा अरू केही पाइन्नथ्यो । कहिलेकहीँ मर्न लागेको बूढीबाख्री काटिँदो रहेछ, त्यसकै मासु खान पनि भगीरथ प्रयत्न गर्नुपर्ने ।

दुःखको कुनै सीमा थिएन तर जसरी पनि पैसा कमाउनु पर्छ र घरलाई सुखी तुल्याउनु पर्छ भन्ने दृढ भावना थियो । ती कुरा सम्झेपछि चाहिँ रुँदारुँदै कहिलेकाहीँ आँसु रोकिन्थ्यो । उमेर पनि कच्चै, सोचाई र तरङ्गहरू पनि कच्चै ।

पूरा एक महिना नौ दिन यसैगरी बिते । कुन दिन हो, कुन रात हो ? मलाई थाहा भएन ।

एक रातको कुरा हो । चर्को आवाजमा ढोलक र बाजाहरू बजेको सुनेर मेरो निद्रा खुल्यो । बोक्सी र किचकन्नीहरू नाचिरहेजस्तो लाग्यो । धेरैबेर घोरिएँ, डरले मुटु कॉपिरह्यो । त्यही शून्य र कहालीलाग्दो रात मैले निर्णय गरेँ–यस्तो डरलाग्दो ठाउँमा म कुनै हालतमा बस्तिन ।

रात परेपछि गाउँघरमा चितुवा, बाघ आउँदा रहेछन् र तिनलाई भगाउन ढोलक र टिन बजाई तर्साउने चलन रहेछ— भोलिपल्ट थाहा पाएँ । तर मेरो आत्माले निश्चय गरिसकेको थियो, यो ठाउँ मेरा लागि कुनै हालतमा ठीक छैन ।

नभन्दै मास्टर धर्मशेर राईको भोजपुर बजार जाने काम परेछ । त्यहाँकै जनक राई पनि जाने रहेछन् ।

म पनि बमबहादुर राईजीसँग बिदा माग्न पुगेँ, दुई–चार दिनलाई घर जान्छु भनेर । उहाँले ज्यान गए बिदा दिनुभएन । दुई जना मास्टर नहुँदा स्कुल नै बन्द हुने अवस्था थियो । फेरि म घर गएपछि फर्कदैन भन्ने उहाँलाई लागेको रहेछ ।

तर, एकाबिहानै दिसा बस्न जाने जस्तो गरी म स्कुलबाट निस्केँ र ओरालो लागी धर्मशेरको घरमा पुगेँ । उहाँहरू दुई जनासँग मैले कुरा मिलाइसकेको थिएँ ।

केही घण्टामा नै हामी विशाल अरूण नदी र पिखुवा खोलाको संगममा पुग्यौँ ।

अहिले पनि मेरो मानसमा मुसलधारे पानी पर्नासाथ त्यही दिन र त्यही दोभानको सम्झना आउँछ । त्यो वर्षाले अरूण विशाल समुद्र भएको थियो भने पिखुवा अरूण बनेको थियो ।

ती दुई जना त पौडन राम्रोसँग जान्दथे । आफू शून्य । तर, यस्तो जीवन बिताएर बाँच्नुभन्दा मर्न म तयार थिएँ ।

पिखुवा र अरूण मिसिएको दोभानमाथिबाट पिखुवा तर्ने कुरा भयो । पिखुवा देख्दा मेरो सातोपुत्लो गइसकेको थियो । मैले आफ्ना दुवै आँखा चिम्लेर दुईवटा हात ती दुई राई बन्धुको हातमा राखी दिएँ ।

मर्ने, बाँच्ने कुनै कुराको केही टुंगो थिएन । कतिपल्ट पानी खाएँ, कतिपल्ट लड़ेँ, उठेँ, मलाई केही थाहा भएन । होस छउन्जेल आफ्नो घर, बा–आमा र भाइ बहिनीहरू मात्र सम्झिरहेँ ।

ती दुईले अलिअलि पौडँदै बिस्तारै मलाई कसरीकसरी बोकेरै पारि तार्नुभयो । मैले कति पानी खाएँ, कसरी तरेँ केही थाहा पाइनँ । किनारमा पुग्दा वास्तवमा म बेहोस भएको रहेछु । पेट थिचेर उहाँहरूले पानी निकालिदिनुभयो ।

पिखुवाको बगर शून्य थियो सायद । अलिकति मात्रै तलमाथि भएको भए मेरो लास अरूण नदीमा पुगेको हुन्थ्यो र बगरमा कहीँ पछारिएको लास कागले ठुँगिरहेको हुन्थ्यो । दुङ्गमाको उकालो चढ्दा पनि म होस र बेहोसको दोसाँधमा थिएँ ।

मैले फेरि हतुवा फर्किने कुरै थिएन, अझ पिखुवाबाट बाँचेर आएपछि त आँट पनि थिएन । निकै समयपछि बमबहादुर राईले मेरा झोलीतुम्वा फर्काइदिनुभयो । भागेर हिँडेको भनेर एक पैसा तलब दिनुभएन ।

मैले पनि चित्त बुझाएँ । तर, सो संकष्टपूर्ण दिन, जिउज्यानको बाजी लागेको क्षणले भने अहिले पनि मलाई झक्झकाइरहन्छ– त्यो दिन तँलाई पिखुवाले बगाएको भए ! तँ मरेको भए !

तर बाँचेँ । बाँचिरहेको छु । अरूण र पिखुवा खोलाको किनारको, त्यहाँका पात्र र परिवेशका थुप्रै कथाहरू लेखेर बाँच्नुको ऋण चुक्ता गरिरहेको छु ।

(आख्यानकार परशु प्रधानको संस्मरणकृति ‘जिन्दगीका मोडहरू’बाट ।)

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  १४:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro