site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
मान्छेभित्रको मान्छे 

मानिसहरू भगवान् भगवान् भन्दै भौँतारिन्छन् । किन्तु, साँच्चैका भगवान् आएर ‘ल हिँड् मसँग’ भने भने ?

मैले यही प्रश्न सरयू किनारमा रामलाई सम्बोधन गर्दै ‘मलाई पनि तिम्रै धाममा लैजाऊ प्रभु !’ भनेर पुकारा गर्ने धर्मभीरुहरूलाई सोधेको थिएँ । मेरो प्रश्न सुनेर उनीहरू भयभीत भएका थिए ।

कहिलेकाहीँ रामलाई गरेको आह्वान पनि फगत छलावाजस्तो लाग्छ । मानिसहरूलाई यहीँका कुरा खोजेरै फुर्सद छैन । वर्षौँमा एक बार सरयू नुहाउँदा पुकारा गरेका राम वास्तवमै प्रकट भएर सँगै लिएर जाने भए त्यहाँ स्नान गर्न आउनेहरूको संख्या धेरै नै पातलो हुने थियो ।

Dabur Nepal
NIC Asia

खलील जिब्रानको एउटा कथा छ । एकजना बाबा ‘म भगवान्कहाँ पुर्‍याइदिन्छु, हिँड मसँग’ भनेर भाषण गर्दो रहेछ । उसलाई थाहा थियो, भगवान्कहाँ जान त कोही तयार हुनेवाला छैन, तर दक्षिणाको मात्रा भने अवश्य बढ्नेछ ।

त्यहाँ अचानक एउटा मान्छेले उठेर भनेछ, ‘म जान्छु भगवान्कहाँ ।’

ऊ बाबाको पछि लागेर अखडामा पुग्यो । भक्त कडा निस्क्यो । भन्न थाल्यो, ‘म भगवान् भेट्न आतुर छु, छिटो गर ।’

बाबाले यस्तो भक्त पनि हुन्छ भन्ने सोचेकै थिएन । हैरान, लखतरान भएपछि उसले भन्यो, ‘मलाई माफ गरिदेऊ वत्स ! जबसम्म तिमीसँग भेट भएको थिएन, मलाई भगवान्को ठेगाना थाहा थियो । जुन दिनदेखि तिम्रो संगत गर्न थालेँ, भगवान्को ठेगाना नै बिर्सेँ ।’

आधा रातमा कपिलवस्तु दरबारबाट निस्केर हिँडेका राजकुमार सिद्धार्थ अनेकौँ गुरुको शरणमा गए । गुरुहरूको प्राथमिकतामा जहिले पनि सजिलो शिष्य पर्दछ । ‘चेलो प्रतिभाशाली त होस्, किन्तु सिद्धार्थजस्तो उद्भट नहोस् ।’

सिद्धार्थको प्रतिभाको सामना र जिज्ञासाको समाधान गर्न नसकेका गुरुहरूले उनलाई बिदा गरेपछि मात्र हलुका महसुस गरेका थिए । अन्ततोगत्वा सिद्धार्थले गुरु कृपाविना नै ज्ञान प्राप्त गरे ।

एक दिन म पशुपति परिसरमा आयोजित महायज्ञमा पुराणवाचन सुन्दै थिएँ । त्यहाँ एकजना निर्दोष ग्रामीण किसान पनि पुराण सुनिरहेका थिए । वाचन गर्ने विद्वान्ले ‘समाजमा पापको घडा भरिनै लाग्यो’ भनेर घोषणा गरे ।

‘सत्य हरायो, भगवान्को भक्ति हरायो, वृद्धवृद्धाले दुःख पाए । लोभानी–पापानीको प्रवृत्तिले मानिसको जीवन नै कलुषित भयो । दानपुण्यको भावना हरायो ।’

आज्ञाकारी बालिकाले झैँ अनुशासित भएर आफूलाई सुनिरहेका भक्तहरूलाई थप भयभीत पार्दै वाचकले भने, ‘कलियुग एउटा सुकेको बाँसको जंगल हो । एक दिन आगोको सानो चिंगारीले सारा वनमा डढेलो लाग्छ र पापीहरूको सर्वनाश हुन्छ ।’

निर्दोष किसानका आँखाबाट अविरल अश्रुधारा बहिरहेका थिए ।

प्रवचन सकिएपछि शोकाकुल किसान बाहिर निस्के । म पनि निस्केँ । सोधेँ, ‘किन रोएको ?’ 

