(१) राजीनामा
मुल्ला नसरुद्दिन एउटा अफिसमा काम गर्न थाले । अफिसका जो–कोही उनीसँग रिसाउँथे । उनी केही काम नगरी दिनभरजसो सुतिरहन्थे । सहकर्मीहरू उनीबाट रुष्ट भएर झर्किन लागे । हाकिमले पनि नसरुद्दिनलाई बोलाएर हप्काए तर उनमा कुनै परिवर्तन आएन ।
नसरुद्दिन सधैंको खप्की र आलोचनाबाट वाक्क भएर एकदिन राजीनामा दिने निर्णयमा पुगे । आफूलाई परिवर्तन गर्नुभन्दा राजीनामा दिनु उत्तम लाग्यो उनलाई ।
उनको राजीनामापछि अफिसमा खुशियाली छायो । अत्यधिक खुशी भएर हाकिमले अफिसमा कर्मचारीबीच घोषणा गरे, “हामी सबै उनीबाट यति धेरै रुष्ट थियौं कि उनलाई राजीनामाको विकल्प थिएन । नसरुद्दिनले आफैं राजीनामा दिए । हामी पनि उदार भएर उनलाई बिदाइ भोज दिनुपर्छ ।”
नसरुद्दिनको सम्मानमा ठूलै रात्रिभोज आयोजना गरियो । थुप्रै परिकारको खान्की तयार पारियो । भोजमा अफिसमा सबै कर्मचारी उपस्थित थिए । ‘आखिर नसरुद्दिन जागिर छाडेर जाँदै छन्, किन उनको बारेमा नराम्रो बोल्नू’ भनेर सबैले उनीबारे सुन्दर–सुन्दर कुरा गरे । सबैले नसरुद्दिनको भयंकर प्रशंसा गरे । यो सुनेर नसरुद्दिन चकित परे ।
सबैले बोलिसकेपछि नसरुद्दिन जुरुक्क उठे । आँखाभरि आँशु लिएर बोले, “मलाई थाहा थिएन, मप्रति यहाँहरू सबैको यति धेरै सम्मान रहेछ । मैले योभन्दा बढी प्रेम कतै पाउँदिनँ । त्यसैले मैले भर्खरै निर्णय लिएँ— म राजीनामा पत्र फिर्ता लिन्छु । म तपाईंहरूसँगै बसेर काम गर्न चाहन्छु ।”
त्यसपछि हाकिम र कर्मचारी कोही देखिएन । दुई दिनसम्म अफिस बन्द देखियो ।
(२) सही–गलत
अजातशत्रुले पिता बिन्बिसारको हत्या गरेर शासन हत्याएका थिए । समय बित्दै जाँदा उनमा पश्चाताप र ग्लानि बढ्दै गयो । उनले आफ्नो पापको प्रायश्चित गर्ने निर्णय लिए । आफ्ना राजगुरुलाई बोलाएर यसबारे सल्लाह लिए ।
राजगुरुले पशुबलि यज्ञ गर्ने राय दिए । पूरै राज्यमा तीव्र रूपले पशुबलि यज्ञको तयारी भयो ।
त्यत्ति नै बेला गौतम बुद्ध त्यो राज्यमा आए । उनको आगमनबारे सुनेपछि अजातशत्रु भेट्न आए । गौतम बुद्धले छेउको झाडीबाट फूल चुँडेर ल्याउन अह्राए । अजातशत्रुले त्यसै गरे । बुद्धले अजातशत्रुलाई भने, “अब अर्को फूल चुँडेर ल्याउनुस्, जसका कारण पहिले चुँडेको फूल राम्ररी फुल्न सकोस् ।”
अजातशत्रु आश्चर्यमा परे, “तर महात्मा ! यो त सम्भव छैन । चुँडिसकेको फूल अर्को फूल चुँड्दा कसरी फुल्न सक्छ ?”
