काठमाडौँ । इंग्ल्यान्ड भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले विश्वकै पुरानो क्रिकेट क्लब मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) लाई जितका लागि २ सय १८ रनको लक्ष्य प्रस्तुत गरेको छ । अब केहि बेरमा एमसिसीले जवाफी ब्याटिङ थाल्ने छ ।
क्रिकेटको मक्का मानिने लर्ड्स क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभर खेल्दै ८ विकेट गुमाएर २ सय १७ रन बनायो । नेपालका मध्यम लक्ष्य बनाउने क्रममा उपकप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३९ रन जोडे । त्यस्तै कप्तान पारस खड्काले ३० रन जोड्दा शरद भेषवाकर २७ रनको योगदान दिए । यस्तै नेपालका ओपनर अनिल मण्डल २ रनमा आउट भए भने राजु रिजाल र सोमपाल कामीले समान २४ - २४ तथा सागर पुनले २६ रन जोडे । बसन्त रेग्मी २४ रनमा अविजित रहे ।
नेपाल र ब्रिटेनबीचको कुटनीतिक सम्बन्ध स्थापना भएको २ सय वर्ष पुगेको अवसरमा लर्ड्समा नेपालले खेल्न लागेको हो । इंग्ल्यान्ड भ्रमणलाई नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेदरल्याण्डसँगको खेलको तयारीको रुपमा समेत लिएको छ । नेपालले नेदरल्याण्डसँग आगामी साउन २९ र ३१ गते उसैको मैदानमा खेल्नेछ । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा तेस्रो चरणको खेल सकिँदा नेपाल नेपाल छैटौं स्थानमा छ ।