उनले गम्छाले आँसु पुछ्दै भने, ‘जीवनमा धेरै पाप गरिएछ हजुर ! लोभले कहिल्यै छाडेन । दूधमा अलिकता पानी मिसाएर बेचियो । हिजो टिपेको सागलाई आज टिपेको ताजा भनेर बेचियो । भैँसी किन्न आउने ग्राहकसँग चार माना दूध दिनेमा पाँच माना दिन्छ भनियो । नौ वर्षको गोरुलाई सात वर्षको भनेर बेचियो । आज पुराण भन्ने गुरुले साह्रै डरलाग्दा कुरा गर्नुभयो हजुर ! जिउँदै त दुःख पाइयो पाइयो, मरेपछि पनि कुम्भीपाकको उसिनाइमा परिने भयो ।’

यी किसानभित्र पनि अर्को मान्छे रहेछ । तर, कति निर्दोष र कसैलाई हानि नपुर्‍याउने अर्को मान्छे । कति निश्छल तरिकाले आफ्नो सानो मानवीय त्रुटिलाई अपराधको रूपमा स्वीकार गरे उनले । उनले न राष्ट्रलाई नोक्सानी पुर्‍याएका थिए न त समाजलाई नै ।

उनले आफ्ना ग्राहकलाई पनि कुनै निर्णायक हानि पुर्‍याएका थिएनन् । उनलाई के थाहा पुराण भन्न व्यास पीठमा विराजमान व्यक्ति कति पाखण्डी छन् भन्ने कुरा । उनलाई के थाहा वाचक दक्षिणाका कत्रो ‘बार्गेनिङ’ गरेर मात्र पुराण भन्न आएका हुन् ।

उनलाई के थाहा ईश्वर कृपाको ठेक्का लिएका कथित गुरु जुनसुकै तस्करको निम्तो खान कसरी हस्याङफस्याङ गर्दै दगुरेर जान्छन् ।

यहाँ सत्य बोल्नुपर्छ रे ! त्यो पनि जसको हातमा हतियार छ, उसले बनाएको सत्य । जसको हातमा कलम छ, उसको सत्य । जो कथित उच्च जाति, दर्जा या हैसियतमा छ, उसले बताएको सत्य ।

दार्शनिक नित्से भन्छन्, ‘सत्य भन्ने कुरा तत्कालीन र तदर्थ अवधारणा मात्र हो ।’

१९९७ सालको कुनै दिनमा सिंहदरबारमा एउटा राजकीय बैठक बस्यो । त्यस बैठकमा दशरथ चन्द समेत चारजना विद्रोही असत्य ठहरिए । प्रधानमन्त्री जुद्धशमशेर, अन्य राणाहरू, जंगी र निजामतीका तमाम कर्मचारी र मृत्युदण्डको आदेशमा स्वीकृतिको सहीछाप गर्ने राजा त्रिभुवन सत्य ठहरिए ।

बुढेसकालले छोएपछि राजर्षिको पगरी लिएर कालीगण्डको किनारमा आएर बस्ने जुद्धशमशेर धर्मात्मा कहलाए । काका रणोद्दीपलाई गोली हानेर ठहरै पार्ने खड्गशमशेरलाई चारभञ्ज्याङ कटाएर ठाडा धपाइयो ।