बुद्धले उत्तर दिए, “त्यसरी नै, जसरी तपाईंले एउटा हत्याको पश्चातप गर्न अरु थुप्रै हत्या गर्दै हुनुहुन्छ । एउटा गलत कामलाई दोस्रो गलत कामले सही बनाउन सक्दैन । पश्चाताप नै गर्नु छ भने तपाईंले आफ्नो सम्पूर्ण जीवन मानव, जीवनजन्तु र वनस्पतीको सेवामा समर्पण गर्नुस् ।”
यो सुनेर अजातशत्रु बुद्धको चरणमा परे । त्यसपछि उनी आजीवन बुद्धका अनुयायी भए ।
(३) मोटोपन
खानाका सौखिन एक राजा धेरै खाएर यति मोटाए कि वरपर घुम्नसमेत नसक्ने अवस्थामा पुगे । उनले थुप्रै चिकित्सकलाई देखाए तर केही असर भएन किनकि उनी खाना छाड्न सक्दैनथे ।
जुन चिकित्सकले उनलाई कम खाने सल्लाह दिन्थे, उनी तुरुन्त मृत्युदण्डको सजाय सुनाइहाल्थे ।
राजाले अन्ततः आफ्नो मोटोपनको उपचारका लागि ठूलो इनामको घोषणा गरे । तर, मृत्युदण्डको डरले कुनै चिकित्सक अगाडि आएनन् ।
एकदिन एकजना ज्योतिषी दरबारमा आए र भविष्यवाणी गरे, “अब राजाको कुनै उपचार छैन । अब छिट्टै उहाँको मृत्यु हुँदैछ । राजासँग अब एक महिनामात्र बाँकी छ । आजको ठीक एक महिनामा राजाको मृत्यु हुन्छ । यदि यो एक महिनामा राजाले ऐनामा आफ्नो अनुहार हेर्नुभयो भने मृत्युको तिथि झन्–झन् अगाडि सर्दै जानेछ ।”
राजा आत्तिउ । उनले ज्योतिषीलाई कैद गरेर हुकुम दिए, “यदि यिनको भविष्यवाणी सही सावित भएन भने तीसौं दिनमा यिनलाई मृत्युदण्ड दिनू !”
राजाले दिन गन्न थाले । हरेक घण्टा, मिनट र सेकेन्ड गन्दै गए । एक महिनाको समय एकदमै नजिक देखिरहेका थिए उनले । अगाडि मृत्यु देख्न थाले । उनको भोक र तिर्खा सबै हरायो ।
रुँदै, गाउँदै एक महिना बित्यो । राजाको मृत्यु भएन । उनले ज्योतिषीलाई बोलाए र व्यंग्यपूर्ण आवाजमा भने, “तिम्रो भविष्यवाणी गलत भयो । तिम्लाई अब झुन्डाएर मारिनेछ ।”
ती ज्योतिषीले भने, “पहिलो कुरा त म ज्योतिषी होइन । दोस्रो कुरा– म पेशाले चिकित्सक हुँ । तेस्रो कुरा— तपाईंले पछिल्ला ३० दिनमा ऐना हेर्नुभएको छैन । गएर एकपटक हेर्नुस् ।”
राजाले उत्तिखेरै ऐना मगाएर हेरे । उनको मुख खुलेको खुल्यै भयो । यो ३० दिनमा उनी आधाभन्दा धेरै घटिसकेका थिए । आफ्नो परिवर्तित शरीर देखेर उनी खुशीले बुरुक्क उफ्रिए र ती चिकित्सकलाई रिहा गर्न आदेश दिए ।
जाँदाजाँदै चिकित्सकले भने, “डर सबैभन्दा ठूलो ओखती हो । तपाईंलाई यही ओखती चाहिएको थियो ।”
राजाको बोली बन्द भयो ।
(भारतीय लेखक सुनील हान्डाद्वारा संकलित पुस्तक ‘स्टोरिज फ्रम हियर एन्ड देयर’बाट साभार ।)