उनै खड्गलाई काका मार्न उक्साउने जेठा दाजु वीरशमशेर श्री ३ महाराजको गद्दीमा आसीन भए । हत्या र व्यभिचार पनि देश, काल, पात्र र परिस्थितिमा निर्भर हुँदो रहेछ । भ्रष्टाचार समेत एउटा परिस्थितिजन्य धारणा मात्र रहेछ ।

रात्रिको समयमा रामनाम जप्दै सुत्ने तरखरमा रहेका काकालाई गोली हानेर मार्ने माहिला भतिजा खड्गशमशेरभित्रको मान्छे कस्तो थियो होला ? भीमसेन थापालाई निर्मम तरिकाले मार्न लगाउने राजा राजेन्द्रको भित्रको मान्छे कस्तो थियो होला ?

भीमसेन थापा, माथवरसिंह, बीपी, कृष्णप्रसाद भट्टराई र राजा महेन्द्रभित्रको मान्छे कस्तो थियो होला ? सुकरातको अनुहार कुरूप थियो रे ! त्यो भौतिक असुन्दरताभित्रको सुन्दर आत्मा कस्तो हुँदो हो ?

म नेत्रहीन धृतराष्ट्रभित्र विद्यमान पुत्रप्रेमले विवश अर्को व्यक्तिलाई प्रस्टै देख्छु । म भ्रातृभक्त दुःशासनको आत्माभित्र लागेको घाउ देख्न सक्छु, तर उसलाई सहानुभूति दिएर लेखेँ भने मूर्ख मानिनेछु ।

म मेरो प्रज्ञा चक्षुले धर्मराज युधिष्ठिरभित्रको कपट र कामुकता देखिरहेको छु । म पशुपति प्रांगणमा कोटिहोमको आयोजना गर्ने ‘महाराज’को अनुहारमा कुटिल व्यक्तित्वको छनक देख्छु ।

म बुद्धको करुणा र संवेदनालाई महसुस गर्न सक्छु, किन्तु त्यसलाई व्यक्त गर्ने शब्द भेट्टाउन असमर्थ छु । म अरू कोहीभित्रको अर्को मानिसलाई भेट्टाउन सक्छु, परन्तु मभित्रको मलाई भरसक अझै भित्रभित्रै लुकाउन चाहन्छु ।

मनुष्यमा अहिले पनि लाखौँ वर्षअघिको वन्य जीवनको अन्तर्निहित अभिज्ञान छ । हाम्रो साझा पूर्वज वनमानवका हातहरू पाकेको फल देख्नेबित्तिकै त्यसलाई टिप्न अघि बढिहाल्थे । अहिले पनि हामीमा त्यो पूर्वजीय प्रवृत्ति जीवित छ ।

परन्तु, हामीलाई सभ्यताले अर्को जिम्मेवारी दिएको छ । जब हामीलाई सभ्यताले प्रदान गरेको जिम्मेवारीको हेक्का हुन्छ, फल टिप्न लालायित हात तत्काल रोक्नुपर्छ । 

नैतिकता र सदाचार पाँचसात हजार वर्षयताका कुरा हुन् । पाप र धर्मको धारणा नवआविष्कार हो । विवाह, बलात्कार, चोरी, भ्रष्टाचार र व्यक्तिगत सम्पत्ति पनि नयाँ आविष्कार हुन् ।

मनुष्यले बोल्ने भाषा पनि नयाँ हो । मनुष्यको व्यक्तित्वभित्र अर्को व्यक्तित्व निर्माण गर्नमा भाषाको ठूलो योगदान छ । शब्दले मनुष्यको अभिव्यक्तिलाई बनावटी बनायो । भाषाले मानिसको अर्को व्यक्तित्व निर्माण गर्‍यो । साहित्यले सोझो मनुष्यलाई लक्षणा र व्यञ्जना सिकाएर वक्रोक्तिमा माहिर बनायो ।

आत्मा र अध्यात्मका कुरा नयाँ हुन् । मनको चञ्चलता नयाँ हो । लोभ, संग्र्रह र आसक्ति नयाँ हो । दर्शन, ज्ञान, संस्कृति र शिक्षा नयाँ हो । अनेकौँ झन्झटले घेरिएको छ आजको मान्छे ।

आदिम मान्छेको दोस्रो व्यक्तित्व थिएन । कोही सुन्दर र कोही असुन्दर थिएन ।  विवाह थिएन, बन्धन थिएन । न श्रीमती न लोग्ने, न सासूससुरा र न त जेठाजु । न देश न भेष, न ठाडो न त नुहेको । न विनम्र न अनम्र, न मिजास न औपचारिकता । न लत्ताकपडा न घर, न द्वार न पर्खाल र न त पर्दा ।

मानिसहरू निरोले मुरली बजाउँदै सहर जलेको हेरिरह्यो भनेर निन्दा गर्छन् । तर, मलाई भने निरोको टिठ लाग्छ । उसको व्यक्तित्व निर्मल थियो । ऊभित्रको मान्छे निश्छल र निष्कपट थियो । परिस्थितिले उसलाई जस्तो बन्न उक्सायो, त्यस्तै बन्यो ।

एउटा आफैँमा मगनमस्त र निष्कलंक युवकलाई उसको इच्छाविपरीत राजा बनाउनु पनि अन्याय हो । ऊभित्रको मूलभूत व्यक्तित्वको हत्या गरेर छुट्टै आवरणमा उभ्याउनु कत्रो अन्याय थियो भन्ने कुरा बाँसुरीवादनको कहानी मात्र सुन्नेहरूलाई के थाहा !

सुखलाई ठिक्क साइजमा राखियो भने त्यसले पिछा गर्छ । सुखलाई ज्यादा भोग्न थालियो भने भाग्दै जान्छ । दुःखलाई सहन सकियो भने दुःख भाग्छ । दुःखबाट धेरै भयभीत हुन थालियो भने प्रीति गाँस्न आउँछ ।

जीवनको उद्देश्य दुर्लभको प्राप्ति पनि हो । तर, जसले दुर्लभलाई सुलभ बनाउन चाहन्छ, उसैको नसिबमा त्यो हुँदैन । समुद्रमन्थनमा प्रकट भएकी लक्ष्मीलाई देखेर महादेवलगायत देवता र दानव समेत लालायित भए । किन्तु, विष्णु भने केही थाहा नपाएझैँ विपरीत दिशातर्फ फर्किरहे । अरू सुलभ थिए, तर लक्ष्मी भने उनै दुर्लभलाई वरण गर्न पुगिन् ।

एक दिन भगवान्ले इन्द्रलाई निन्याउरो भएर बसेको देखेछन्, ‘के भयो देवेन्द्र ? किन निराश अनुहार लिएर बसेको ?’ 

इन्द्रले भने, ‘हे भगवन्, मलाई धेरैजना सुन्दर युवती दिनुहोस्, म भोग गर्न चाहन्छु !’ 

भगवान्ले एक हजार युवतीलाई पंक्तिबद्ध उभ्याएर भने, ‘ल भोग् मूर्ख, भोग् !’

सबैभन्दा अगाडि उभिएकी युवती देखेरै इन्द्र अत्यन्त पुलकित भए । उनले भने, ‘भगवन्, मलाई यही अघिल्ली भए पुग्छ !’

भगवान्ले भने, ‘हे मूर्ख ! पछाडि उभिएका युवतीहरू झनै सुन्दर, बुद्धिमान, विवेकी र उत्पादनशील थिए । तैँले कामुक प्रवृत्तिको बसमा परेर ठूलो नोक्सानी रोजिस् !’

मनुष्य पनि कामुक र अविवेकी इन्द्रजस्तै हतारमा निर्णय गर्ने र फुर्सदमा पश्चात्ताप गर्ने प्राणी हो । ऊ सुख खोज्छ, तर जब सुख प्राप्त हुन्छ, बुद्धि भ्रमित हुन पुग्छ । सुखको रापले अभिमानी बनाउँछ ।

देख्नेबित्तिकै कामना र लालसाले ग्रस्त पार्ने सौन्दर्य, सम्पदा र शक्तिबाट प्राप्त सुख उल्टै दुःखदायी बनिदिन्छ । शान्ति र सन्तुष्टिको सुखलाई पहिचान गर्ने विवेकभित्र कतै आफैँले पनि थाहा पाउन मुस्किल पर्ने कन्दरामा लुकेर बसेको हुन्छ ।

स्थापित संस्कृतिले आफ्नो समयका सबैभन्दा योग्य महात्मा विदुरलाई समयका सबैभन्दा अयोग्यहरूको सेवा गर्न खटायो । विदुर स्थापित संस्कृतिको अभिन्न अंगको रूपमा रहेको विभेद र वञ्चनाका सिकार भए ।

उनी ‘चाकर व्यक्तित्व’का मान्छे थिएनन् । उनी त केवल विहित कर्तव्यको पालना मात्र गरिरहेका थिए । मौकामा आफ्ना मालिक धृतराष्ट्र र भतिजा दुर्योधनलाई इमानदार तरिकाले अनेकौँ फट्कार पनि लगाएका थिए ।

आजको समाजमा पनि ज्ञान भएका विदुरहरू नभएका होइनन्, छन् । उनीहरूलाई कुनै सांस्कृतिक प्रतिबन्ध पनि छैन । परन्तु, उनीहरूभित्रको मूर्ख मान्छेले अन्तर्निहित प्रज्ञाको हत्या गरिदिन्छ । त्यस्तो मूर्खताको मूल जरो धन र पदको लोभ हो ।

विदुरमा लोभ नरहेको हुँदा उनी अन्तरात्माको आवाज बोलेर गए । परन्तु, आधुनिक विदुरहरू त आफ्ना दुर्योधनहरूको अनैतिक कृत्यको पक्षपोषण गर्न सदैव तत्पर रहन्छन् । आफ्नो वास्तविक व्यक्तित्वको सर्वनाश गर्दै बनावटी व्यक्तित्व बोकेर ठिंग उभिएको मान्छेको लोलुपताजन्य लाचारी देख्दा उदेक लाग्छ ।

म ‘ठूला’ मान्छेको भाषण र मन्तव्य सुन्छु, पढ्छु । थुप्रैलाई देश र जनताको पक्षमा भावुक र द्रवीभूत भएको देखेको छु । सामाजिक सञ्जालको यस जमानामा कतिपय नेता र अभियन्ताहरू ‘करुणामय आँसु’ खसालेर भाइरल बनेको देखेको छु ।

भन्दै गरेको सुन्छु, ‘यो देश बर्बाद भयो, आमाको आँसु वाग्मती बनेर बहिरहेछ, अब सहेर बस्न सकिँदैन । वाह रे दुनियाँ ! जसको धमनीमा मक्कारीको खुन बगिरहन्छ, उनीहरू नै सोझा मान्छेको आँसु बेचेर आसव पिउनमा मग्न छन् ।

एक ठाउँमा साहित्यकार, कवि र दार्शनिकहरूको सम्मेलन भइरहेको थियो । एक से एक ‘मनीषीहरू’ले आआफ्नो मन्तव्य दिइरहेका थिए । त्यस्तैमा त्यहाँ एउटा फकिर आइपुग्यो ।

फकिर सम्मेलन कक्षमा प्रवेश गर्न चाहन्थ्यो । परन्तु, उसको व्यक्तित्व भित्र पस्न लायक थिएन । उसलाई द्वारपालले रोक्दै भन्यो, तपाईंको परिचय ?

फकिर– म एउटा मान्छे हुँ ।

द्वारपाल– नाम त होला नि !

फकिर– तपाईंको नाम छ ?

द्वारपाल– छ नि, मेरो नाम प्रकाश हो ।

फकिर– तपाईंलाई नाम कसले दियो ?

द्वारपाल– मेरो बाले ।

फकिर– यो त बाले दिएको नाम भयो । तपाईंको आफ्नो नाम के हो ?

द्वारपाल– म पनि मान्छे हुँ ।

फकिर– अब ठिक ठाउँमा आउनुभयो महाशय । प्रकाश तपाईंको आफ्नो परिचय होइन । तपाईंको नाम, ठेगाना, पद, शिक्षा, इज्जत, अभिमान, पहिरन, शृंगार, भाषा, सिष्टाचार र साहित्य सबै अर्को मान्छे हो । यही अर्को मान्छेले तपाईंको स्वलाई खाइदियो । तपाईं जे हो, त्यसबाट टाढा हुनुभयो ।

म पनि दुईथान व्यक्तित्व बोकेर हिँड्ने मान्छे हुँ । मैले समाजलाई देखाउने मुखुण्डो एउटा छ र मभित्रको मान्छे अर्कै । म समाजको साह्रै निम्छरो हैसियतको मान्छे हुँ । परन्तु, मैले पनि आफ्नो औकातले धान्न सकेसम्मको नखरा गरिरहेको छु ।

केही आडम्बर त मलाई मेरो धर्म, संस्कृति र समाजले नै बोकाएको छ । बाँकीचाहिँ मैले थपथाप गरेर घिसारिरहेको छु । मेरो इमानको बर्कोमा प्वाल परेको छ । तैपनि, म त्यो थाङ्नोलाई समाजको चौरस्तामा मिल्क्याएर हात उठाउन असमर्थ छु । किनकि, मलाई महात्मा गान्धीले आफूमा निहित स्वाभाविक मानवीय कमजोरीबारे उल्लेख गरेबापत आलोचित भएको कुरा थाहा छ । वास्तवमा मेरो सभ्यताले नै मलाई दुईजिब्रे, आडम्बरी र असत्यवादी बनाएको छ ।

सभ्यताको चलाखी हेर्नुस् त ! यसले ईश्वर मान्नेलाई ईश्वरको नाममा र नमान्नेलाई सत्यनिष्ठाको नाममा शपथ खुवाउँछ । सत्यनिष्ठाको तात्पर्य हो इमान, सदाचार र सच्चाइ ।

प्रायः राजनीतिमा लागेको मानिसको सत्यनिष्ठा र ईश्वरप्रतिको धारणा नै अलग हुन्छ । उसले मानेको ईश्वर त सधैँ भोकले छटपटाउँदै शरीरभरि आसक्तिका घाउ बोकेर विचरण गर्ने पिचास पनि हुनसक्छ । सबै मान्छेको आफ्नै किसिमको मति र गति हुन्छ ।

शपथ र वचनबद्धता त केवल रिवाज मात्र हो । यो कर्मकाण्डबाहिर सुकिलो लिबास पहिरेर त्यही आवरणले भित्रको कलुषलाई लुकाउने अ(स)फल प्रयत्न मात्र हो ।

समाजले यी सबै कुरा नबुझेको होइन । आँसु, आडम्बर र निष्ठाभित्रका कुचेष्टा पनि नबुझेको होइन । परन्तु, समाज पनि रिवाजको बन्धनमा बद्ध छ । समग्र समाज नै आफैँ निरन्तर पाखण्डको फन्दामा पर्दै आएको छ । स्वयं समाजलाई दुईटाउके व्यक्तित्वको आदत बसिसक्यो ।

विवश समाज मान्छेलाई सभ्य हुन प्रेरित गर्दै भन्दछ, ‘तिम्रो भित्री व्यक्तित्व कपटी भए पनि कम से कम बाहिरी लोकलाज त राख !’
समाजले गर्ने अधिकतम माग यही हो । समाजलाई पनि लोकको सामुन्ने आफूलाई सभ्य देखाउने बाध्यता छ । बिचरो समाज आफैँ मागेको ढाकाटोपी लगाएर ससुराल जान लागेको जवाइँजस्तो छ ! 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  १४:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro